नाइजेरियाको आत्मघाती विस्फोटमा पचास मारिए



 

अबुजा, (एजेन्सी)
नाइजेरियाको पूर्वी राज्य एडामावामा मंगलबार भएको एक शक्तिशाली आत्मघाती बम विस्फोटमा कम्तीमा ५० जना व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ। मुवी शहरमा प्रार्थनाकर्ताहरू टन्न भरिएको एउटा मस्जिदमा १ जना आत्मघाती आक्रमणकारीले बम विस्फोट गराएका थिए।

प्रत्यक्षदर्शी अवुवाकर सुलेले ती आक्रमणकारी प्राथर्नाकर्ताकै भेषमा आएको एएफपी समाचार निकायलाई जानकारी दिएका छन्। उक्त घटनाको जिम्मेवारी अझैसम्म कसैले पनि लिएको छैन। तर इस्लामिक लडाकू समूह बोको हरामले उत्तरी नाइजेरियाका भीडभाडमा यसरी बम आक्रमण गर्दै आएको छ।

बोको हरामको ८ वर्ष लामो हिंसात्मक आन्दोलनमा करिब २० हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्। नाइजेरियास्थित बीबीसीका पत्रकार इसाक खालिदले सरकारी फौजले बोको हराम नियन्त्रित क्षेत्रहरू पुनः कब्जा गर्न थालेपछि तिनीहरूले उत्तर पूर्वी क्षेत्रमा आत्मघाती बम आक्रमण कार्यलाई तीव्रता दिन थालेको बताएका छन्।

सोही राज्यमा गत डिसेम्बरमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ४५ व्यक्तिको ज्यान गएको थियो। त्यसबेला २ जना महिला आत्मघाती आक्रमणकारीले एउटा अत्यन्तै व्यस्त बजारमा विस्फोट गराएका थिए। सन् २००२ मा गठन भएको बोको हरामले पश्चिमी शिक्षामाथि प्रतिबन्ध लगाएको छ। यस समूहले नाइजेरियामा इस्लामिक राज्य खडा गर्न सन् २००९ मा सैन्य कारबाही शुरू गरेको थियो। यसलाई सन् २०१३ मा अमेरिकाले आतंककारी संगठन घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्