भोट माग्न रोबोट



धन बस्नेत, पोखरा
चुनावी माहौल छ। सर्वसाधारण पनि चुनावी बहसमा छन्। उम्मेदवार पनि चुनावी प्रचारमा छन्। उम्मेदवार घरदैलो गरिरहेका छन्। कार्यकर्ताभन्दा अगाडि रोबोट छ। भीडभाड भएकै ठाँउमा रोबोट पुग्छ। सबैले रोबोटलाई नियाल्छन्। अनि रोबोटले भन्छ–‘जय नेपाल’। त्यसपछि हात मिलाउँछ। र चुनावी नारा भट्टयाउँदै गुरूप्रसाद बराललाई भोट माग्छ।

रोबोटसँग आँखा जुधेपछि जय नेपालको शब्द उच्चारण गर्छ। चुनावी प्रचार उम्मेदवारले त गर्ने नै भए। तर घरदैलो गरिरहेका कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ का नेपाली कांग्रेस उम्मेदवार गुरूप्रसाद बरालले विल्कुलै फरक शैलीमा प्रचारलाई तीव्रता दिइरहेका छन्। रोबोटले चुनावी प्रचार गरिरहेका छन्।

घरदैलो गरिरहेका कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ का नेपाली कांग्रेस उम्मेदवार गुरूप्रसाद बरालले रोबोट लिएर घरदैलो गरिरहेका छन्। मंसिर २१ गते हुने चुनावमा आफ्ना मतदातासँग गुरू बराललाई रुखमा भोट हालेर जिताउन आग्रहसमेत रोबोटले गर्छ।

रोबोटलाई उम्मेदवार बरालले साथैमा लिएर हिँडेका छन्। रोबोटले कांग्रेसमा भोट हाल्न गरेको अपीललाई सर्वसाधारणले निकै मज्जा मानेर हेर्छन्। चुनावी प्रचारमा यो नयाँ प्रयोग हो। प्रविधिको उपयोग गर्दै बराललेको चुनावी अभियानलाई सबैले सहयोगको प्रतिबद्धता गरेका छन्।
‘प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणका रूपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ। रोबोटले मेरा लागि मत मागेको देखेर धेरैजनाले नयाँ प्रयोग गरेको देखेर दंग छन्।’ गुरु बरालले भने–‘शायद यो खाले प्रचारशैली यसअगाडि अपनाइएको थिएन।’ उनले चुनावी प्रचारमा ‘रोबोट’ को प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफूले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउँछु भन्ने एउटा सांकेतिक प्रस्तुतीसमेत भएको बताए।

बराल यतिबेला प्रचारको क्रममा भरतपोखरीमा छन्। उनी केही दिन अझै त्यतै रहने ‘सेड्युल’ छ। यद्यपि रोबोटले उनको निर्वाचन क्षेत्र पर्ने अन्य स्थानमा उनको प्रचार गरिरहेको छ। ‘रोबोट’ बाट गरिएको प्रचार प्रभावकारी बन्दै पनि गइरहेको उनले बताए। प्रचारका क्रममा ‘रोबोट’ लाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण वडामा पुर्याउने उनले बताए।

रोबोटमा अल्ट्रासोनिक सेन्सर जडान गरिएको छ। इन्जिनियरिङ अध्ययनरत विद्यार्थी अनिल पाण्डे, सुशान्त केसी, दिपक विष्ट, शम्भुप्रसाद आचार्य, नवीन क्षत्रीको टिमले निर्माण गरेको हो। उनीहरूले तीन साता लामो समय लगाएर निर्माण गरेको रोबोटको पहिलो परीक्षण नै चुनावी प्रचारमा ल्याएको अनिल पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्