नाचगान गर्दै प्रचारमा जुट्दै महिला



 

धन बस्नेत, पोखरा

आयौं आयौं कांग्रेसको भलौ।
भोट माग्न हजुरको घरदैलो।
‘भोट हालौं रूखमा,
साथ दिन्छ सुख र दुःखमा।’
अहिले घरदैलोमा पुगिरहेका कांग्रेसका उम्मेदवारको पछाडि महिलाहरूको एउटा झुण्डले यस्तै–यस्तै गीत गाएर प्रचारमा जुटिरहेका छन्। नेपाली कांग्रेसको पक्षमा भोट माग्न महिला संघ सम्बद्ध महिलाहरू यतिबेला कस्सिएका हुन्।

मादलको तालसँगै गलामा सयपत्री फूलको माला, हातले चारतारे झन्डा फहराउँदै महिलाहरूको साथमा उम्मेदवारहरूले साथ दिइरहेका छन्। महिला दिदीबहिनीहरूलाई घरधन्दाको चिन्ता छैन यतिबेला। मादल, खैजडी ,मुजूरा बजाउँदै हातमा चारतारे झन्डा बोकेर पोखरा लेखनाथ महानगरपालिका र गाउँपालिकाका मतदाताको घरदैलोमा पुगिरहेका छन्।

ठाँउअनुसारका भाका गाउन अघिल्लो दिन नै तयारी गर्छन्। ब्राह्मण क्षेत्रीको बाहुल्यता भएको बस्ती भएका ठाउँमा भजन चुड्का गाइहाल्छन् भने गुरुङ समुदायको बाहुल्यता भएका स्थानमा पुग्दा त्यही संस्कारभित्रका लोकभाका शुरू गरिहाल्छन्।

कांग्रेसी महिलाहरूको भोट माग्ने यो शैली यतिबेला निकै चर्चित बनेको छ। मानिसहरू दंग परेर कांग्रेसको नाचगानमा सरिक हुन्छन्। कतिपय त अझै उनीहरूसँगै भाका मिलाएर कम्मर मर्काइ–मर्काइ नाच्छन्।

‘गीतसंगीत भन्ने कुरा हरेकलाई मन पर्ने कुरा हो। र, यसले मानिसलाई आफूतर्फ तान्न पनि मद्दत गर्छ’, नेपाल महिला संघ पोखराका नगर सभापति माया बरालले भनिन्– ‘केही फरक शैलीका साथ कांग्रेसको प्रचार गरिरहेका छौं।’ भाषणबाट भन्दा गीत संगीतबाट मतदातालाई लोकतन्त्र र कांग्रेसको बारेमा भन्न अझै बढी सजिलो भएको उनको अनुभव छ।

कास्की महिला संघकी सचिव सीता गुरुङका अनुसार भाषण सुन्दा पट्यार लाग्छ तर संगीतले मनारञ्जनसँगै सन्देश पनि दिएको छ। कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं कानुनमन्त्री यज्ञबहादुर थापाले महिलाहरूको यो शैलीले प्रचारप्रसारमा निकै महत्त्व राखेको बताए। ‘महिला दिदीबहिनीहरूको सहयोग हरेक चुनावमा हुँदै आएको हो। तर झन् यो पटक त अझै बढी प्रभावकारीरुपमा महिला दिदीबहिनीहरूको प्रचार भएको देख्दा निकै खुसी लागेको छ’ –उनले भने।

त्यस्तै क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसेले महिलाहरूलाई गीतमार्फत् नै लोकतन्त्र र अधिनायकवादबीचको भिन्नता छुट्याउनका लागि आग्रह गर्न महिलाहरूलाई आग्रह गरे। महिलाहरूको योगदान लोकतन्त्र प्राप्तिको आन्दोलनमा सदैव अतुलनीय रह्यो। कास्की कांग्रेसबाट प्रत्यक्ष प्रदेशसभा उम्मेदवारका लागि उम्मेदवारी दिएकी महिला नेतृ शारदा पौडेलले महिलाहरुको प्रचारशैलीले कांग्रेसको पक्षमा माहोल सिर्जना गरेको दाबी गरिन्। ‘कांग्रेसी महिलाहरूको प्रचारशैलीले अन्य विचारमा आस्था राख्नेहरूलाई पनि आकर्षित गरिरहेको मैले पाएकी छु –नेतृ पौडेलले भनिन्।

कास्कीका विभिन्न संघसंस्थामा आवद्ध महिलाहरू एकजुट भएर वाम गठवन्धनलाई जिताउन महिला सञ्जाल गठन गरेका छन्। राधीका शाहीको संयोजकत्वमा कास्की क्षेत्र नं २ मा १ महिला सञ्जाल उपसमिति गठन भएको हो। सहसंयोजक कमला रानाभाट र सदस्य सचिव सुष्मा पौडेल रहने गरी एक हजार एक सदस्यीय समिति गठन गरिएको हो।

सञ्जालले पोखरा १७ बाट मतदाता शिक्षा कार्यक्रम मंगलबारदेखि शुरू गरिसकेको छ। कार्यक्रमका प्रमुख अतिथि वाम गठबन्धन क्षेत्र नं २ को १ प्रचारप्रसार समिति संयोजक युवराज पौडेलले वाम गठबन्धनलाई जिताउन सम्पूर्ण क्षेत्रका महिला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
नेकपा एमाले प्रदेश कमिटी २ को १ का संयोजकसमेत रहेका पौडेलले सञ्जालले मतदाताशिक्षा कार्यक्रमम सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य हीरा गिरी, वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारी, अध्यक्ष सञ्जालकी संयोजक राधीका शाही योगी, सञ्जालका सहसंयोजक कालीका रानाभाट, सचिव सुष्मा पौडेल, नेकपा एमाले वडा नं १७ का अध्यक्ष सुवास ढुंगाना, अनेमसंघ नगरउपाध्यक्ष ज्ञानु सुवेदी, अनेमसंघ क्रान्तिकारीकी मीना बराल, पवित्रा पनेरु, अनेम संघ वडा नं १७ की अध्यक्ष सम्झना तिमिल्सिनालगायतले बोलेका थिए।

वडा सदस्य तथा सञ्जाल वडा नं १७ का संयोजक तारा सेवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ सय ५० सदस्यीय कमिटी गठन गरिएको छ। कार्यक्रममा बुधबारदेखि वडा नं १७ मा हुन लागेको घरदैलो अभियानलाई सफल पार्न समेत एकजुट भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन्। वाम गठबन्धनको प्रतिनिधिसभाका उम्मेदवार रविन्द्र अधिकारी र प्रदेशसभाका उम्मेदवार कृष्ण थापाका साथमा वडा नं १७ ले पोखरा वृद्धाश्रममा फलफूल वितरण गरेर घरदैलो अभियान शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्