राजसंस्थाजोगाउन मेरो उम्मेदवारीः तिमिल्सिना



 

नेपाल समाचारपत्र
ललितपुर
श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिनुभएको छ। ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनुभएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुनुहुन्थ्यो। केशरबहादुर विष्टपछिका राजवादी नेताका रुपमा तिमिल्सिना परिचित हुनुहुन्छ। उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट चुनावी मैदानमा उत्रिनुभएको हो।

उहाँले २०६४ सालको पहिलो संविधानसभा पशुपतिशमशेरको राप्रपाबाट ललितपुर क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएको थियो। पछि राप्रपा नेपालमा प्रवेश गर्नुभएका तिमिल्सिना डा. प्रकाशचन्द्र लोहनीसँगै सो पार्टीबाट बाहिरिनुभएको थियो। अहिलेको संविधान संशोधन गरेर धर्मसापेक्ष, राजासहित प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने एजेण्डामा घरदैलो अभियानलाई तीव्र्रता दिइरहनुभएको छ। तिमिल्सिना प्रतिनिधिसभातर्फ ललितपुरको क्षेत्र नं ३ ‘क’ र ‘ख’ उम्मेदवार विक्रम बस्नेत र दीपा विष्टसँगै घरदैलो अभियानमा सक्रिय रहनुभएको छ।

‘मेरो उम्मेदवारी अहिले संविधानले प्रवाह गरेको विचारभन्दा पृथक भए पनि यसको बलियो जनमत रहेको छ’, उम्मेदवार तिमिल्सिनाले भन्नुभयो– ‘हाम्रो मुख्य प्रतिबद्धता भनेको बौद्ध, मुसलमान, किराँतलगायत सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान सनातन हिन्दुराष्ट्र कायम गर्ने, राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन गर्ने रहेका छन्।’

उम्मेदवार तिमिल्सिनाले जनताको चाहनाविपरीत लहडको भरमा नेपाललाई धर्मनिरपेक्ष बनाएको बताउँदै हिन्दुराष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक समृद्धि हुने पनि विश्वास व्यक्त गर्नुभयो।

गणतन्त्रको नाउँमा देशमा भ्रष्टाचार मौलाएको बताउँदै उहाँले राष्ट्रवादलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। हिमाल, पहाड र तराई मधेस सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न पार्टीले देशैभरि उम्मेदवारी दिएको पनि उहाँले जानकारी दिनुभयो।

‘प्रत्येक ९⁄९ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसद्मा प्रतिनिधित्व गराउने छन्’ –उहाँले भन्नुभयो।

ललितपुर क्षेत्र नं ३ मा काँठ क्षेत्रका साविकको हरिसिद्धि, ठैब, बाडेगाउँ, सुनागुठी, ठेचो, बुङमती, खोकना ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, २० रहेका छन्।

प्रतिक्रिया दिनुहोस्