देशकै ठूलो धनराशीको नेपालगञ्ज म्याराथन जुम्लाका बुढाले जिते



कुमार श्रेष्ठ, बाँके । नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । माओवादीको एघार वर्षे सशस्त्र द्वन्द्व औपचारिक रुपमा अन्त्य भएको दिन मंसीर ५ को स्मरण गर्दै हरेक वर्ष आयोजना गरिने नेपालगञ्ज म्याराथनको तेस्रो संस्करण जुम्लाका बुढाले जितेका हुन् । यसअघिका दुवै चरणको उपाधि नेपाली सेनाका होमबहादुर श्रेष्ठ र कृष्ण बस्नेतले जितेका थिए ।

भारतीय इन्टरनेशनल टीमबाट स्पर्धा गर्ने जुम्लाका बुढाले दुई घण्टा २६ मिनेटमा दौड पूरा गरेका थिए । ४२ किलोमिटरको म्याराथनमा बुढालाई नेपाली सेनाका खड्कबहादुर खड्काले पछ्याएका थिए । खड्काले दुई घण्टा २७ मिनेटमा दौड पूरा गरेका थिए । नेपालगञ्ज म्याराथनमा सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी तेस्रो, किरण बोगटी चौथो, खिमबहादुर खत्री पाँचौं, हामीका मोहनदेव जोशी छैठौ, रोल्पाका हस्त बुढा सातौ र आर्मीका नवराज साउद आठौं भएका छन् । पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका जुम्लाका बुढा नेपालमा दुई वर्षअघि जुम्ला–रारा दौडेका थिए । आइतबारमात्रै दिल्लीमा एयर्टेल इन्टरनेशनल हाफ म्याराथनमा भाग लिएर नेपाल र भारतको राष्ट्रिय ‘रेकर्ड’ तोडेका बुढा भारतीय सेना हुन् । २१ किलोमिटरको हाफ म्याराथन बुढाले एक घण्टा तीन मिनेटमा पूरा गरेका थिए ।

नेपालमा हाफ म्याराथनमा हरि रिमालको एक घण्टा ६ मिनेट र भारतमा एक घण्टा चार मिनेटको रेकर्ड रहेको बुढाले जानकारी दिनुभयो । ४२ किलोमिटरको दौडमा ३५ किलोमिटरसम्म सँगै दौडेको र सात किलोमिटर बाँकी रहदा आफू अगाडि बढेको बुढाले बताउनुभयो । ‘यति समयमा म्याराथन पूरा गर्नु ठूलो कुरा होइन, म त आरामले दौडेको हुँ, बुढाले थप्नुभयो । बुढा अहिले कमनवेल्थ र एसियनको तयारीमा रहेका छन् ।  नेपालगञ्ज म्याराथनको उपाधिसँगै बुढाले ५५ हजार रुपैया नगद हात पारेका छन् । ५५ हजार पुरस्कार रहेको म्याराथन हालको देशकै ठूलो प्रतियोगिता मानिन्छ ।  नेपालगञ्ज हाफ म्याराथनको उपाधि नेपाल सेनाकी रेसु बस्नेतले हात पारेकी छन् । एक घण्टा २४ मिनेटमा रेसुले दौड पूरा गरिन् । नेपाली सेनाकै चन्द्रा रावत एक घण्टा २८ मिनेटमा दौड पूरा गर्दै दोस्रो, सशस्त्र प्रहरीकी कृष्णश्वरी सिम्तकला एक घण्टा ३० मिनेटमा दौड पूरा गरेर तेस्रो भइन् । नेपालगञ्ज म्याराथन, हाफ म्याराथनसँगै पाँच किलोमिटर दौड, अपाङ्गहरुको ह्वीलचियर प्रतियोगिता र नृत्य प्रतियोगिता भएका थिए ।

क्रियटिभ ह्याण्डसले हरेक वर्ष मंसीर ५ गते आयोजना गर्ने नेपालगञ्ज म्याराथनको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गरेका थिए । सबै प्रतियोगिताको विजेताहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणालगायतले पुरस्कृत गरेका थिए । खेलाडीलाई गाडीले ठक्करनेपालगञ्ज म्याराथनमा सहभागी भएका एक खेलाडीलाई गाडीले ठक्कर दिएर घाइते बनाएको छ । बिहान आठ बजे नेपालगञ्जबाट दौडेका भोजराज अवस्थीलाई कोहलपुरमा बा ९ च ६५२९ नम्बरको स्कारपियोले ठक्कर दिएको हो । गाडीको ठक्करबाट घाइते भएका अवस्थीको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गाडीलाई इलाका प्रहरी कार्यालय, कोहलपुरले नियन्त्रणमा लिएको छ । म्याराथनमा ट्राफिक व्यवस्थापन गर्न प्रहरी खटिएपनि दौडिरहेका खेलाडीलाई गाडीले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्