राजनीतिको छाया ः तंग्रिन सकेन शेयर बजार



 

बद्री तिवारी
लुकमा बेलाबखत उत्पन्न राजनीतिक उतारचढावसँगै नेपाली पूँजीबजार अप्रत्यासितरूपमा प्रभावित हुने र केही समयपछि कारोबारमा सुधार हुने गरेका घटना यहाँका सर्वसाधारण लगानीकर्ताहरूका लागि नौला होइनन्।

यद्यपि, यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मीसँगै एकाएक थला परेको शेयर बजारको कारोबार सुधारोन्मुख नदेखिनुले सर्वसाधारण लगानीकर्ता हैरानीमा परेका छन्। निर्वाचनको मुखमा आएर वाम गठबन्धन– नेकपा एुमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेल (पछि उम्मेदवारको टिकट वितरणमा कुरा नमिलेका कारण नयाँशक्ति हाल बाहिरिएको स्थिति) र निर्वाचनपछि पनि एमाले र माओवादी केन्द्रलगायत अन्य वामपन्थी दलहरूबीच एकता हुने भन्ने समाचारले पूँजीबजारका ठूला–साना सबै खाले लगानीकर्तालाई यतिखेर बेचैन बनाएको छ। दशैँपछिदेखि लगातार घट्दै आएको नेप्से परिसूचकले उनीहरूमध्ये अधिकांश लगानीकर्ताको सातो नै लिएको छ भन्दा अत्युक्ति नहोला।

अन्य मुलुकको प्रसंग कोट्याउँदा सूचीकृत कम्पनीहरूको अवस्था, ती कम्पनीहरूले गरिरहेको व्यापार, आर्जन गरेको मुनाफा, वितरण गर्दै आएको लाभांश र बोनस शेयर तथा सम्भावित फाइदाहरूको जानकारीका भरमा लगानीकर्ताहरू उत्साहित हुने तथा शेयर खरिद बिक्री कारोबार यथावत् रहने स्थिति आउनेछ। तर, नेपालको शेयर बजारमा माथि उल्लिखित नियमले मात्रै काम गर्दैन, यहाँ त राजनीतिक गतिविधि, सरकार हेरफेर, नेताहरूको अभिव्यक्ति र सट्टेबाजहरूको अस्वस्थ चलखेलजस्ता कारणले शेयर कारोबारमा उतारचढाव देखा पर्दछ।

गतसाताका शुरुका तीन दिन नेपाल स्टक एक्सचेन्जको कारोबार सकारात्मक बन्दै गएको देखिए पनि पछिल्ला दुई दिन घट्न थालेपछि बुल्लिस ट्रयाप (अर्थात् एक–दुई दिन कारोबार उकालो लागेर लगानीकर्तालाई झुक्याउने र फेरि बियरिस ट्रेन्ड शुरु हुने अवस्था) ले केही धुत्र्याइँ गर्न खोजेको हो कि भन्ने अनुभव लगानीकर्ताले गरेको पाइयो। यो अवस्था भनेको कारोबार सकारात्मक बन्दै जाँदा कम मूल्यमै शेयर खरिद गर्ने र दुई–चार दिनपछि शेयर मूल्य वृद्धि हुनेबित्तिकै बिक्री गर्ने प्रवृत्ति हो। यो खासगरी दोस्रो बजारबाट शेयर खरिद गर्ने चलाख लगानीकर्ताहरूले गर्ने व्यापारका रूपमा पनि बुभ्mने गरिन्छ।

बजारमा उपलब्ध वस्तु तथा सेवालगायतका अन्य कारोबारको हकमा माग बढी भएमा मूल्य बढी हुने र आपूर्ति बढी भएमा मूल्य घट्ने अर्थशास्त्रको सर्वमान्य सिद्धान्त धितोपत्र बजारमा सधैँ लागू नहुने अनुभव बटुल्छन् लगानीकर्ताहरू। कम्पनीका शेयरहरूको बिक्री वितरण÷कारोबार धेरै पहिलेदेखि नै हुँदै आएको भए पनि नेपालमा शेयर कारोबारको आधिकारिक गणना २०५० साल माघ ३० गतेदेखि हुँदै आएको तथा उमेरका हिसाबले यो युवावस्थामा विचरण गर्दै गरेको छ, तर पनि यसको कारोबारको प्रकृति हेर्दा किशोरावस्थामै रहेको देखाउँदै आएको छ। किनकि यस क्षेत्रमा विश्वास र परिपक्वताको कमी भएका कारण धेरै लगानीकर्ताहरू आफ्नो लगानीलाई सुरक्षित बनाउन नसकेको महसुस गर्न पुग्दछन्। नेपाली धितोपत्र बजारको अवस्था मूल्याङ्कन गर्दा लगानीकर्ताले बेहोर्दै आएको यस किसिमको जोखिमलाई अस्वाभाविकै भन्न मिल्दैन।

नेपाली शेयरबजारको स्थितिलाई समग्रमा हेर्दा नियामक निकायको कमजोरी, धूर्त सट्टेबाजहरूको खेल, विनासुझबुझ दोस्रो बजारमा लगानी गरेर छिट्टै धनी हुने उद्देश्यका साथ कारोबार गर्ने साना लगानीकर्ता, अनियमित तरिकाबाट आर्जित सम्पत्ति (कालो धन)लाई शुद्धीकरण गरेर सेतो धनमा परिणत गर्न खोज्ने माफिया र आफ्नो अनुकूल चलखेल गर्दै शेयरबजार नै नियन्त्रणमा लिन खोज्ने प्रवृतिका मुठ्ठीभरका ठूला लगानीकर्तालगायत विविध तत्वहरूले यस क्षेत्रलाई सधैँ तरल, असुरक्षित र अविश्वसनीय बनाउने काम भएको पाइन्छ।

हाम्रो देशको शेयरबजारको कारोबारलाई अस्थिर बनाएर व्यापार गर्नेहरूकै कारण वास्तविक एवम् इमानदार लगानीकर्ताहरू असुरक्षित बन्दै आएको कुरा त छर्लङ््ग छ। हुन पनि केही सट्टेबाजहरूले मौकाको फाइदा उठाउन मुलुकको राजनीतिक फाँटमा अलिकति उतारचढाव देखा पर्नेबित्तिकै त्यसैलाई बहाना बनाएर भ्रमको खेती गरेर कमाउन उद्यत् हुन्छन्। यस्तो बेला उनीहरू आफ्नै पकडमा रहेको केही शेयर सस्तो मूल्यमा बिक्री गर्न थाल्छन्, अनि अरु सर्वसाधारण लगानीकर्ताहरू पनि हतारिएर आपूm सुरक्षित हुनका लागि धेरै नोक्सान बेहोर्नुभन्दा बरु केही सस्तैमा दिनुपरे पनि बिक्री गर्नतर्फ लाग्छन्, यसरी कम मूल्यको शेयर फालाफाल हुने अवस्था पनि आउन सक्छ, अनि तिनै चलखेल गर्ने ठूला लगानीकर्ताहरू आफैं खरिद गर्दछन्, अवस्था सुधारिएर बिस्तारै शेयरको मूल्यवृद्धि हुन थाल्दछ। अनि बजार सकारात्मक बन्दै जाँदा उनीहरू सस्तोमा खरिद गरेको शेयर महँगो मूल्यमा बिक्री गर्न थाल्दछन्, अनि त के चाहियो र, बसी–बसी मालामाल !

यसपटक पनि नाफाखोरहरूले राजनीतिको नाममा हल्ला गर्ने मौका पाइहाले। गत बडादशैँ सकिएको लगत्तै असोज १७ गते भएको सहमतिअनुसार दलहरूबीच चुनावी गठबन्धन र दलहरूको एकतासम्बन्धी समाचार असोज २१ गते प्रकाशित भएको थियो। सोही समाचारसँगै शेयरको कारोबार तथा मूल्यमा गिरावट हुन थाल्यो। खासमा शेयर मूल्य घट्नुमा ट्रेजरी बिलको ब्याजदरभन्दा लाभांश कम हुने खबर आएपछि त्यसले पनि ठूलो भूमिका खेलेको हुनसक्छ, त्यसमाथि यस वर्ष कम्पनीहरूले लगानीकर्ताको अपेक्षाविपरीत बोनस, लाभांश कम हुने संकेतका कारण शेयर कारोबारमा गिरावट आएकोमा राजनीतिक कारणलाई निहुँ बनाएर झुटको खेती गर्ने काम भइरहेको छ। यसबाट सर्वसाधारण लगानीकर्तालाई भ्रममा पार्ने र आपूm फाइदा लुट्ने काम हुनुलाई दुर्भाग्यपूर्ण मान्नुपर्दछ। यस्तो अवस्थामा नियामक निकायले लगानीकर्ताहरूलाई आवश्यकताअनुसार सूचित गरेर संरक्षण गर्नुपर्ने दायित्व निर्वाह गर्नु आवश्यक छ।

त्यसो त बेलाबखत राजनीतिक कारणले पनि शेयरबजार प्रभावित नभएको भने होइन। यसपटक ‘बाघ कराउनु र बाख्रो हराउनु एकैपटक’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने घटना भएकै हो। वाम एकताको समाचार प्रकाशित भएकै दिनको शेयर कारोबारमा दोहोरो अंकले नेप्से परिसूचक घट्नुले धितोबजारमा ठूलै हलचल मच्चाएकै हो। यो किन पनि भयो भने, शेयरबजारलाई जुवासँग तुलना गर्ने वाम नेता नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि एमाले र माओवादी केन्द्रसँग पहिले चुनावी तालमेल गर्ने र पछि पार्टी एकता नै गर्ने निर्णय भएको थियो। नेपालको धितोपत्र बजार डा. भट्टराईप्रति सकारात्मक बन्न नसक्नाले उहाँकै कारण जबर्जस्ती शेयरबजारमा अनावश्यक होहल्ला हुने गरेको छ।

यसो हुनुमा गठबन्धनले चुनाव जितेर सरकार गठन गरेपछि पुरानै घटनाको पुनरावृत्ति हुने आशंका धेरैलाई छ। डा. भट्टराई अर्थमन्त्री हुँदा आ.व. ०६४÷६५ को अन्त्यतिर एउटा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले धितोपत्र बजारलाई जुवाघरसँग तुलना गर्दा विवादित त बन्नु नै भयो, बजारमा शेयरको मूल्य पनि घट्न पुग्यो। अर्को त्यस्तै घटनाले गर्दा यो क्षेत्र उहाँप्रति सकारात्मक बन्न नै सकेन। पछि डा. भट्टराई प्रधानमन्त्री बन्नुभएकै दिन नेप्से परिसूचक ९ अंकले घट्न पुगेको थियो। यद्यपि उहाँको आशय खराब भने पाइँदैन, किनकि उहाँले यदि कसैले शेयर बजारमा लगानी गर्दछ भने हचुवाका भरमा, जुवाघरमा खेल्न गएजस्तो होइन, पूरा सुझबुझका साथ गर्नुपर्छ भन्ने हो, तर चलखेल गर्नेहरूले उहाँको अभिव्यक्तिलाई तोडमोड गरेर पूरै शेयरबजारलाई जुवाघरजस्तो भनेर दोषारोपण गर्नु कदापि न्यायसंगत मानिदैन।

गत कार्तिक ५ गतेदेखि २४ गतेसम्मको अभिलेखलाई हेर्ने हो भने, १११ दशमलव १८ अंकले नेप्सेमा गिरावट आएको छ। जसबाट बजारको पूँजीकरण पनि घट्न गएको छ। गतसाताको कारोबार हेर्दा एकाएक थला परेको शेयर बजार तंग्रेला भन्ने आशा गरिएको थियो तर उतारचढाव निरन्तर रहेकोले लगानीकर्ताहरू केही समय धैर्य बनेर आफ्नो लगानीलाई सुरक्षित राख्नपट्टि लाग्नुपर्दछ, नकि हतारिएर बिक्री गर्न। यसै बीच पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले शेयरको मूल्य तथा कारोबार घट्नुको कारण वाम गठबन्धन होइन भन्ने अभिव्यक्ति दिएलगत्तै २÷४ दिन बजार सकारात्मक बन्यो। पछि पुनः कारोबारमा शिथिलता आयो। यसरी प्रत्यक्ष वा अप्रत्यक्षरूपमा नेताहरूको अभिव्यक्ति पनि केही हदसम्म शेयर कारोबारमा जिम्मेवार देखिएको छ।

तैपनि नेपालको शेयर बजारलाई सहजै विश्लेषण गर्न सक्ने अवस्था छैन। अन्य मुलुकको प्रसंग कोट्याउँदा सूचीकृत कम्पनीहरूको अवस्था, ती कम्पनीहरूले गरिरहेको व्यापार, ती कम्पनीहरूले आर्जन गरेको मुनाफा, वितरण गर्दै आएको लाभांश र बोनस शेयर तथा सम्भावित फाइदाहरूको जानकारीका भरमा लगानीकर्ताहरू उत्साहित हुने तथा शेयर खरिद बिक्री कारोबार यथावत् रहने स्थिति आउनेछ। तर, नेपालको शेयर बजारमा माथि उल्लिखित नियमले मात्रै काम गर्दैन, यहाँ त राजनीतिक गतिविधि, सरकार हेरफेर, नेताहरूको अभिव्यक्ति र सट्टेबाजहरूको अस्वस्थ चलखेलजस्ता कारणले शेयर कारोबारमा उतारचढाव देखा पर्दछ।

ठूला पूँजीपतिदेखि सामान्य लगानीकर्ताद्वारा खर्बौं रुपियाँ लगानी गरिएको यो क्षेत्रलाई हल्का र हचुवाका भरमा नलिई लगानीकर्ताको संरक्षण गर्न तथा मुलुकको समग्र आर्थिक उन्नति गर्नका लागि राज्यका सम्बद्ध नियामक निकायले विशेष प्राथमिकता दिनै पर्दछ, ताकि पूँजी बजारलाई परिपक्व, विश्वसनीय, व्यवस्थित एवम् स्थापित गर्न सकियोस्। नेपाल धितोपत्र बोर्डजस्तो नियामक निकायले शेयरबजारको सुधारका लागि घोषणा गरेका कार्यक्रमहरू अक्षरशः कार्यान्वयन गर्नुपर्दछ, अनि मात्र लगानीकर्ताको मनोबल माथि उठाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्