मायामा धोका खाएपछि रिश्ताको रोदन



नायिका रिश्ता बस्नेत म्युजिक भिडियोमा देखिएकी छिन्। निष्कर्ष शीर्षकको एल्बममा संगृहित अञ्जु पन्तद्वारा गाइएको तिम्रो माया मुटुभरि साँची राखेकी छु, चाहे तिम्ले आफ्नै ठान, चाहे तिम्ले छुरा हान बोलको मर्मस्पर्शी गीतमा रिश्ता गम्भीर भूमिकामा देखिएकी हुन्।

बेहुला बनाउँछु भन्थी बहुला बनार गई गायक रमेशराज भट्टराईको शब्द र संगीत रहेको गीतमा रिश्ता पतिबाट धोका पाएकी पत्नीको दुःखी भूमिकामा छिन्। हालैको एक दिन यो गीतको तामझामका साथ सुटिङ गरिएको हो।

राजधानीको गैह्रीधारा, बालुवाटारस्थित राणा दरबारलाई रोयल एम्पायर बुटिक होटलका रूपमा सञ्चालनमा ल्याइएको होटलमा रिश्ता दुःखी पत्नीको भूमिकामा डुबेर अभिनय गरिरहेको अवस्थामा भेटिइन्। म्युजिक भिडियोमा आफ्नो पति अर्कैलाई रोजेर रमाइरहेको देखेर दुःखी देखिएकी रिश्ता आफ्ना भावभंगीबाट काममा निकै डुबेको देखिन्थिन्। उनको पतिको भूमिकामा चन्द्र पुलामी तथा चन्द्रको प्रेमिकामा भूमिकामा रेणु लामाले अभिनय गरिरहेका थिए। रिश्ताको शालिन पहिरनमा उनी ‘घरवाली’ र रेणुको ग्ल्यामरस् पहिरनमा उनी ‘बाहरवाली’ देखिन्थिन्। तर, फिल्मको जस्तो कथा बुनिएको म्युजिक भिडियोमा पछि यस्तो मोड आउँछ कि रिश्ताको मायाको खाँचो उनको पतिलाई पर्छ।

निर्भाना कला केन्द्र प्रालिको उत्पान र वितरणमा बजारमा आउने श्रव्यदृश्यको म्युजिक भिडियो नृत्य निर्देशक प्रदीप श्रेष्ठले निर्देशन गरेका छन्। वीरेन लामाको निर्माण नियन्त्रणमा तयार भएको म्युजिक भिडियोमा छायांकन नवराज उप्रेती र सम्पादन विष्णुहरि तिमल्सिनाको रहेको छ। यो गीतको म्युजिक भिडियो चाँडै नै सार्वजनिक गरिने यसको निर्माता निर्भाना टिभी नेपालका अध्यक्ष रमेश श्रेष्ठले जानकारी गराए।

गीतमा गायिका अञ्जु पन्त विरही स्वरमा भन्छिन्– तिम्लाई पाउने झिनो आशमा बाँचिराखेकी छु, तिम्रो माया मुटुभरि साँची राखेकी छु।

प्रतिक्रिया दिनुहोस्