समय सच्चा परीक्षाको



चिसो बढेसँगै गाउँ, शहर र बजार जताततै चुनावी सरगर्मी बढेको छ । कुनै न कुनै राजनीतिक दलमा लागेका कार्यकताहरू आ–आफ्नो दलको उम्मेदवारलाई जिताउन घरदैलो, सभा र कोठेभेलामा व्यस्त छन् । सर्वसाधारण जनता चुनावी माहौल बुझ्ने, कसलाई भोट हाल्ने, को आएमा राम्रो हुनेछ भनेर आङ्कलन गर्नमा व्यस्त छन् । गाउँघरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिँदै गएको छ । सिंगो मुलुक सुस्तरी चुनावमय बन्दै गएको छ । यससँगै पैसाको खोलो बगाएर अनि गुण्डागर्दी एवं डर–त्रास फैलाएर चुनाव जित्ने हर्कत पनि बढ्दै गएको छ । यस्ता कार्यले लोकतान्त्रिक शासन व्यवस्थामा चुनौती थपेको छ ।

सिद्धान्ततः निर्वाचनलाई लोकतान्त्रिक व्यवस्थाको प्राणका रूपमा लिइन्छ । जनताको बृहत्तर हित समेटिने वा नसमेटिने कुरा निर्वाचन कतिको स्वच्छ, निष्पक्ष र धाँधलीरहित अवस्थामा सम्पन्न भएको छ भन्नेमा निर्भर रहन्छ । निर्वाचनको विश्वसनीयता, स्वच्छताले नै लोकतान्त्रिक व्यवस्थाको रक्तसञ्चार गर्दछ । लोकतान्त्रिक व्यवस्थाको प्राण निर्वाचन भए पनि ठूलै पैसा दिएर चुनावको टिकट लिने, मत किन्ने, पैसा बाँडेर चुनाव जित्ने होडबाजी लोकतन्त्रको महत्वपूर्ण चुनौती भएको छ । यसले गर्दा जसरी भए पनि चुनाव जित्ने, चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताको नाकमुख हेर्न नजाने उम्मेदवारहरूको औसत प्रवृत्ति फेरि दोहोरिने सम्भावना बढेको छ ।

निर्वाचन आयोगले आचारसंहिताको ठेली नै छाप्ने गरे पनि चुनावताका रकमको खोलो बगाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सकिरहेको छैन । करोडौं खर्च गरेर चुनाव जित्ने, चुनाव जितिसकेपछि हुने÷नहुने काम गरेर करोडौं कुम्ल्याउने परिपाटी लोकतन्त्रको आवरणमा मौलाउँदै गएको छ । यस्ता कार्यले लोकतन्त्रलाई अझ जनमुखी बनाउनबाट रोकेको छ । लोकतन्त्रको स्वरूपलाई मुलुकको सामाजिक विकासक्रममा विभिन्न कारणले पछि परेका र पारिएका वर्ग, क्षेत्र र समुदायको हित गर्ने भन्दा पहुँचवाला, राज्यको स्रोत–साधनमा पहुँच हुनेलाई पक्षपोषण गर्ने खालको बनाउँदै लगेको छ ।

यस्तो अवस्थामा लोकतान्त्रिक व्यवस्थालाई जनमुखी बनाउन मतदाताहरू पनि सचेत र सजग हुन उत्तिकै आवश्यक छ । एकचोटि मत हाल्न उत्साह देखाएर बाँकी दिन निराशामा बाँच्नुपर्ने हो कि भन्नेमा जनता खूबै सचेत हुनुपर्ने देखिन्छ । यस अर्थमा आसन्न निर्वाचन जनताको विवेक र बुद्धिको पनि परीक्षा हो । यसअघि स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसँगै अब संघ, प्रदेश र स्थानीय तह गरी संघीय संरचनाको तीनवटै तहको जग निर्माण हुनेछ । यस अवस्थामा समुन्नत नेपालका लागि संरचना नयाँ हुने र प्रवृत्ति पुरानै दोहोरिने कार्यको अन्त्य गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्