एकीकृत पर्यटन विकासमा जोड



यमलाल भुसाल, बुटवल

पर्यटन क्षेत्रसँग सम्बन्धित विज्ञले रूपन्देहीको आर्थिक समृद्धिको मुख्य आधार लुम्बिनीको एकीकृत पर्यटन विकास नै भएकाले सोहीअनुसार दीर्घकालीन सोच राखेर नीति निर्माण र योजना बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना छिटो पूरा गरी लुम्बिनीलाई विश्व शान्ति शहरको रूपमा विकास गर्न सके यसबाट रूपन्देहीको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने धारणा राखेका छन्।

उद्योग व्यापार संगठन रूपन्देहीले भैरहवाको अञ्चलपुरमा सञ्चालन गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत सोमबार आयोजना गरेको पर्यटनसम्बन्धी अन्तरक्रियामा सहभागी पर्यटन क्षेत्रका सरोकारवालाले यस्तो धारणा राखेका हुन्।

सरोकारवालाले पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय पूर्वाधारहरू सिद्धार्थनगर नगरपालिकाभित्र केही पनि नभएको गुनासो गर्दै बनाउन सरकारी निकायसंँग माग पनि गरेका छन्। उनीहरूले विदेशी पर्यटक नेपाल आउँंदा खानेकुरा र खाना पकाउने ग्यास समेत ल्याउन पाउने प्रावधानमा प्रतिबन्ध लगाई भिसा नीतिमा परिवर्तन गरी फ्रि भिसामा आउनेलाई एक रात अनिवार्य बास बस्नुपर्ने नियम बनाउन माग गरे।

अन्तरक्रियामा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले सिद्धार्थनगरको मात्र नभई देशकै आर्थिक समृद्धि र विकासको मुख्य आधार पर्यटन नै भएको स्वीकार गर्दै आफूले नगरपालिकाको विकास गर्न पर्यटनलाई प्राथमिकतामा राखेको प्रष्ट पार्नुभयो।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले विदेशी पर्यटक भित्र्याउन पर्यटन व्यवसायी र सरकारी निकायले विदेशमा मार्केटिङ गर्नुपर्नेमा जोड दिनुभयो। भारतीय पर्यटन व्यवसायीको मात्रै भर परेर नहुने भन्दै उहाँले पर्याप्त पर्यटकीय पूर्वाधार बनाउन पनि सुझाब दिनुभयो।

मेलाका पर्यटन प्रवद्र्धन उपसमिति संयोजक एवं पर्यटन व्यवसायी सञ्जय बजिमयले पर्यटनको विकासका लागि बन्द हड्ताल सधैंका लागि निषेध हुनुपर्नेमा जोड दिँंदै लुम्बिनी विकास कोषमा हुँंदै आएको राजनीतिक नियुक्ति बन्द गरी स्थानीय विज्ञ व्यक्तिलाई नियुक्त गर्नुपर्ने धारणा राख्नुभयो। बस व्यवसायी समितिको सिन्डिकेटका कारण पर्यटकलाई स्तरीय बस उपलब्ध गराउन नसकेको पनि बजिमयले गुनासो पोख्नुभयो।

कार्यक्रममा पर्यटन कार्यालय रूपन्देहीका प्रमुख खेम थापाले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीका कारण रूपन्देही र त्यसमा पनि सिद्धार्थनगरमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको प्रष्टाउनुभयो।

पर्यटनविद् डा. गितु गिरीले लुम्बिनी गुरुयोजना यथासक्य छिटो पूरा गरी लुम्बिनी र यससंँग सम्बन्धित तिलौराकोट, देदह, रामग्रामको एकीकृत पर्यटन विकासका लागि बनेका योजना कार्यान्वयनमा सामूहिक दबाब दिनुपर्ने औंल्याउनुभयो।

सिद्धार्थ एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्सका अध्यक्ष चन्द्र थापाले स्तरीय पर्यटक भित्र्याउन र पर्यटकको बसाई लम्बाउन स्थानीय निकायले योजना बनाउनुपर्ने बताउनुभयो।

उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले पर्यटन, उद्योग, व्यापार र कृषिलाई रूपन्देहीको आर्थिक विकासका मुख्य आधार मानेर चारवटै विषयलाई उत्तिकै प्राथमिकता दिई संगठनले आफ्ना वार्षिक कार्यक्रमहरू तय गर्दै आएको र हरेक मेलामा पर्यटनसहित चारवटै विषयमा सरोकारवाला पक्षसँंग अन्तरक्रियाहरू गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस्