ज्वेल्स् सहकारीको आठौं वार्षिकोत्सव सम्पन्न



ललितपुर, (नेस)
सुनचाँदी, आभूषणसम्बन्धी व्यवसायीलाई लक्षित गरी स्थापित ज्वेल्स् बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिकोत्सव सम्पन्न भयो।

ललितपुरको पाटनढोकामा आयोजित सो सभाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको थियो। मेयर महर्जनले सहकारी क्षेत्र नाफामुखी मात्र नभई समाजको आर्थिकस्तर उकास्ने र सामाजिक उत्तरदायित्वको भावनाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा संस्थाका अध्यक्ष किरणभाई बज्रचार्यले केही खराब सहकारीलाई नियन्त्रण गर्ने नाममा समग्र सहकारी क्षेत्रलाई संकुचन गर्ने कार्य सहैय नहुने बताउनुभयो। उहाँले राम्रा सहकारी क्षेत्रको साथ र सहयोग लिएर नै सहकारी क्षेत्रमा देखिएको विकृत विसंगति हटाउनुपर्नेमा पनि जोड दिनुभयो।

त्यस्तै संस्थाका कोषाध्यक्ष प्रज्ञाराज शाक्यले संस्थाले विभिन्न उपलब्धिसंँगै तरलता व्यवस्थापन, विकेन्द्रीकृत एवम् सुरक्षित कर्जा प्रवाह क्षेत्र पहिचान, कार्य क्षेत्रको विस्तार, सदस्य एवम् कारोबारको वृद्धि गर्नुपर्ने, जोखिमयुक्त कर्जा असुली रहेको बताउनुभयो।

गत आर्थिक वर्षमा संस्थाले २९ करोड २९ लाख ४३ हजार २ सय बचत संकलन गरेको जनाएको छ। साथै संस्थाको शेयर पुँजी १ करोड ८५ लाख ८९ हजार र ३ सय रहेको र सोही वर्षमा २६ करोड ४३ लाख २८ हजार ५ सय १९ रुपियाँ ऋण प्रवाह भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्