गरिबी हटाउन जिससको तस्वीर हटाई सीको तस्वीर



बेइजिङ, (एजेन्सी)
चीनको दक्षिणपूर्वी ग्रामीण विपन्न इलाकामा हजारौं इसाईले जिससको पोस्टरको ठाउँमा राष्ट्रपति सी जिनपिंगको तस्विर राखेका छन्। स्थानीय सरकारको राहत कार्यक्रमअन्तर्गत यस कार्यलाई धर्मप्रति आस्था राख्नेहरूलाई पार्टीप्रति आस्थावान् बनाउने प्रयास भएको बताइएको छ।

चीनको सबैभन्दा ठूलो स्वच्छ पानी भएको जियांग्सी प्रान्तको युगान क्षेत्रमा रहेको ताल पोयांगको किनारामा रहेको उक्त इलाका गरिबी र ठूलो क्रिश्चियन समुदाय बसोबास भएको थलोको रूपमा चिनिन्छ। त्यस क्षेत्रमा १० लाख आवादीमा ११ प्रतिशत देशको सरकारी गरिबी रेखाभन्दा तल परेका छन्। त्यहाँको करिब १० प्रतिशत आवादी क्रिश्चियन भएको सरकारी तथ्यांकमा उल्लेख छ।
स्थानीय सरकारले गरिबी उकास्न उसको प्रयासलाई २ गुणा बढाएको छ। धरैजसो धार्मिक आस्था राख्नेहरूले जिससको तस्वीर निकालेका छन् र घरको आकर्षणको केन्द्रका रूपमा राखिएका प्रभुका वाणीलाई झिकेर सीको तस्वीर झुन्डयाएका छन्। यसलाई स्वर्गीय अध्यक्ष माओत्सेतुङका पालामा हुने गरेको अभ्यासका रूपमा लिइएको छ। त्यतिबेला उनको तस्वीर चिनियाँहरूका घरघरमा हुने गथ्र्यो।

सीको नेतृत्वमा सत्तारुढ कम्युनिस्ट पार्टीले सन् २०२० को अन्त्यसम्ममा गरिबी उन्मूलनलाई प्रमुख प्राथमिकतामा राखेको छ। माओपछि देशका सबैभन्दा शक्तिशाली नेताका रूपमा उदय भएका सीको राजनीतिक छवी उकास्न अभियानका रूपमा मात्र नभई समाजको जरासम्म पार्टीको नियन्त्रण गर्ने नीतिमा ऐक्यबद्धता प्रदर्शन गर्नु यसको मूल उद्देश्य हो। दशकौं लामो आर्थिक वृद्धिका बाबजुद चिनियाँ समाजको उक्त ठूलो हिस्सा त्यसबाट अछुत रहेको छ।

युगानमा औपचारिक रूपमा नास्तिक पार्टीले इसाईकरणको प्रभावसँग प्रतिस्पर्धा गरिरहेका छन्। ४० वर्षअगाडि सांस्कृतिक क्रान्ति अन्त्य भएपछि चीनका गरिब दुर्गम गाउँ र समृद्ध शहरहरूमा इसाई धर्म तीव्र्र रूपमा फैलिएका थिए। चीनमा अहिले पार्टीमा ९ करोड सदस्य क्रिश्चियन भएको केहिले अनुमान गरेका छन्।

एउटा स्थानीय सामाजिक सञ्जालमा युगानको हुआंग्जिंग्बु नगरमा पार्टीको गरिवी निवारण नीतिको प्रबद्र्धनका लागि कार्यकर्ताहरू गरिब क्रिश्चियन परिवारका घरघरमा पुगेको उल्लेख गरेको छ। उनीहरूले ती परिवारको भौतिक समस्या समाधान गर्न सहयोग गरेका थिए। अधिकारीहरूले उनीहरूको मन पगालेको र उनीहरूलाई धर्ममा भन्दा पार्टीमा विश्वास गर्न लगाउन सफल भएको बताएका छन्।

यसको परिणामस्वरूप ६ सयभन्दा धेरै गाउँले तिनीहरूको घरमा राख्ने गरेका धार्मिक पुस्तक तथा चित्रहरू हटाउने अभियानमा स्वयंसेवक बनेका छन्। उनीहरूले ती धार्मिक तस्वीरको स्थानमा ४ सय ५३ सीका तस्वीरले प्रतिस्थापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्