दाङमा विप्लवका १२ कार्यकर्ता पक्राउ, सुरक्षा व्यवस्थामा कडाइ



नरेन्द्र केसी, घोराही, दाङ
दाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ जना कार्यकर्ता पक्राउ परेका छन्।
निर्वाचनविरोधी गतिविधि गर्न थालेको भन्दै प्रहरीले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा युवा संगठनका केन्द्रीय सदस्य पाटन, पार्टीका जिल्ला सदस्यहरू निमबहादुर, भीम राना, छोटीलाल चौधरी, कार्यकर्ताहरू डीबी बोहरा, रिम बिम, चेतबादुर टमटा, आकाश विक, डण्डीराम केसी, विजय विक, शान्तु चौधरी र भागीराम चौधरी रहेका छन्। जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

चुनाव नजिकिएसँगै सरकारले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। छिमेकी जिल्लाहरू र अन्य जिल्लाहरूमा उम्मेदवारलाई लक्षित गरी बम आक्रमण बढेपछि दाङ प्रशासनले पनि सुरक्षा व्यवस्थालाई कडा पारेको हो। त्यसै गरी होटल सञ्चालन र मदिरा बिक्रीमा समेत प्रशासनले कडाइ गरेको छ। शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिनुका साथै जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमानादेखि चुनाव खारेजीको माग गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि उच्च निगरानी बढाएको छ।

विभिन्न जिल्लामा चुनावी अभियानमा बम हमला हुने क्रम बढेपछि दाङ प्रशासनले दल तथा उम्मेदवारलाई कसरी सुरक्षित बनाउने भन्नेमा विशेष ध्यान दिएको बताएको छ। दलहरूले उम्मेदवारलाई सहभागी गराएर गर्ने चुनावी कार्यक्रमका सबै खाका दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो।

चुनावी अभियान तीव्र्र बनिरहँदा र उम्मेदवारहरू व्यस्त बन्ने क्रममा सुरक्षाका लागि दाङमा प्रहरीले सुरक्षा गार्डको व्यवस्था गरेको छ। मन्त्री, पूर्वमन्त्रीसहित उच्च नेतासहित माग भएबमोजिम अन्य उम्मेदवारहरूलाई व्यक्तिगत सुरक्षा गार्डको व्यवस्था प्रहरीले गरेको छ। उम्मेदवारको सुरक्षाका लागि माग भएबमोजिम व्यवस्था गरिएको एसपी दुर्गा सिंहले जानकारी दिनुभयो। अहिलेसम्म १२ जना उम्मेदवारले व्यक्तिगत सुरक्षाकर्मी लिनुभएको छ।

आगामी मंसिर २१ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने चुनाव लक्षित सुरक्षा संवेदनशीलतालाई ३ तहमा वर्गीकरण गरिएको छ। १ सय ५१ मतदानस्थलमध्ये ६ वटा अतिसंवेदनशील, १ सय २८ संवेदनशील र १७ वटा मतदानस्थल सामान्य अवस्थामा रहेको एसपी सिंहले बताउनुभयो। त्यस मतदानस्थलमा अतिसंवेदनशील क्षेत्रमा ४ प्रहरी र १० म्यादी, संवेदनशीलमा ३ प्रहरी ७ म्यादी र सामान्यमा ३ प्रहरी र ५ जना म्यादी प्रहरी सुरक्षाका लागि खटिनेछन् भने त्यसमा सशस्त्र प्रहरी पनि थप हुनेछन्। सुरक्षाका लागि जिल्लाका ८ सय ३१ प्रहरी र थप बाहिरबाट २ सय ५१ जना र म्यादी प्रहरी १५ सय ९३ जना खटिने भएका छन्। यो सँगै नेपाली सेना, सशस्त्र प्रहरी र गुप्तचरहरू पनि चुनावी सुरक्षामा परिचालन हुने सुरक्षा समितिले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्