सिड्नीमा अनेसासद्वारा नयाँघरे सम्मानित



काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स च्याप्टरले अस्टेलियाको सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गर्यो। समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवं गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गर्नुभएको थियो।

समारोहमा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता केसी, भूषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षत्री, कृष्ण प्रधानलगायतले नेपाली साहित्य र सिड्नीको सिर्जनात्मक वातावरणबारे बोल्नुभएको थियो।

मन्तव्यको क्रममा अस्टे«लियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे–जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो।

उक्त समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गर्नुभएको थियो।

सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरूको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गर्नुभयो।

नयाँघरेले भन्नुभयो– ‘अस्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ।’ समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रम अत्यन्तै सुन्दर र भव्यरूपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्