एन्टिमाइक्रोबियल उपचार विधिप्रति सचेतना



नेपाल समाचारपत्र
काठमाडौं
मानिस तथा पशुपन्छीको उपचारमा प्रयोग हुँदै आएको ‘एन्टिमाइक्रोबियल’ उपचार विधिप्रति सचेतना जगाउन राजधानीमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरिएको छ। ‘एन्टिबायोटिक्स उपचारः पुनर्विचार’ नारासहित मनाइएको साप्ताहिक कार्यक्रमको अवसरमा ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ विषयक कार्यशाला आयोजना गरिएको छ।

कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. केशवप्रसाद प्रेमी, पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, डा. ज्योति आचार्य र डा. प्रकाश घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को क्रमिक वृद्धिले पशु र मानव स्वास्थ्यका साथै वातावरणीयरूपमा गम्भीर असर पारिरहेकाले सोको प्रयोगप्रति जनचेतना आवश्यक रहेको बताइन्छ। सन् १९४० को दशकबाट विकास भएको ‘एन्टिबायोटिक’ ले मानव तथा पशु स्वास्थ्यमा गम्भीर समस्या निम्ताइसकेको छ। मानिस तथा पशुपन्छीमा ‘एन्टिमाइक्रोबियल’ को अल्प उपयोग, अति उपयोग तथा दुरुपयोगले गर्दा ब्याक्टेरिया, प्यारासाइट, भाइरस र फंगसलगायतमा ‘एन्टिमाइक्रोबियल’ प्रतिरोधात्मक क्षमता वृद्धि हुँदै गएको विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन्।

संयुक्त राष्ट्रसंघ (यूएनओ) को ७१औं महासभाबाट राष्ट्रसंघका सदस्य राष्ट्रहरुले एन्टिमाइक्रोबियल रेसिस्टेन्सविरुद्ध सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाएअनुरूप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ), विश्व पशु स्वास्थ्य संगठन (ओआईई) को त्रिपक्षीय सहमतिबमोजिम सन् २०१७ नोभेम्बर १३ देखि १९ लाई ‘विश्व एन्टिबायोटिक्स सचेतना सप्ताह’ को रूपमा मनाउने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्