‘भित्री शहरको स्वरूप संरक्षण गर्न उम्मेदवारी’



राजेश शाक्य वाम गठबनन्धनका प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फका उम्मेदवार काठमाडौं क्षेत्र नम्बर–८

प्रदेशसभातर्फ काठमाडौं क्षेत्र नं. ८ ‘क’ का नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका राजेश शाक्य वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ। २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिका–१९ बाट वडा सदस्यमा निर्वाचित हुनुभएका शाक्य स्थानीय जनतामा राम्ररी भिजेका युवा उम्मेदवार हुनुहुन्छ। उम्मेदवार शाक्यसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानी ः

प्रदेशसभामा तपार्इंको उम्मेदवारी किन ?
काठमाडौं क्षेत्र नं. ८ ‘क’ मा वाम गठबन्धनबाट मेरो उम्मेदवारी हो। मेरो क्षेत्र काठमाडौं महानगरपालिकाअन्तर्गत चार वटा वडा पर्दछन्। ती वडाहरु भनेको १३, १९, २० र २३ हो। देशको राजधानी भनेको काठमाडौं हो। काठमाडौंको पनि कारे बस्ती भनेको यी चार वटा वडा हुन्। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु पनि यही क्षेत्रमा पर्दछन्। विश्व सम्पदा सूचीमा सूचीकृत हुनुमानढोका वसन्तपुर दरबार क्षेत्र, काष्ठमण्डपलगायत सम्पदाहरु पनि यही क्षेत्रमा पर्दछन्। त्यस्तै भूकम्पपीडित परिवारहरुले अझै राहत पाएका छैनन्, अहिले पनि टहरामा बस्न बाध्य भएका छन्। यहाँको अहिलेको मुख्य समस्या यही नै हो। अहिलेसम्म पुनर्निर्माण अनुदान पाएका छैन। त्यसैले मेरो उम्मेदवारी ऐतिहासिक सम्पदाको पुनर्निर्माण, भूकम्पपीडितको पुनःस्थापनाको लागि हो। पुनर्निर्माणको अनुदान सबैल सहजरूपमा पाउने व्यवस्थाका लागि मेरो उम्मेदवारी हो।

यस क्षेत्रमा जातिगत हिसाबले नेवार समुदायको अत्यधिक बाहुल्यता रहेको छ। सो समुदायको चाहनाअनुरूप नेपालभाषाको संरक्षण, नेपालको मौलिक संवत् नेपाल संवत्को व्यावहारिक प्रयोगलगायत जाति, भाषा, अधिकारका मुद्दा, राज्यका निकायमा पहुँच, प्रतिनिधित्व र पहिचानको जर्र्गेना गर्नका लागि मेरो उम्मेदवारी हो।

त्यसैले काठमाडौंभित्रका शहरमा सम्पदा र संस्कृतिमैत्री विकासका लागि पनि मेरो उम्मेदवारी हो। पर्यटकीय क्षेत्रका विकाससँगै रोजगारीको सिर्जनाका लागि मेरो उम्मेदवारी हो।

प्रदेशसभामा तपाईंले किन जित्नुपर्दछ ?
काठमाडौंमा परापूर्वकालदेखि आफ्नो थातथलोको रूपमा बस्दै आएका नेवार समुदायको राष्ट्रिय राजनीतिमा आफ्नो आवाज राख्न पनि मैले यो चुनावमा जित्नुपर्दछ। राष्ट्रिय राजनीतिमा यहाँका भित्री शहरका बासिन्दाको मुद्दा, आवाज र समस्या खासै पुुग्न सकिरहेको छैन। राज्यमा पहुँच र प्रतिनिधित्वका लागि यहाँको पीरमर्का बुझ्ने भएकाले मैले जित्नुपर्दछ। अर्कोतर्फ युवालाई प्रोत्साहन दिन, राष्ट्रिय राजनीतिमा युवाको उपस्थितिका लागि पनि मैले जित्नुपर्दछ।

तपाईंले प्रदेशसभाका निर्वाचनमा जित्ने आधारहरू के–के हुन् ?
यस क्षेत्रमा जन्मिएको, हुर्किएको र यहाँका जनताको सुख–दुःखमा मेरो साथ रहेको सबैको अनुभूति र भनाइ नै मेरो चुनाव जित्ने आधार हो। अहिले म १३ वडामा बस्छु, १९ वडा २०५४ सालको स्थानीय निकायमा वडा सदस्यमा निर्वाचित भएपछि काम गरेको वडा हो। २० र २३ वडा मेरो परिवारको व्यापारिक थलो हो। यसले गर्दा प्रदेश ‘क’ का सबै मतदाताले मलाई राम्ररी चिन्दछन्।

विगतमा जनप्रतिनिधि हुँदा यहाँको समस्या समाधान गर्न सदैव प्रयत्नशील रहें। जीर्ण अवस्थामा रहेका ऐतिहासिक लाखाःछेंको र भीमसेनस्थानमा रहेको लुँहिती (सुन्धारा) पुनर्निर्माण गरें। यस कार्यको मूल्यांकन स्वरूप मेरो जित हुनेमा पूर्ण विश्वास रहेको छ। अर्को आधार भनेका वाम गठबन्धनको हो। स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भन्दा एमालेले बढी मत ल्याएको थियो। यस आधारमा मेरो जित हुनेछ। माओवादीसँग गठबन्धनसँग नेपाः राष्ट्रिय पार्टी, राप्रपाले पनि मलाई समर्थन गरेको छ। यसले ममा निकै ऊर्जा थपेको छ। यसले गर्दा मैले जित्ने पूर्ण विश्वास रहेको छ।

तपाईंका मुख्य चुनावी एजेन्डा के–के हुन् ?
मेरो चुनावी एजेन्डा भनेको क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण, भूकम्पपीडितको पुनःस्थापना, सांस्कृतिक स्वरूप झल्किने गरी घरको निर्माण, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा काठमाडौंको भित्री शहरको विकास, रोजगारी सिर्जना, शहरी गरिबीको न्यूनीकरण, ३ नम्बर प्रदेशको पहिचानलाई जर्गेना गर्ने मेरो एजेन्डा हो।

 

प्रतिक्रिया दिनुहोस्