९ हजार मतान्तरले हामी चुनाव जित्छौं



जीवनराम श्रेष्ठ वाम गठबन्धनका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार काठमाडौं क्षेत्र नम्बर–८

 

तपाईंको चुनावी प्रचार–प्रसार कुन ढगंले अगाडि बढिरहेको छ ?

व्यक्तिगत भेटघाट, कोठेभेला र घरदैलो कार्यक्रम गर्ने, मतदाताको बीचमा आफ्ना कुरा राख्नेलगायतका काम गर्दै अघि बढिरहेका छौं। प्रचारको क्रममा मतदाताको बीचमा राम्रो प्रतिक्रिया पनि पाएका छौं।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका व्यक्ति पटक–पटक त्यही क्षेत्रबाट विजयी भएका र मन्त्री पनि भएका व्यक्ति हुनुहुन्छ। कतिको सहज महसुस गर्नुभएको छ ?

काठमाडौं क्षेत्र नं. ८ मा मतदाता मेरो उपस्थितिमा निकै नै उत्साहित हुनुभएको छ। यसअघि पनि पटक–पटक चुनाव जितेका कांग्रेसका नवीन्द्रराज जोशी मेरो मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। यो मेरो दोस्रोपटकको उम्मेदवारी हो। ठूला पार्टीका तर्फबाट हामी दुई जना उम्मेदवार छौं। मतदाताको बीचमा जाँदा उहाँहरूले गरेको खुसी व्यक्त, आशिर्वादले म निकै प्रभावित भएको छु।

वृद्धवृद्धादेखि बुबाआमा, युवा सबैबाट हार्दिकतापूर्ण र उत्साहजनक माया प्राप्त भएको छ। उहाँहरुले गरेको समर्थनले मलाई थप उत्साह पैदा भएको छ। यहाँका मतदाताले गरेको उत्साहपूर्ण समर्थनलाई हेर्दा मैले यो क्षेत्रमा प्रतिस्पर्धाको महसुस गरेको छैन। यहाँका जनताले पनि मलाई एक्लो उम्मेदवारका रूपमा हेर्नुभएको छ।

उहाँ त चुनाव जितेर मन्त्री पनि भइसक्नुभएको व्यक्ति, विकास निर्माणका काम पनि निकै गर्नुभएको होला नि ?
निश्चितरूपमा क्षेत्र नं. ८ भन्दा बाहिर बस्ने मतदाताले संसद् जितेर मन्त्री भइसकेको व्यक्ति उम्मेदवार हुनुहुन्छ त्यहाँ वाम गठबन्धनका उम्मेदवारलाई जित्न मुस्किल होला भन्ने ठान्नुभएको छ। तर, यहाँ त्यस्तो अवस्था होइन। धेरैले विकास निर्माणका कामहरु यो क्षेत्रमा भएका होलान् भन्ने ठानेका पनि होलान्। तर, जुन मतदाताले उहाँलाई निर्वाचित गराएर पठाउनुभयो उहाँहरु निकै दुःखी हुनुहुन्छ। सांसद भएर सांसदको हैसियतले संसद् विकास कोषबाट आउने वार्षिक ३ करोड कहाँ लगानी भयो ? उहाँहरुले भन्दै आउनुभएको छ। जनता आक्रोशित छन्। जवाफदेहिता अनि पारदर्शिता भएन भन्ने कुरा पनि उठिरहेको छ।

यो क्षेत्रको विकासका लागि उहाँले कुनै पहलकदमी गर्नुभएन भन्ने पनि गुनासो आएको छ। विनाशकारी भू्कम्पबाट ठूलो धनजनको क्षति भयो। हाम्रो क्षेत्र भूकम्प प्रभावित क्षेत्र पनि हो। त्यति बेला हामी उद्धार र राहतमा जुट्यौं। हामी भूकम्पबाट क्षतिग्रस्त भएका ठाउँलाई व्यवस्थित गर्ने, बाटोलाई व्यवस्थित गर्ने र निजी घरहरूलाई धरापमुक्त बनाउने काममा लाग्यौं। विपद्को बेला जुन पहलकदमी हामीले गरेका थियौं, त्यसबाट मतदाता खुसी हुनुहुन्छ। भूकम्प गएको २ वर्ष बितिसकेको छ। हाम्रो क्षेत्र कोर सिटीमा पर्छ। हाम्रो क्षेत्रमा अहिले पनि धरापको स्थिति छ। हाम्रो सम्पदाको धरोहर काष्ठमण्डप निर्माण, विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका, दरबार स्क्वायर, स्वयम्भु मन्दिरलगायतका ठाउँमा पुनर्निर्माणका लागि कुनै पहलकदमी हुन सकिरहेको छैन। कुनै चासो व्यक्त भएन भन्ने गुनासो सर्वत्र छ।

हिजोका दिनमा जनप्रतिनिधि भनेको एक जना संसद् मात्र थियो। जनप्रतिनिधि यो क्षेत्रमा नवीन्द्रराज जोशी हुँदा आफ्नो प्रतिनिधि दुःखको बेला, अप्ठ्यारो बेलामा पाइएन भन्ने आमरूपमा जनगुनासो छ। यो क्षेत्रमा चमती आयोजना दशकौं अगाडिदेखि शुरू भएको हो। त्यो आयोजना अस्तव्यस्त अवस्थामा छ। त्यो आयोजनालाई अगाडि बढाउने कुरामा पनि कुनै कार्य भएको छैन।

हिजोको चुनावमा जनताको बीचमा गएको जनप्रतिधि भएको हैसियतले र त्यहींको स्थायी बासिन्दा भएकाले पनि त्यो आयोजना अघि पटक–पटक अगाडि बढाउन अनुरोध गरेको थिए। तपाईंको नेतृत्वमा यो आयोजना पूरा गरौं भन्दा कुनै चासो देखाउनुभएन। यसमा पनि जनताको ठूलो असन्तुष्टि रहँदै आएको छ।

मान्छेलाई अचम्म लाग्न सक्छ। काठमाडौंमा पनि खोलाले कटान गर्छ र भन्ने हुनसक्छ। सीतापाइलादेखि बग्दै आएर १३ वडा कालिमाटी, सोल्टीमोडतिरबाट बग्ने मनमति खोला छ। त्यो खोलाले वर्षात्को बेलामा छेउछाउका घरमा डुबानमा पार्ने, जमिन कटान गर्ने गर्छ। यो समस्या यहाँका जनताले वर्षौंदेखि भोगिरहेका छन्। त्यस्तो समस्या भएको ठाउँलाई उहाँले व्यवस्थित गर्ने काममा कुनै चासो देखाउनुभएन।

काठमाडौं विशिष्ठ पहिचान बोकेको क्षेत्र हो। यहाँको संस्कृति, यहाँको ऐतिहासिक धरोहर यी सबैको सरंक्षण र सम्बद्र्धन गर्नु आवश्यक छ। मैले यसको विकासका लागि लाग्छु भन्ने दृष्टिकोण अगाडि सारेको छु। यो क्षेत्र ऐतिहासिक धरोहर भएको क्षेत्र हो। यो क्षेत्रलाई एकीकृत विकासको योजनासहित यहाँका सडक, ढल, खानेपानी, सडकबत्ती, पर्यावरण र सडक यातायातलाई व्यवस्थित बनाउनेदेखि सामाजिक सुरक्षाका कुराहरुलाई अगाडि बढाउँछु भन्नेसम्मको दृष्टिकोण अगाडि सारेको छु। महिला जनशक्तिलाई उत्पादनसँग जोडेर सशक्तीकरण गर्ने, अभियान चलाउने कुरालाई पनि अगाडि सारेको छु। मेरो योजनाबाट मतदाताले खुसी व्यक्त गर्नुभएको छ। यी सबै कारणले निर्वाचनमा प्रतिस्पर्धाको स्थिति छैन भन्ने मैले बुझेको छु।

क्षेत्र नं. ८ का जनताले तपाईंलाई नै भोट के कारणले हाल्ने ?
अहिले जनताले राजनीतिक अस्थिरताको अन्त्य चाहेका छन्। मुलुकमा अस्थिरताको कारणले सबै क्षेत्र अस्तव्यस्त भयो। मुलुक अस्तव्यस्त भयो। मुलुक अगाडि बढ्न सकेन भन्ने आमरूपमा एउटा धारण बनेको छ। राजनीतिक परिवर्तनपछि समृद्धिको बाटोमा जानुपर्छ। सधैं राजनीतिक अन्योलतामा रहनु हुँदैन भन्न्ने आमरूपमा एउटा धारणा भनेको छ।

त्यसैले यो वाम गठबन्धनको मुख्य उद्देश्य भनेकै स्थिरता र मुलुकको समृद्धि नै हो। त्यसैले पनि साझा उम्मेदवारलाई जिताउन आवश्यक छ। दोस्रो काठमाडौं मुलुकको राजधानी हो। यसको आफ्नो छुट्टै पहिचान छ। विशेषता छ। यो विशेषता र पहिचानलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ। राजधानीबाट जित्ने त धेरै उम्मेदवारहरु छन्। हिजो पनि धेरैले जिते, मन्त्री भए तर राजधानीको प्रतिनिधित्व हुन सकेन। राजधानीमा हिजोदेखि बसोबास गर्ने स्थायीबासी, मतदाता, जनताहरु छन्। उनीहरुको भावनाको प्रतिनिधित्व हुन सकेन। संस्कृति, परम्परा, सम्पदा, गुठी, गहना जात्रा पर्व, यहाँका भाषा, जातिका कुराहरूलाई संरक्षण र सम्बद्र्धन गर्ने कुराहरु हुनसकेका छैनन्।

यहाँको भौगोलिक सुन्दरता उचित मात्रामा संरक्षण हुनसकेको छैन। काठमाडौं सांस्कृतिक धरोहर भएको ठाउँ हो। म मात्र होइन मेरो पुर्खा पनि यही ठाउँमा जन्मिए। म यही ठाउँमा हुर्कें, पढें, बढें। म यहींको समुदायमा भिजेको व्यक्ति पनि भएकाले मलाई यहाँका जनताले जिताउने निश्चित छ। मेरो क्षेत्रको सांस्कृतिक सम्पदा, परम्परा र जात्रा पर्वहरु यहाँको सभ्यताको संरक्षण कुराहरु मात्र होइन सांस्कृतिक धरोहरलाई बचाउने कुरा पनि जीवन्त शहरको रूपमा यसलाई स्थापित गर्ने कुरा पनि हो। मेरो क्षेत्रको विकासका लागि जुन दृष्टिकोण अगाडि सारेको छु। त्यो पूरा गर्न पनि मलाई समर्थन हुन्छ भन्ने लाग्छ। खेलकुद क्षेत्रमा लामो समयदेखि संलग्न छु।

सिंगो देशको खेलकुदलाई नै व्यवस्थित गर्ने कुरा, खेलकुद नागरिकको स्वास्थ्यका लागि र राष्ट्रको गौरवका रूपमा स्थापित गर्ने कुरा र देशभरि नै खेलमैत्री वातावरण बनाउने कुरा, खेलकुदको माध्यमबाट नै खेलाडीलाई जीवनयापन गर्ने स्थिति निर्माण गर्ने कुरा ऐन कानुन बनाउने कुरामा पनि मेरो भूमिका अहम् रहनेछ। अरूले जित्दा त्यो क्षेत्रको मात्र प्रतिनिधित्व हुनसक्छ। मैले जित्दा यहाँको जाति, भाषा, परम्पराको पनि प्रतिनिधित्व गर्न सक्छु। यी सबै कारणले यहाँका जनताले योपटक मलाई जिताउने निश्चित छ।

 

प्रतिक्रिया दिनुहोस्