आचार संहिता उल्लंघनका २ हजार उजुरी, निर्वाचन आयोग निरीह



सुनील महर्जन, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढेको पाइएको छ।

निर्वाचन आचार संहिता लागू भएयता आचार संहिता उल्लंघन भएको भन्दै अहिलेसम्म २ हजार हाराहारीमा निर्वाचन आयोगमा उजुरी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। उजुरी परेका विषयको प्रकृति हेर्दा अधिकांश सरकारले नै आचार संहिता उल्लंघन गरेको आरोप लगाएको छ।

अधिकांश उजुरी निर्वाचन आचार संहिता मिचेर सरकारले सरुवा गरेको, कर्मचारीको विदेश भ्रमण, राज्यको स्रोत र साधन बाँडेको जस्ता घटनाका उजुरीहरू अत्यधिक परेका छन्। ‘यस घटनाबारे आयोगले छानविन गरी उजुरीहरूलाई किनारा लगाइसकेको छ’ –प्रवक्ता ढकालले भन्नुभयो।

घटनाको छानविन गरी कतिलाई स्पष्टीकरण सोधिएको, कसैलाई सचेत गराइएको पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो। यसपटक आयोगले आचार संहिताविपरीत भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको तथा जिल्लाका प्रहरी प्रमुखको सरुवा गर्नुभएको थियो।

‘संवैधानिक निकायको हैसियतले आचार संहिता पालना गराउन आयोग दह्रो भएर उभिनुपथ्र्यो। तर, व्यवहारमा यसो भएको पाइँदैन’ –पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भन्नुभयो। आयोगले विशेषतः सरकारलाई आचार संहिता पालना गराउन सशक्त भूमिका निर्वाह नगर्दा संवैधानिक हैसियतको आयोग सरकारको लाचार छायाजस्तो देखिएको पनि उहाँको भनाइ छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न पनि आयोग पछि हट्न नहुने बताउनुभयो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तुलनामा आचारसंहिता उल्लंघनका घटना कम भएको जनाएको छ। विगतका निर्वाचनको तुलनामा यसपटक निर्वाचन प्रचारप्रसारमा संगठितरूपमा बालबालिकाको प्रयोग, भोजभतेर आयोजना र अरू आचारसंहिता उल्लंघनका घटनामा कमी आएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढिरहेको सन्दर्भमा आयोगले सरकारका सचिव, नागरिक समाज र पूर्वसचिवहरू पनि अन्तरक्रिया गरेको थियो। अन्तरक्रियामा निर्वाचन आचारसंहिता पालना गर्ने र गराउन सबैको साथ र सहयोगको खाँचो औंल्याउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले जसरी पनि जित्नुपर्छ भन्ने सोचलाई निरुत्साहन गर्न र निर्वाचन आचारसंहिता पालनामा जोड दिन आवश्यक रहेको धारणा अघि सार्नुभएको थियो।

‘आचारसंहिता भनेको नैतिकता तथा सदाचारसँग समेत जोडिएको विषय हो। कानुन कडा गरेर नहुने रहेछ, व्यक्तिको मनबाट आउने पर्ने विषय हो’ –आयुक्त सुधीरकुमार शाहले भन्नुभयो। लोकतन्त्रको सुदृढीकरणका लागि आचारसंहिता पालना अत्यावश्यक रहेको छ।

निर्वाचन आचारसंहिता पालना गराउन आयोग चुकेकोमा निर्वाचन पर्यवेक्षण गर्ने संस्था र नागरिक समाजले आयोगको ध्यानाकर्षण गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्