निर्भिक भएर कार्य सम्पादन गर्नुस् – प्रधानन्यायाधीश



चितवन,  प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ ।

जिल्ला अदालत चितवनले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै प्रधानन्यायाधीश पराजुलीले यदाकदा न्यायाधीशले गाली र अपजश खप्न परे पनि न्याय सम्पादन गर्दा विचलित नहुन आग्रह गर्नुभयो ।

आफू बहाल भएकै दिन ३९ बँुदे कार्ययोजना जारी गरेको बताउँदै उहाँले भन्नुभयो – “न्यायाधीशहरूको मनोबललाई तेजोबध गराउने हिसाबबाट जो जसरी जहाँबाट परिचालित भएपनि त्यसबाट कति पनि नडराउनुहोला ।”

पुराना मुद्दाहरूलाई कार्ययोजनामा राख्दै चाँडोभन्दा चाँडो फैसला गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

चितवन जिल्ला अदालत बार एशोसियशनले आजै प्रधानन्यायाधीश पराजुलीको अभिनन्दन एवं वरिष्ठ अधिवक्ताहरूको सम्मान ग¥यो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायाधीशका पनि न्यायाधीश कानुन व्यवसायी भएकाले स्वार्थका कारण मर्यादालाई नबिर्सन आग्रह गर्नुभयो ।

उहाँले कानुन व्यवसायी समाजका अगुवा र परिवर्तनको द्योतक भएको भन्दै त्यसैअनुरुप काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले बार र बेन्चको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो र भन्नुभयो – “बार र बेन्च एकै रथका दुई पांग्रा र एकै सिक्काका दुई पाटा हुन् ।”

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले अदालतको भौतिक संरचनाको विकासका लागि सहयोग गर्ने वचन दिनुभयो ।

मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जिल्ला अदालतले गरेका कामकारबाहीबारे जानकारी गराउनुभएको थियो ।

नेपाल बार एसोशियसनका अध्यक्ष शेरबहादुर केसीले बार र बेन्चबीचको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रजातान्त्रिक कानुन व्यवसायी संघका पूर्व अध्यक्ष गोपालकृष्ण पराजुली, वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई अभिनन्दन गर्नुका साथै चितवन जिल्ला घर भई चितवन र बाहिरी जिल्लामा काम गर्दै आउनुभएका वरिष्ठ अधिवक्ताहरू अध्यक्ष केसी, केन्द्रीय सदस्य इन्दु कोइराला र ज्ञानेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्