किन खुशी छैनन मेसी ?



एजेन्सी । ब्राजिलियन प्ले मेकर फिलिप कोन्टिन्होलाई स्पेनिस क्लब बार्सिलोना आउँदो जनवरीमा भित्राउने तयारीका बीच हरेक दिन यस विषयमा केहि न केहि नयाँ प्रसंगहरु भित्रिएकै्र छन् ।

हाल लिभरपुलबाट खेलिरहेका कोन्टिन्होलाई भित्र्याउने यस अघिका प्रयासहरु असफल भएका थिए तर पछिल्लो समय कोन्टिन्होलाई बार्सिलोना ल्याउने विषयमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी नै त्यति खुशी नभएको रिपोर्टहरु बाहिर आएका छन् । पछिल्लो रिपोर्ट अनुसार मेसी कोन्टिन्होलाई दिन लागेको रकमबाट खुसी नरहेको खबर सार्वजनिक भएको छ ।

बार्सिलोनाले कोन्टिन्होलाई वर्षको २५ मिलियन युरोमा सम्झौता गर्न लागेकाले मेसी खुसी नरहेको खबर सार्वजनिक भएको हो । खेलाडीलाई पारिश्रमिकका रुपमा दिइने यो रकम बार्सिलोनामा मेसी पछिको धेरै हो । मेसीले क्लबमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका इनेष्टा, पिके जस्ता खेलाडीलाई भन्दा नयाँ अनुबन्ध हुने कोन्टिन्होलाई धेरै रकम खर्च गर्न नहुने कुरामा जोड दिएको बताइएको छ ।

बार्सिलोनाका लिजेण्ड इनेष्टा र अर्का खेलाडी इभान र्याकिटिक भने कोन्टिन्होलाई ल्याउन नहुने पक्षमा रहेका छन् । इनेष्टा अहिलेको मिडफिल्डमा पउलिन्हो, डेनिस स्वारेज र आन्द्रे गोमेसबाटै राम्रो भइरहेको पक्षमा छन् भने र्याकिटिक कोन्टिन्हो आएको खण्डमा आफूले कम समय खेल्न पाउने र आफ्नो स्थान नै धरापमा पर्ने डरमा छन् ।

गएको जुन जुलाईमा बार्सिलोनाले कोन्टिन्होलाई क्लब भित्र्याउन तीनपटकसम्म प्रयास गरेपनि असफल भएको थियो ।

त्यस्तै केहिसमय अघि मेसीले कोन्टिन्होको ठाउमा हाल मोनाकोबाट खेलिरहेका फ्रेन्च मिडफिल्डर थोमस लेमार, हाल लियोनबाट खेलिरहेका अर्का फ्रान्सकै मिडफिलदार नबिल फेकिर र हाल लेस्टर सिटीबाट खेलिरहेका रियाद महरेजलाई भित्राउने सल्लाह दिएको स्पेनिस मिडियाले उल्लेख गरेका थिए ।

त्यस्तै हालै रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगमा दुई गोल गरेका टोटनह्यामका खेलाडी डेली अलि पनि बार्सिलोनाको दिर्घकालिन खेलाडी हुनसक्ने मेसीले बार्सिलोनाका व्यवस्थापनलाई सुझाव दिएको रिपोर्ट बाहिरिएको थियो ।

यता बिबिसीका अनुसार लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप कोन्टिन्होलाई क्लबमै राख्ने वातावरण बनाउन हर सम्भव प्रयास गरिरहेका छन् तर कोन्टिन्होले भने बार्सिलोना जाने विषयलाई अझै पनि प्राथमिकतामा राखेको रिपोर्ट बाहिर आएको छ ।

नेइमार विश्व कीर्तिमानी २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि बार्सिलोना उनी जस्तै अर्को उत्कृष्ट खेलाडीको खोजीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्