बैतडीमा बिरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री



विनोद सिंह विष्ट, बैतडी । पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै जाँदा बैतडीमा चुनावी सरगर्मीले उच्च गति लिएको छ । प्रतिनिधी सभाको लागी एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभामा भने बहाल र पुर्व गरी दुई राज्यमन्त्री बिच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ ।
हाल वाणिज्य राज्यमन्त्री रहेका नेपाली कांग्रेसवाट प्रतिनिधि सभाका उम्मेदवार नरबहादुर चन्द र पुर्व अर्थराज्यमन्त्री एवं वामगठबन्धनका उम्मेदवार दामोदर भण्डारीले चुनावी सभा तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
२०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता समेत रहेका राज्यमन्त्री चन्द तत्कालिन बैतडी निर्वाचन क्षेत्र नं २ मा १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए भने तत्कालिन निर्वाचन क्षेत्र नं १ वाट नेकपा एमालेका नेता दामोदर भण्डारी ११ हजार मत ल्याएर विजयी भएका थिए ।
७० को निर्वाचनमा विजयी चन्द प्रतिप्रधिभन्दा दोब्बर मत ल्याएर र भण्डारी ९ सय मत बढी ल्याएर विजयी भएको भएपनि आसन्न निर्वाचनमा चुनावी समिकरण फेरिएकाले जितको अनुमान लगाउन सजिलो छैन् ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनावी सभालाई बिष्फोटक बनाउदै जनमत आ आफ्नो पक्षमा रहेकोे दाबी गरिरहेका छन् । नेपाली कांग्रेस बैतडीका पार्टी सभापती नरेन्द्र थापाले सडक, बिजुली ,खानेपानी, लगायतका विकासका पुर्वाधार र पञ्चेश्वर परियोेजना निर्माणको मुख्य एजेण्टा बोकेर लोकतान्त्रिक गठबन्धन मतदाता समक्ष पुगेको बताउनुभयो । ‘हामीले जिल्लाभर प्रचारप्रसारलाई तिब्रता दिएका छौं’ सभापती थापाले भन्नुभयो‘बैतडीको जनमत हामीभन्दा बाहिर जादैन ।’
यहाँको प्रदेशसभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश बहादुर चन्दलाई उम्मेदवार बनाएको नेपाली कांग्रेसभित्र पार्टीको टिकट बितरणप्रति सन्तुष्टी व्यवस्थापन हुन सकेको छैन ।
कांगे्रसले पार्टीभित्रको आन्तरिक द्वन्द व्यवस्थापन गर्न नसके बिरासत जोगाउन कडा मेहनत गर्नुपर्ने कांग्रेस नेताहरुनै स्वीकार गर्छन् ।
बाणिज्य राज्यमन्त्री एवं कांग्रेस प्रतिनिधीसभाका उम्मेदवार नरबहादुर चन्दले बैतडीलाई कांग्रेसको गढको संज्ञा दिनुभयो । उहाँले लोकतन्त्रवादीहरुको जनसंंख्या बढी रहेकाले जितका लागि सहज हुने दाबी गर्नुभयो । ‘लोकतन्त्र मुलुकका लागि आवश्यक रहेकाले पनि हामी एकजुट भएर निर्वाचनमा होमिएका छौं ।’ उहाँले भन्नुभयो ।
लोकतान्त्रिक गठबन्धन यहाँका दुई वटै प्रदेश जित्नेमा भने ढुक्क देखिन्छ । राप्रपाका प्रदेश सभा ‘ख’ का उम्मेदवार गणेश बहादुर चन्दले निर्वाचन जित्नेमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले आफु निर्माण व्यवशायी समेत भएको बताउदै गाँउघरका मतदाताका समस्याबारे आफु जानकार रहेको बताउनुभयो ।‘यो मेरो पेशाको अनुभव मतदाता सम्म पुर्याउने अवसर पनि हो ।’ उहाँले भन्नुभयो‘मेरो उम्मेदवारीले मतदातामा उत्साह छाएको छ’
त्यसैगरी नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धनलाई चुनावी माहौल आफ्नो पक्षमा पार्न त्यती सहज देखिदैन् । गत असारमा सम्पन्न स्थानीय तहको मतपरिणामलाई आधार मानेर आसन्न निर्वाचन जित्ने दाबी गरिरहेको वाम गठबन्धनभित्र पनि आन्तरिक असन्तुष्टि विद्यमान रहेका छन् ।
गठबन्धनवाट प्रतिनिधि सभाका उम्मेदवार बनेका पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले वाम गठबन्धनले कम्युनिष्टहरुमा उत्साह छाएको बताउदै लोकतान्त्रिक गठबन्धनभन्दा आफु अगाडी रहेको दाबी गर्नुभयो । ‘आफु राज्यमन्त्री हुदा गरेको विकासले पनि मतदाताको माया पाईरहेको छु’ चुनावी घरदैलोमा रहेका उहाँले भन्नुभयो‘पुर्वाधार विकास र शिक्षा स्वास्थ्य रोजगारीका विषयमा मतदाताले ध्यान दिन आग्रह गरिरहेका छन्’ ।
बाम गठबन्धनबाट बैतडी प्रदेशसभा क बाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका संयोजक प्रेमप्रकाश भट्टले मुलुकमा बाम घटकको आवश्यकता रहेको बताउनुभयो । उहाँले बैतडीको विकासका लागि बाम शक्ति निर्वाचनमा बिजयी हुनु आवश्यक रहेको बताउनुभयो ।
बैतडीमा प्रतिनिधीसभामा कांग्रेसबाट बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, प्रदेश क मा हरिमोहन भण्डारी, ख मा राप्रपाका गणेश बहादुर चन्द, बाम गठबन्धनको प्रतिनिधीसभा नेकपा एमालेका नेता दामोदर भण्डारी, प्रदेश क मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, ख मा एमालेका लिलाधर भट्ट चुनावी मैदानमा छन । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदान स्थल रहेका छन । स्थानीय प्रशासनले निर्वाचनलाई लक्षित गरी जिल्ला भरको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । यहाँका विभिन्न क्षेत्रमा अस्थायी सुरक्षा पोष्ट समेत स्थापना गरिएका छन । भने तराईका अन्य जिल्लाहरुबाट पनि थप सुरक्षाकर्मी बैतडी भित्र्याइएको छ । यस्तै बैतडीकोे नेपाल, भारत सिमा क्षेत्रमा पनि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्