एक करोड युवाको व्यवस्थापन गर



नेपालको जनसंख्या ३ करोड पनि पुगेको छैन। २०६८ को जनगणना र त्यसयताको प्रक्षेपण हेर्दा अहिले नेपालको जनसंख्या २ करोड ८० लाखको हाराहारीमा छ। मानिसलार्य उमेर समूहका हिसाबले तीन समूहमा विभाजन गर्न सकिन्छ। बालबालिका, युवा वा वयष्क र ज्येष्ठ नागरिक गरेर तीन समूहमा विभाजन गर्ने हो भने युवाको संख्या एक करोडको हाराहारीमा छ भन्न सकिन्छ। अन्य उमेर समूहभन्दा युवाहरूको संख्या बढी नै हुने भएकाले एक करोड बढी युवा छन् भन्न सकिन्छ।

केही दिनअघि मात्र एउटा तथ्यांक सार्वजनिक भएको छ– बितेको १० वर्षमा ३४ लाख युवा विदेशिएका छन्। खास गरी २०६२ सालयता ३५ लाख बढी युवा विदेशिएको तथ्यांक बाहिर आएको छ। यो नेपालबाट श्रम स्वीकृति लिएर वैधानिकरूपमा विदेश जानेहरूको संख्या हो। तेस्रो मुलुक हुँदै गैरकानुनीरूपमा विदेश गएकाहरूको समेत संख्या हेर्दा आधा करोड युवा अहिले पनि विदेशी भूमिमा सस्तो मूल्यमा श्रम बिक्री गरिरहेको देखिन्छ। एक करोडको हाराहारीमा रहेका नेपाली युवामध्ये आधा युवाहरू विदेश जानु समग्र देश निर्माणका हिसाबले पनि निकै गम्भीर र संवेदनशील सवाल हो।

१९ दिने आन्दोलनपछि लोकतन्त्र स्थापना, संविधानसभाको चुनाव, गणतन्त्र घोषणा हुँदै २०७२ असोज ३ गते संविधान जारी भयो। यो १० वर्षको अवधिमा नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तन भयो। राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व कायम हुन सकेन। जसले गर्दा विकास निर्माण र आर्थिक समृद्धिको क्षेत्र निकै पछाडि परेको छ। फेरि अर्को चुनाव आउँदै छ। अब भने युवा पलायनका विषयमा गम्भीर हुन जरुरी छ। युवाहरूको विदेश पलायन राजनीतिक परिवर्तन भए पनि त्यसलाई संस्थागत गर्दै राजनीतिक स्थायित्वसहित देश विकासको अभियान शुरु नगर्दाको प्रतिफल हो।

अहिले गाउँहरू पूरै वृद्धाश्रमजस्ता देखिन्छन्। युवा जति विदेश पुगेका छन्। विदेशिएका युवाका छोराछोरीको अध्ययनका लागि श्रीमतीसहित सन्तानहरू बजार पसेका छन्। गाउँमा वृद्धवृद्धाहरूले कठिन श्रम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ। जसले गर्दा खेती घटेर हरेक वर्ष बाँझो जमिन बढिरहेको छ। एकातिर हामी आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छौं, देशको पुनर्निर्माण र नवनिर्माणको कुरा गरिरहेका छौं भने अर्कोतिर सक्रिय जनसंख्याको रूपमा रहेका आधाभन्दा बढी युवाहरू विदेशमा छन्। अहिले भूकम्पप्रभावित क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव देखिन थालिसकेको छ। त्यसैले युवाहरूलाई स्वदेशमै आकर्षित गर्ने योजना ल्याउन अपरिहार्य भएको छ।

– नरेन्द्र सुनार, भद्रपुर

प्रतिक्रिया दिनुहोस्