सुकुम्बासीको बिक्दैन लालपुर्जा



सलिम अन्सारी, प्युठान
जिल्लाको सरुमारानी गाउँपालिका–१ का इस्माइल मिया बैंकमा जमिन धितो राखेर केही व्यवसाय गर्ने मनसायमा छन्। व्यवसाय शुरूआतका लागि जमिन धितो राख्न केही बैंकमा समेत पुगे उनी। तर, कुनै पनि बैंकले धितो राखी ऋण दिन नमानेपछि सुविधाबाटै वञ्चित हुनु परेको उनले बताए।

‘हामीसँग जमिनको लालपुर्जा छ, वार्षिक तिरो पनि तिर्दै आएका छौं, तर धितो मान्य हुँदैन’, सुकुम्बासी अगुवा मियाले भने– ‘हामीले व्यवसाय गर्न पनि ऋण पाउँदैनौं।’ मियासँगै ४२ जना सुकुम्बासी घरपरिवारहरूको बसोबास छ यहाँ। तर, उनीहरू ऋण लिएरै व्यवसाय सञ्चालन गर्ने योजना भए पनि ऋण पाउन नसक्दा चिन्तित छन्। ‘सरकारी, निजी बैंकदेखि स्थानीय सहकारीसम्ममा हाम्रो लालपुर्जा बिक्दैन’, मियाले भने– ‘व्यावसायिक क्रियाकलापमा लगानीका लागि अरु उपाय छैन।’ अन्य नागरिकसरह कर तिर्दै आए पनि न्यूनतम ऋणसमेत पाउन नसकेको उनीहरूको गुनासो छ।

ठूला नदीदेखि ५ सय मिटरसम्मको जमिन धितो राख्न नसकिने व्यवस्थाका कारण ऋण दिन नसकिएको यहाँका बैंकले बताउँदै आएका छन्। तर, सुकुम्बासीहरूको अन्य स्थानमा जग्गा जमिन नहँुदा उनीहरू समस्यामा परेका हुन। ‘नीतिगत समस्याले गर्दा उहाँहरूलाई कर्जा प्रवाह गर्न मिल्दैन’, नेपाल बैंक लिमिटेड प्युठानका प्रवन्धक नरेन्द्रकुमार मिश्रले भने– ‘ठूला नदी पर्ने ठाउँमा ५ सय मिटरभन्दा भित्र ऋण दिन मिल्दैन।’

यस बस्तीमा पिछडा वर्गको बसोबास छ। बस्तीका अधिकांश युवा वैदेसिक रोजगार र ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। यस क्षेत्र दक्षिणी प्यूठानको व्यापारिक केन्द्रको रुपमा विकास हुदै गए पनि लगानी अभावमा आफूहरू व्यवसाय सञ्चालन गर्नबाट वञ्चित बनेको उनीहरूको गुनासो छ। व्यापारिक केन्द्र बढेसँगै स्थानीयरुपमै बैंकसमेत सञ्चालनमा आए तापनि त्यसबाट आफूहरू लाभान्वित हुन नसकेको मियाले बताए। ‘घर आगनमै सहकारी संस्था र बैंकसमेत आएका छन् तर हामीलाई कुनै लाभ छैन’ –उनले भने। बागेंशालमै रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले पनि अहिलेसम्म उनीहरूलाई ऋण लगानी नगरेको उनीहरू बताउँछन्।

२०५२ सालमा घरबास नभएकाहरूलाई प्रतिव्यक्ति ५ रोपनी जग्गाका दरले जग्गा प्रदान गरिएको थियो। कुल ६९ कित्तामध्ये हाल ४२ जना मात्र स्थायी सुकुम्बासी यहाँ बसोबास अर्दै आएका छन्। बाँकी २७ जना आफ्ना नाममा पुर्जा बनाएर अन्यत्रै सरेको स्थानीय बताउँछन्। वडा कार्यालयबाट करिब ६ सय मिटर पूर्वतर्फ सुकुम्बासी बस्ती छ। ऐरावती जाने मोटरबाटोमा बस्ती रहेकाले पनि यहाँको जग्गाको मूल्यांकन राम्रो छ। बाटोले छोएको जग्गा प्रतिरोपनी २ लाख ५० हजारदेखि ३ लाख रुपियाँसम्म मूल्य पर्छ। भित्री जग्गा १ लाखदेखि डेढलाख रुपियाँसम्म प्रतिरोपनीमा कारोबार हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्