केकीको कोहलपुर एक्सप्रेस



 

                                                                                         रश्मी थापा 

प्रशन्न पौडेलको फिल्म स्वरबाट नेपाली रजतपटमा पाइला टेकेकी केकी अधिकारी आफ्नो सत्रौं रिलिज फिल्म ऐश्वर्यसम्म आइपुग्दा आफैं निर्मात्री बनेकी छिन्।

फिल्म कोहलपुर एक्सप्रेसबाट निर्मात्री बनेकी केकी यति बेला कोहलपुरमा यही फिल्मको सुटिङमा व्यस्त छिन्। केकीको डेब्यु निर्माणमा निर्माणाधीन कोेहलपुर एक्सप्रेसबाट म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले पनि निर्देशनमा डेब्यु गरेका हुन्। ‘करिब एक वर्षअघि जब मैले प्लट सुनें, मन पर्र्यो। यो प्लट निर्देशक विशाल भण्डारीले सुनाउनुभएको थियो। केही वर्षदेखि लगातार एक्टिङ मात्र गरिरहेकाले लाइफमा केही चेन्ज नै नआएको जस्तो, कहीं केही च्यालेन्ज नै नभइरहेको जस्तो लागिरहेको थियो’, कुशल निर्देशक तथा रंगकर्मी बद्री अधिकारीकी पुत्री केकीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘प्लट मन परेपछि विशाल भण्डारी र मैले यसमा फिल्म निर्माण गर्ने सोच बनायौं र त्यही फिल्म निर्माण गरिरहेका छौं।

काम गर्न त घर (बुवासँगै) बाटै सजिलो हुन्थ्यो। तर यो फिल्मको कथा विशाल भण्डारीको हो र हामी दुई जनाको योजनाअनुसार फिल्म निर्माण गर्ने योजना भएकाले यसमा उहाँको इन्भल्बमेन्ट भएन।’ सावित्री, मेरो बेस्ट फ्रेन्ड, मसान, हाउ फन्नी, श्री ५ अम्बरे, भाग सानी भाग, आई एम सरी, घामपानीजस्ता फिल्ममा मुख्य भूमिकामा देखिएकी केकी आफ्नो ड्रिम प्रोजेक्ट कोहलपुर एक्सप्रेसमा पनि प्रमुख भूमिकामा देखिँदैछिन्। तीन युवतीका कथामा निर्माणाधीन फिल्ममा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धी तामाङ, रवीन्द्र झा, कुशाग्र भट्टराई, सिर्जना कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहनेछ। फिल्ममा शान बस्न्यातको लेखन रहेको छ भने अर्जुन तिवारीको छायांकन, राजनराज सिवाकोटी, कालीप्रसाद बास्कोटा तथा अर्जुन पोखरेलको संगीत रहनेछ। त्यस्तै नृत्य निर्देशनको जिम्मा भने गम्भीर विष्टले लिएका छन्।

कलेज पढ्दै गर्दा रियालिटी शो घिन्ताङमा भाग लिएकी केकीलाई म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलले एक म्युजिक भिडियोको लागि अफर गरेका थिए। अञ्जु पन्तको वनमा फुल्यो फुलै फूल बोलको गीतबाट म्युजिक भिडियो मोडलिङमा डेब्यु गरेकी केकी एकपछि अर्को गर्दै सयौं म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरेर नेपाली म्युजिक भिडियो क्वीनको दर्जा पाउन सफल भइन्। ‘कुनै बेला मैले धेरै म्युजिक भिडियोमा अभिनय गरेँ।

फिल्ममा प्रवेश गरेपछि पनि मैले म्युजिक भिडियोलाई समय दिएँ। समयको परिवर्तनसँगै आफ्नो रोलमा परिवर्तन आउँछ’, केकी भन्छिन्– ‘तर म्युजिक भिडियोलाई कम प्रायोरिटी दिएको भन्न मिल्दैन। समयसँगै कलाकारको काममा स्वतः परिवर्तन आउँछ। त्यो आफूले चाहेर वा नचाहेर हुने होइन। सबै म्युजिक भिडियोमा म मात्र खेलेर पनि भएन। नयाँ कलाकारलाई पनि त चान्स दिनुपर्यो नि।’

फिल्म वा म्युजिक भिडियो जेमा काम गरे पनि अभिनयमा खुसी हुने केकी बताउँछिन्। ‘फिल्म र म्युजिक भिडियो जुनमा काम गरे पनि आखिर एक्टिङ नै गर्ने हो। एक्टिङ गर्दा म कहिल्यै पनि घाटा नाफाको हिसाब राख्दिन’, उनले भनिन्– ‘म हिरोइन नभएको भए डक्टर बन्थँे। एमबीबीएस गर्दै गर्दा म्युजिक भिडियोमा अभिनय गरेपछि मैले आफ्नो खुसी यसैमा पाएँ। खुसी र आफूखुसी हुन सक्ने क्षेत्रलाई क्न्टुयुनिटी दिएँ। फिल्म निर्माण पनि त्यसैको एउटा पार्ट हो।’

प्रतिक्रिया दिनुहोस्