“अब विद्यार्थीले त्रासमा पढ्नुपर्दैन”



पाहार ट्रस्ट युकेको सहयोगमा धम्पुसमा विद्यालय भवन निर्माण

धन बस्नेत, पोखरा।
भुकम्पले जीर्ण थियो भवन। वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो। तर अब विद्यालय भवनको मुहार फेरिएको छ। विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन्। शिक्षकलाई पनि आकाश हेरेर पठनपाठन गराउनुपर्ने बाध्यता दीर्घरुपमा हटेको छ।

व्यक्तिविशेषले निर्माण गरेको भवन बनाउन विदेशी र स्थानीयबासिन्दाले सहयोग जुटाए। २०१६ सालमा स्थापित माछापुच्छ«े गाउँपालिकास्थित धम्पुसमा रहेको उदय माविले नयाँ स्वरुप पाउन युकेको पाहार टस्टले दातृ निकायको भूमिका निर्वाह गर्यो। जुन भवनलाई शनिबार मात्रै ट्रस्ट युकेका अध्यक्ष जे हवाई ग्रेनीले विद्यालय व्यवस्थापन समितिलाई उद्घाटनसँगै हस्तान्तरण गर्यो।
ग्रेनीले विद्यालय भवन हस्तान्तरण गर्दै भने– ‘बालबालिकाको गुणस्तरीय शिक्षा प्रदान गर्नेछ भन्ने मैले आशा गरेको छु।’ पठनपाठनका लागि भौतिक पूर्वाधार पहिलो शर्त भएको भन्दै उनले भौतिक पूर्वाधारअनुसार नै अब शिक्षामा गुणस्तरीयता ल्याउनुपर्नेमा जोड दिए।

उदय गुरुङले स्थापना गरेको विद्यालयले उनकै छोरा कमल गुरुङको पहलमा नयाँ आकार पाएको थियो। युकेमा रहेका कमल गुरुङले पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङसँगको सम्पर्कमा दातृ सहयोग जुटेको थियो। पाहार ट्रस्ट युकेले धम्पुसको विद्यालय बनाउन ६४ लाख ३९ हजार ५५४ रुपियाँ सहयोग दियो। स्थानीयले पनि १८ लाख १९ हजा ३८२ रुपियाँ आर्थिक सहयोग जुटाए। संकलित ८२ लाख ५८ हजार ९३६ रुपियाँ सहयोगबाट उदय माविको १० कोठे भवन निर्माण गरिएको विद्यालयको प्रधानाध्यापक धनबहादुर क्षेत्रीले आय व्यय सार्वजनिक गर्दै सुनाए।

स्थानीय भक्तबहादुर गुरुङले पनि आफ्नो बाबुआमाको स्मृतिमा ८ लाख सहयोग गर्दै कक्षकोठामा नाम लेखाए। ‘विद्यार्थीलाई अब जीर्ण भवनमा हुदाँजस्तो त्रासमा पढ्नुपर्ने बाध्यता अब छैन।’ प्रअ क्षेत्रीको भनाइ थियो। उनले थपे– ‘भवनभित्र जिप्सन लगाइएको छ। गर्मीको तातो नहोस् र जाडोमा चिसो नहोस् भन्ने उद्देश्यले जिप्सन राखिएको हो।’ पहिलो तलामा ढलान र दोस्रो तलामा भने ट्रस हालिएको छ। हस्तान्तरण समारोहमा विद्यालय निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, मनकाजी गुरुङलगायतलाई सम्मानित गरिएको थियो।

विद्यालयमा अहिले १५० विद्यार्थी अध्ययनरत छन्। एलकेजी, युकेजी हुँदै १० कक्षासम्म पठनपाठन हुँदै आएको छ। ‘हाम्रो लक्ष्य अब १० जोड २ अध्ययन गराउने हो।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम भण्डारीले भने– ‘हिजो भौतिक पूर्वाधार थिएन। तर अब पूर्वाधारयुक्त भएका छौं। अब विस्तारै उच्च शिक्षाका कक्षा सञ्चालन गर्नेछौं।’

बसाइँसराइले विद्यार्थीको संख्या कम छ। यद्यपि विद्यालयले विद्यार्थीलाई बोर्डिङ स्कुल जानबाट रोक्नुपर्ने चुनौती भएकाले विद्यालयमै अंगे्रजी माध्यमबाट समेत पढाइ शुरू गरिएको अध्यक्ष भण्डारीको भनाइ थियो। विद्यालयमा निजी र दरबन्दी गरी १७ शिक्षकशिक्षिकाले अध्यापन गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्