गाउँ गाउँमा महादान



गाउँघरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लहर चलिहरेका बेला एउटा युवक वैदेसिक रोजगारीका लागि विदेश जाने तयारीमा हुन्छ। निर्वाचनकै दिन उसको विदेश उड्ने टिकट छ। अन्ततः टिकट रद्ध गर्छ। मुलुकमा प्राप्त गणतन्त्र र नयाँ संविधानलाई स्थापित गर्दै मुलुकमै अब केही गर्नुपर्छ भनेर ऊ गाउँ–गाउँमा अबको चुनावमा कसरी मतदान गर्ने भनेर मतदाता शिक्षा दिन अहोरात्र खट्छ।

यस्तै सन्देश बोकेको सडक नाटक महादान यतिबेला मुलुकका विभिन्न स्थानमा मञ्चन भइरहेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्वारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सडक नाटक सञ्चलनमा ल्याइएको हो। आरोहण गुरुकुलसँगको सहकार्यमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजकत्वमा विभिन्न नाट्य टोली अहिले फरक फरक निर्वाचन क्षेत्रमा सडक नाटकमार्फत् निर्वाचन शिक्षा दिन व्यस्त छन्।

यसै क्रममा पूर्वी जिल्ला पाँचथरका विभिन्न गाउँपालिकाका स्थानीय बासिन्दाले मतदाता शिक्षा लिए। हाम्रो थियटर समूहले जिल्लाका विभिन्न स्थानमा सडक नाटक महादान मञ्चन गर्दै निर्वाचन शिक्षा
दिएको हो।

यो समूहले शनिबार पाँचथर कुम्भायक गाउँपालिकाको यासोबजार, मित्राफुङ गाउँपालिकाको रबि बजार, तुम्बेवा गाउँपालिकाको दशमी बजार र फाल्गुनन्द गाउँपालिकाको घुर्विस कचमी बजारमा नाटक प्रदर्शन गरेको छ। यस्तै नाचघरबाट निर्वाचन शिक्षाका लागि रामेछाप पुगेका कलाकारले रामेछापका विभिन्न स्थानमा नाटक मञ्चन गरेको छ। टोलीका प्रमुख रमेश केसी मट्टारेका अनुसार रामेछापको लिखु गाउँपालिकाको धोबी बजार, गोकुल गंगा गाउँपालिकाको रस्नालु बजारमा पनि नाटक प्रदर्शन गरिएको छ।

नाचघरकै कलाकार आकाश थापाको नेतृत्वमा गएको अर्काे टोलीले दोलखाका विभिन्न स्थानमा नाटक प्रदर्शन गरेको छ। टोलीले शनिबार दोलखाको चरिकोट बजार, जिल्ला निर्वाचन कार्यालय चरिकोट, कालिञ्चोक गाउँपालिका सुनखानी बजार र विगु गाउँपालिका सिङटी बजारमा सडक नाटक महादान मञ्चन गरेको छ।

शनिबार नै भिक्टोरिया इन्टरटेन्टमेन्ट प्रालिले पनि मुस्ताङको खासाङ गाउँपालिकाको केवाङमा नाटक प्रदर्शन गर्यो। सपु सांस्कृतिक मञ्चले पनि शनिबार बझाङका विभिन्न गाउँपालिकामा नाटक मञ्चन गरेको छ।

प्रतिक्रिया दिनुहोस्