मायांकाको दोहोरो जित



नेपाल समाचारपत्र
काठमाडौं ।
नेपाल प्रहरीकी मायांका राणाले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय लनटेनिस प्रतियोगिताअन्तर्गत राउन्ड रोविन लिगको महिला सिंगल्समा आइतबार दोहोरो जित हात पारेकी छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–१, ६–४ र एपीएफकी एनी माथेमालाई ६–१, ६–१ ले हराइन्। यस्तै प्रहरीकै माहिका राणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–१, ७–६(२) र एपीएफकी विजिशा श्रेष्ठलाई ६–२, ६–२ ले पन्छाइन्।

पुरुष सिंगल्सको राउन्ड रोविन लिगमा आर्मीका प्रणव खनालले प्रहरीका कमलबहादुर भण्डारीलाई ६–२, ६–१ ले र प्रहरीका दावा शेर्पालाई ६–४, ६–२ ले पन्छाए। यस्तै पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले आर्मीका संरक्षकभूषण वज्राचार्यलाई ६–४, ६–३ र कमललाई ६–१, ६–१ ले हराए।

एपीएफका श्रीराम मगरले एपीएफकै सन्तोष खत्री ६–४, ७–५ र पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–४, ६–१ ले पराजित गरे। तर प्रदीपले प्रहरीका दावालाई ६–४, ४–६, ६–२ र संरक्षकले एपीएफका सन्तोषलाई ६–१, ७–६(५) ले हराएर जित दर्ता गरे।

प्रतिक्रिया दिनुहोस्