निर्वाचनपछि सरकार गठन हुन दुई महिना लाग्ने



नेपाल समाचारपत्र
काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले प्रथम चरणअन्तर्गत आउँदो १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नेपाली कांग्रेस तयारी अवस्थामा रहेको बताउनुभएको छ।

कांग्रेस नेता खाँणले दुवै चरणको निर्वाचन सम्पन्न भएपछि पनि मतगणना र समानुपातिकका प्रतिनिधि चयनमा लाग्ने समयका कारण नयाँ सरकार बन्न २ महिना लाग्ने बताउनुभएको छ। ‘दुवै चरणको निर्वाचनपछि पहिले प्रत्यक्षतर्फको मतगणना हुनेछ, त्यसपछि समानुपातिकको गणना हुनेछ’, उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभा र राष्ट्रियसभासहितको संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत राखिएकाले सो अनुपात मिलाउन निर्वाचन आयोग र राजनीतिक दलहरूलाई लामो समय लाग्ने देखिन्छ।’ निर्वाचन सकिएको झण्डै २ महिनापछि मात्र नयाँ सरकार बन्न सक्छ। त्यस बेलासम्म यही सरकार रहने उहाँको भनाइ थियो।

पार्टीभित्र र अन्य स्वतन्त्र निकायको सूचनाका आधारमा अहिलेसम्म नेपाली कांग्रेसको बहुमत आउने अवस्था रहेको भन्दै उहाँले निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनका सहयोगी दलहरूको सरकार बन्ने दाबी गर्नुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता खाँणले नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रहरू नेपाली कांग्रेसका उम्मेदवारहरूको प्रचारप्रसार उत्कर्षमा रहेको पनि बताउनुभएको थियो। यी जिल्लाहरूमा पार्टीले मतदान केन्द्रमा खटिने प्रतिनिधिहरूको चयन र प्रशिक्षण, मतदाता प्रशिक्षण पनि गरेको उहँको भनाइ थियो।

पत्रकार सम्मेलनमा उहाँले केही दिनयता शृंखलाबद्धरूपमा नेपाली कांग्रेसका शीर्ष तहका र अन्य दलका पनि नेताहरूलाई लक्षित गरी भएका आक्रमणको निन्दा गर्दै भयरहित वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको छ। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचनमा खटिएका कर्मचारीको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै निर्वाचनमा खटिने सुरक्षाकर्मीसहित राष्ट्रसेवक कर्मचारीको सुरक्षाको समुचित प्रबन्ध गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभएको थियो।

यस्तो आक्रमणमा माओवादीले चलाएको द्वन्द्वकालका लडाकू, शिविरमा रहेका तथा प्रशिक्षित भएका तर अयोग्य भनेर बाहिरिएका लडाकूहरूको उपयोग भएको पाइएको कांग्रेस नेता खाँणको भनाइ थियो। आफूलाई कम्युनिस्ट भन्ने समूहका नामबाट यी आक्रमणको जिम्मा लिइएकाले कतै नेपाली कांग्रेस र लोकतन्त्रिक गठबन्धनप्रति आस्थावान मतदातालाई तर्साउन कथित वाम गठबन्धनकै सहमतिमा त यस्ता आक्रमण भएको हैन भन्ने आशंका पनि उब्जएको उहाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्