मतदाता शिक्षा प्रभावहीन, बदर मतको संख्या बढ्न सक्ने



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले कराडौं रुपियाँ खर्च गरे पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको पाइएको छ। मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि आयोगले कात्तिक २५ गते मतदाता कार्यक्रम सञ्चालन गरेको थियो।

जिल्लास्थित सदरमुकाममा मतदाता शिक्षासम्बन्धी एकाध कार्यक्रम गरिए पनि जनतामाझ अहिलेसम्म मतदाता शिक्षा पुग्न सकिरहेको छैन। मंसिर १० गतेको निर्वाचन नजिकिँदै गर्दा विकट पहाडी र हिमाली भेगमा मात्र नभई जिल्लाको सदरमुकाम र त्यस नजिकको गाउँमा समेत मतदाता शिक्षा पुग्न नसकेको विवरण निर्वाचन पर्यवेक्षक संस्थाहरूलाई प्राप्त भएको बताइएको छ।
मतदाता शिक्षा खाली औपचारिकतामा मात्र सीमित भएको जिल्लाहरूबाट सूचना प्राप्त भइरहेको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का महासचिव भवानीप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

विकट पहाडी भेगमा मात्र नभई शहर बजारका मतदातासम्म मतदाता शिक्षा पुग्न नसकेको स्थिति छ। ‘यसपटक कति ठाउँमा स्वस्तिक छाप लगाउने ? मतपत्र कति छन् ? भन्ने विषयमा अन्योल रहेको छ’, ललितपुर ठेचो निवासी विकास माली भन्छन्– ‘यो कुरो त आयोगले टोल–टोलमा कार्यक्रम राखेर जानकारी दिनुपर्ने होइन र ?’

काठमाडौंको तारकेश्वर नगरपालिका साविकको धर्मस्थली गाविसमा मतदाता शिक्षाका लागि स्वयंसेवकहरू पुग्दा स्थानीय मतदाता कोही धान काट्नमा, कोही तरकारी बाली लगाउनमा व्यस्त देखिन्थे। यसले गर्दा स्वयंसेवीहरूले साविकको गाविस भवनमा मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया र ठाउँ–ठाउँमा मतदाता शिक्षासम्बन्धी पोस्टर टाँसेका थिए।

‘यसपटकको निर्वाचनमा मतपत्र कति वटा हुन्छ ? प्रदेश भनेको खास के कुरो हो। एउटै पार्टीका ३ जना उम्मेदवारहरू भोट माग्न आएका छन्’ –गोदावरी नगरपालिका बडिखेलमा सविना नगरकोटीले सुनाउनुभयो। यी काठमाडौं उपत्यका शहरी भाग र काँठ क्षेत्रका मतदाताको प्रतिनिधिमूलक भनाइ हुन्।

स्थानीय तह पहिलो, दोस्रो र तेस्रो निर्वाचन र अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत एक ठाउँमा राखेर हेर्दा मतदाता शिक्षा झन्झन् प्रभावहीन हुँदै गएको पनि नियोगका महासचिव खरेलको भनाइ छ। ‘आयोगले मतदाता शिक्षाका लागि सामाजिक अभियन्ता, संघसंस्थालाई परिचालन गर्न सक्नुपथ्र्याे, तर यसो गरिएन। आयोगले मतदाता शिक्षा दिन केन्द्रीकृत संयन्त्र बनाएको छ’ –महासचिव खरेलले भन्नुभयो।

नमुना मतपत्र, मतदान गर्ने तरिका, चारपटक स्वस्तिक छाप लगाउनुपर्ने जस्ता शिक्षा सामग्री छाप्न र जनशक्ति परिचालनमा करोडौं खर्च गरेर पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको पनि खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि अलगअलग मतपत्र अलगअलग हुनेछ। त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ एउटै मतपत्रमामाथिको खण्ड प्रतिनिधिसभा र तलको खण्डमा प्रदेशसभाका लागि राखिएको छ। अबको निर्वाचनमा प्रत्येक मतदाताले ३ वटा मतपत्रमा ४ वटा स्वस्तिक छाप लगाउनुपर्नेहुन्छ।

मतदाता शिक्षा बढीभन्दा बढी मतदातासम्म पुग्न नसकेकाले एउटा मतपत्र मात्र छाप राखेर, वा माथिको खण्डमा मात्र छाप लगाएर मतदाताहरू फर्किने अवस्था हुन सक्ने आम निर्वाचन पर्यवेक्षक समितिका महासचिव कृष्णमान प्रधानले बताउनुभयो।

‘यसले गर्दा मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्दछ’ –उहाँले भन्नुभयो। मतदाता शिक्षा प्रभावकारी नभएकाले स्थानीय तहको निर्वाचनमा झैं बदर मतको संख्या बढ्न सक्ने पनि निर्वाचन पर्यवेक्षकहरू बताउँछन्। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा झन्डै ११ प्रतिशत मत बदर भएको थियो।

पहिलो चरणको निर्वाचन हुनु १५ दिन अगावैदेखि मतदाता शिक्षाका लागि २० हजार स्वयम्सेवकहरू पठाएको बताउँदै आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले शिक्षा दिने कार्यक्रम अघि बढिरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्