सेना परिचालन हुन सक्ने संकेत



ईश्वरराज ढकाल, काठमाडौं ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन र उम्मेदवार लक्षित स्थल र हवाई गस्तीलाई तीव्रता दिने बताउनुभएको छ। यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउनै लाग्दा उम्मेदवार लक्षित आक्रमण बढ्दै गएपछि सेनाले यस्तो धारणा सार्वजनिक गरेको हो।

रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानसेनापति क्षत्रीले उम्मेदवारको प्रत्यक्ष सुरक्षाको जिम्मा नेपाली सेनाले नलिए पनि परेको बखत अन्तिम शक्तिका रूपमा खटिन तयार रहेको जानकारी दिनुभयो।

‘हामीले आफ्नै सुरक्षा रणनीति बनाएका छौं, सरकारले जारी गरेको एकीकृत सुरक्षा रणनीतिअनुसार सबै सुरक्षा निकाय परिचालित भए पनि नेपाली सेना अन्तिम शक्तिका रूपमा परिचालित हुन्छ’, क्षत्रीले भन्नुभयो– ‘परिस्थिति बाहिर गए, सशक्त ढंगले सेना परिचालन हुनेछ। निर्वाचन हुन नदिने र राजनीतिलाई अस्थिरता पैदा गर्ने जुनसुकै तत्वविरुद्ध सेना परिचालित हुनेछ।’

पछिल्लो घटनाले नेपाली सेनालाई सचेत रहन बाध्य तुल्याएको बताउँदै उहाँले परिस्थितिअनुसार सेना अघि बढ्ने जानकारी दिनुभयो। निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने उल्लेख भए तापनि जनताको आवश्यकताअनुसार आफूहरू अघि बढ्ने उहाँले बताउनुभयो। मतपत्र छपाइ, ढुवानी र मतदातालाई घरबाट मतदान स्थलसम्म ल्याउने जिम्मा पनि नेपाली सेनाको नै भएको उल्लेख गर्दै उहाँले नेपाली सेना जनतासँगै अघि बढ्न तयार रहेको समेत जानकारी दिनुभयो। संविधानसम्मत सुरक्षा सतर्कतामा नेपाली सेना सचेत रहेको बताउँदै उहाँले निर्वाचनमा अप्रिय घटना बढ्न थाले सोहीअनुसार अघि बढ्ने जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनको अभियान शुरू भएयता हालसम्म ३४ स्थानमा अप्रिय घटना भएको जानकारी गराउँदै त्यस्ता घटनालाई निस्तेज पार्न सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘संविधान कार्यान्वयनको अन्तिम चरणमा पुग्न लागेको अवस्थामा केही उच्छृङ्खल तत्वले विभिन्न स्थानमा बम राख्ने र विस्फोट गराउने घटना बढाएका छन्। त्यसलाई सरकारले गम्भीररूपमा हेरेको छ।’

पछिल्लो समयमा विप्लव समूहले देशव्यापी आतंक मच्चाए पनि रक्षामन्त्री प्रधानले कुन समूहले आतंक मच्चाएको हो भन्ने विषयमा बोल्नुभएन।

उहाँले कसले किन बम आक्रमण गर्यो भन्ने विषयमा गृह मन्त्रालयले अध्ययन गर्दै होला, आफू १ जना रक्षामन्त्रीको हंैसियतले यसै भन्न नमिल्ने जिकिर गर्नुभयो।

‘सबै सुरक्षा निकाय गम्भीर रूपमा लागेका छन् यस्ता घटना फेरि दोहोरिन नदिन सरकार संवेदनशील रूपमा अघि बढिरहेको छ’, उहाँले भन्नुभयो– ‘अहिले प्रधानमन्त्री पनि जिल्ला भ्रमणमा जानुभएको छ, उहाँ आएपछि सरकारले गम्भीर रूपमा निर्णय गर्नेछ।’ राजनीतिक असन्तोषका कारण विभिन्न शक्तिले देशका विभिन्न स्थानमा वा आक्रमण गरेको हुन सक्ने धारणा राख्दै उहाँले यस्ता शक्तिलाई निस्तेज पार्नुपर्ने बताउनुभयो।

उम्मेदवार लक्षित बम आक्रमण गर्ने शक्तिले पछिल्लो एक साता झन्डै दर्जनभन्दा बढी स्थानमा बम आक्रमण जारी राखेका छन्। सो समूहले गोरखामा नारायणकाजी श्रेष्ठ, रोल्पामा पूर्वसभामुख ओनसरी घर्ती, वर्षमान पुन र कृष्णबहादुर महरा, दाङमै महरा, नुवाकोटमा रामशरण महत, तनहँुमा रामचन्द्र पौडेल, भोजपुरमा शेरधन राई, राजेन्द्र राई, रौतहतमा सर्वसाधारण लक्षित, ओखलढुंगामा वाम गठबन्धन लक्षित बम आक्रमण भएका छन्। विभिन्न स्थानमा भएको आक्रमणमा परी करिब दुई दर्जन कार्यकर्ता र सर्वसाधारण घाइते भएका छन्।

 

१३ हजार शान्ति सेना जान सक्ने

संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिने नेपाली सेनालगायत अन्य सुरक्षा निकायको संख्या १३ हजार हुन सक्ने रक्षामन्त्री प्रधानले बताउनुभयो।

राष्ट्रसंघको शान्ति मिसनको आयोजनामा ७९ देशका रक्षामन्त्रीको सम्मेलनमा नेपालका तर्फबाट सहभागी रक्षामन्त्री भीमसेनदास प्रधानले सो प्रस्ताव औपचारिकरूपमा राख्नुभएपछि संयुक्त राष्ट्रसंघले प्रतिबद्धता जनाएको हो। रक्षामन्त्री प्रधानले क्यानडामा आयोजित सम्मेलनमा भाग लिँदै राष्ट्र संघीय शान्ति मिसनले आवश्यकता महसुस गरे नेपालले अहिले भइरहेकोभन्दा बढी संख्यामा सेना तथा प्रहरी पठाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

‘हामीले अहिले गइरहेको संख्यामा दोब्बर मात्रै भनेको छैन करिब ९ हजार थप सेना पठाउन सकिने भनेका छांै’, रक्षामन्त्री प्रधानले भन्नुभयो– सन् २०१७ ÷२०१८का लागि नेपाली सेनाको थप पदिक गण, एक इन्जिनियर गुल्म, एक सैनिक प्रहरी गुल्म तथा प्रहरीबाट थप अधिकृत पठाउने बताएका छौं।

हाल शान्ति मिसनमा ४ हजार ६ सय ६५ नेपाली सेना कार्यरत छन भने सशस्त्र तथा नेपाल प्रहरीसमेत गरी करिब ५ हजार जना कार्यरत रहेका छन्। राष्ट्रसंघले नेपालको सो प्रस्तावलाई स्वीकार गरेमा १३ हजार फौज शान्ति मिसनका लागि तैनाथ हुनेछन्। हाल द्वन्द्वग्रस्त १३ देशमा नेपाली सेना तथा प्रहरी शान्ति मिसनका लागि खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्