‘अकल्पनीय हृदयघात’



भगवती तिमिल्सिना, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको अकस्मात् हृदयघात (सडेन कार्डियाक अरेस्ट) भई आइतबार बिहान निधन भएको छ।

सधंै बिहान सबेरै उठ्ने प्रकाश बिहान साढे ५ बजेसम्म पनि नउठेपछि चिया लिएर जाने क्रममा सुरक्षाका लागि खटिएका २ जना सहयोगीले दाहाल सुतेको कोठामा गई हेर्दा अचेत अवस्थामा ओछ्यानमै भेटेपछि पारिवारिक सल्लाहअनुसार नर्भिक अस्पताल पुर्याएका थिए ।

अचेत अवस्थामा आइतबार बिहान ५ः५० बजे दुई सहयोगी र भान्जीका साथमा नर्भिक अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको अस्पताल स्रोतले जनाएको छ। अस्पताल पुग्नासाथ आकस्मिक कक्षका चिकित्सकहरू डा. रवीन्द्रप्रसाद यादव, डा. विमलेश श्रेष्ठ, नर्सिङ स्टाफ एवं स्वास्थ्य प्राविधिकको टोलीद्वारा चिकित्सा जाँच गर्दा उहाँ पूर्णतया बेहोस भइसक्नुभएको, हातगोडाका सबै भाग नीलो र कडा भइसकेको, शरीर पूरै चिसो भएको, श्वास–प्रश्वास पूर्णतया नरहेको, आँखाको नानी पूरै सुन्निएको तथा फुलेको, आँखामा टर्च लाइट पार्दा कुनै प्रतिक्रिया नआएको र ईसीजी गर्दा सोको नतिजामा मुटुको गतिविधि पूर्णतया शून्य पाइएको नर्भिकका कार्डियोलोजिस्ट डा. जेपी जैसवालले जानकारी गराउनुभयो।

उपचारमा संलग्न टोलीको ‘मोनिटरिङ’ गरिरहनुभएका डा. जैसवालसहितको चिकित्सक टोलीले उहाँलाई बिहान ५ः५९ बजे अस्पताल ल्याउनु पहिला नै मृत्यु भइसकेको घोषणा गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

के हो सडेन कार्डियाक अरेस्ट ?
चिकित्सा परिभाषामा सोच्तै नसोचेको अकस्मात् मुटुको चाल बन्द हुनुलाई ‘सडेन कार्डियाक अरेस्ट’ भनिन्छ। यस्तो अवस्थामा तत्काल रगत परिचालन बन्द भई दिमाग बन्द हुनुका साथै शरीरका अन्य अंग रोकिन्छ र मानिसको मृत्यु हुन्छ।

मुटु त्यस्तो महत्वपूर्ण अंग हो जुन मानिसको शरीरमा रगतको मात्रा मिलाएर प्रवाह गर्ने विद्युतीय साधन जस्तै हो।

‘यो नचल्नेबित्तिकै तत्काल केही मिनेटमै उपचार गर्न सके मात्र मानिसलाई बचाउन सकिन्छ नत्र मानिसको मृत्यु हुन्छ। मानिसमा यो समस्याको संकेतका रूपमा मुटुको चाल छिटोछिटो हुने या ढिलो हुने अथवा अनियमित हुने गर्दछ। यसका साथै मुटुको देब्रे भागमा सहनै नसक्ने खालको पीडा हुने, पछाडिको ढाड दुख्ने, दुवै हात चलाउनै नहुने गरी दुख्नेजस्ता संकेत देखा परेमा तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार अपनाएको खण्डमा उपचार गर्न सकिन्छ’ –डा. जैसवालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जाडोको समयमा हृदयाघात हुने बिरामीको संख्या अझै बढ्ने गर्दछ।’

शनिबार राति ८ बजेको समयमा आमा सीता दाहालले जाउलो बनाएर प्रकाशलाई खान दिनुभएको थियो। शुक्रबार बेलुकादेखि नै आफूलाई चुनावको थकानले हो वा ज्वरो आएर हो ज्यान गलेको महशुस भएको बताएका र शनिबार पनि असहजता व्यक्त गरेकै कारण जाउलो बनाएर आमाले खान दिएको पारिवारिक स्रोतले जनाएको छ।

कार्डियोलोजिस्ट डा. जैसवालका अनुसार स्वर्गीय दाहाल अस्पताल पुग्दा हातगोडा पूरै चिसो भइसकेको पल्स, ब्लडप्रेसर, तापक्रम, स्वासप्रस्वास, आँखा पूर्णरूपमा बन्द भई शून्य अवस्थामा रहेको थियो। दाहालको अवस्था हेर्दा अस्पताल पुर्याउनु ३÷४ घण्टाअघि नै मृत्यु भइसकेको अनुमान गर्न सकिन्थ्यो।

अस्पताल ल्याउने समिर श्रेष्ठसहित २ जना सुरक्षाकर्मी अन्य २ जना सहयोगी र १ जना महिला रहेका थिए। डा. जैसवाल प्रचण्ड परिवारको पारिवारिक चिकित्सकसमेत भएको र प्रकाशको एक वर्षअघि स्वास्थ्य परीक्षण गर्दा कुनै खालको समस्या नदेखिएको र प्रचण्ड र सीतामा भने मधुमेहको समस्या रहेको जैसवालले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।

प्रकाशको मृत्युको खबर भाइरलझैं फैलिएलगत्तै नर्भिक अस्पताल बिहानैदेखि नेता, कार्यकर्ता, शुभचिन्तक, सञ्चारकर्मीले खचाखच भरिएको थियो। बिहानैदेखि अस्पतालको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। चुनावी प्रचारका क्रममा झापा पुग्नुभएका प्रचण्ड सेनाको हेलिकोप्टरबाट काठमाडौ फर्किई सिधै श्रीमती सीता दाहाल मूच्र्छा भएको खबरले लाजिम्पाट पुगी सीतालाई सम्हाली उपचारको व्यवस्था मिलाएर मात्र अस्पताल पुग्नुभएको थियो।

सीताको लाजिम्पाटस्थित घरमै नर्भिक अस्पतालका चिकित्सक टोलीको सहयोगमा उपचार भइरहेको छ। उहाँ कहिले मूच्र्छा हुने र कहिले होसमा आउने भइरहेकाले स्लाइन दिएर घरमै उपचार गरिरहेको डा. जैसवालले बताउनुभयो।

उहाँको जेठी छोरीको पनि केही वर्षअघि क्यान्सरका कारण मृत्यु भइसकेको छ। नेता प्रचण्ड र सीताको तीन छोरी र एक छोरा थिए। अस्पतालमा केही समय अन्त्येष्टिका लागि चितवन लाने या पशुपति भन्ने विषयमा नेताका बीच गोप्य छलफलपछि पशुपतिमै गर्ने तय भएको थियो।

प्रतिक्रिया दिनुहोस्