राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जली (फाेटाे फिचर)



काठमाडौँ । पूर्वप्रधानमन्त्री दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशप्रति राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन । माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जलि दिइएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई सुपुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

नेकपा(एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन । प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुगेका थिए ।

पेरिस डाँडा लैजानु अगाडि प्रकाशको निधनको खबर पाएपछि बिहानैदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शुभचिन्तकको भीड लागेको थियो । हृदयाघात भएपछि बिहान पौने ६ बजे नर्भिकमा ल्याइएका प्रकाशको निधनको खबर बिहानै सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकको भीड लागेको थियो ।

अस्पतालले भने निधनको घोषणा मध्याह्न १२ बजेतिर मात्र गरेको थियो । अस्पताल परिसरमा कलाकारदेखि विभिन्न पार्टीका नेता कार्यकताको भीड लागेको थियो । माओवादी केन्द्र, एमाले, काँग्रेसलगायत अन्य दलका नेता पनि प्रकाशको निधनको खबर थाहा पाएर नर्भिक अस्पताल पुगेका थिए ।

माओवादी केन्द्रका नेता भुसाल, वर्षमान पुन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल काँग्रेसका नेता प्रकाशमान सिंह, डा प्रकाशशरण महत, नायक शिव श्रेष्ठ, रेखा थापालगायत निधनको खबरले बिहानै नर्भिक पुगेका थिए । सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए ।  तस्बीरहरूः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया दिनुहोस्