सर्वेन्द्रको राम्रो काम



महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरूपमा ड्रेस लगाउनुपर्ने नियम लगाएको विषय निकै राम्रो हो। विद्यालयस्तरीय युवा विद्यार्थीलाई बिग्रन नदिन विभिन्न किसिमका काम गर्न जरुरी रहेका बेलामा सर्वेन्द्र खनालले यसको शुरुआत गर्नु एकदमै राम्रो कदम भएको बुझिन्छ। लागूऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नसमेत निकै जरुरी छ। यो विषयमा सर्वेन्द्रको ध्यान जाओस् भन्न पनि चाहन्छु।

स्कुल, कलेज पढ्ने विद्यार्थी लागूऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएको विषय सबैले देखेकै कुरा हो। विद्यार्थीलाई सचेत गराउन यस्ता विषयमा चेतनाका कार्यक्रम पनि सञ्चालन हुन जरुरी छ। कतै यात्रा गर्दा सार्वजनिक बसमा बढी भाडा लिएमा, ट्याक्सीले मिटरमा जान नमानेमा, बढी पैसा मागेमा, चालक–खलासीले दुव्र्यवहार गरेमा हटलाइन १०३ शुरू गरिए पनि त्यसबारेमा धेरैलाई थाहा नहुँदा पीडितले गुनासो गर्न नसकेको कुरा सत्य छ।

देशका उत्पादनशील युवा कुलतमा फसेमा देश नै डामाडोल हुने भएकाले विद्यार्थीका सवालमा सबै सचेत बन्न जरुरी छ। आफ्ना छोराछोरीलाई कुलतबाट बचाउनका लागि अभिभावकले छोराछोरीसँग सुमधुर सम्बन्ध राखेर मित्रवत् व्यवहार गर्न जरुरी छ। आफ्ना सन्तानको समस्यालाई साथीले जस्तै बुझेर समाधानमा ध्यान दिएमा बिग्रने डर कम हुन्छ। सर्वेन्द्र खनालले यो विषयमा ध्यान दिएर केही कार्यक्रम गरेमा राम्रो हुन्थ्यो कि !
– ईश्वर खड्का, काठमाडौं

प्रतिक्रिया दिनुहोस्