माथिल्लो तामाकोसीको मुख्य सुरुङ आज ‘बे्रक थु्र’



नेपाल समाचारपत्र, काठमाडौं
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मुख्य र सबैभन्दा अप्ठ्यारो मानिएको सुरुङमार्गको आज ‘ब्रेक थु्र’ गरिँदैछ। कुल ८ दशमलव ३ किलोमिटर रहेको सुरुङको आइतबार ‘बे्रक थु्र’ गर्न लागिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिनुुभयो।

८ दशमलव ३ किलोमिटर लामो प्रमुख सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक निर्माणको प्रगति करिब ९५ प्रतिशतको हाराहारीमा पुग्ने न्यौपानेले बताउनुभयो। यस्तै सहायक तथा अन्य अडिट सुरुङको कुल लम्बाई १८ दशमलव २ किलोमिटर रहेको छ। कडा चट्टान रहेको सुरुङ खन्न तथा सुरुङ ट्रिटमेन्ट र ढुंगा माटो व्यवस्थापनका लागि लामो समय लिएको थियो।

नाकाबन्दी र भूकम्पका कारण समस्या परेको आयोजनाको काम पूरा गर्न थप एक वर्ष लाग्ने प्रवक्ता न्यौपानेले बताउनुभयो। पूर्ण स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन रहेको आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय ५६ मेगावाट रहेको छ। हाल आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको प्रवक्ता न्यौपानेले बताउनुभयो।

मुख्य र अप्ठ्यारो मानिएको भर्टिकल सार्फ टनेल ब्रेक थु्र गरेको आयोजनाले सुरुङको काम सक्ने बित्तिकै बाँधको काम पनि सम्पन्न हुने जनाएको छ। हाल आयोजनाको विद्यृत् गृह निर्माण तथा अन्य भौतिक काम पनि निर्माणको अन्तिम चरणमा रहेको छ। इलेक्ट्रोमेकानिकल क्षेत्रमा प्रयोग हुने सामग्री पनि आयोजनास्थलमा पु¥याउने काम भइरहेको छ।

कुल ३५ अर्ब ३० करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब रुपियाँ, नेपाल टेलिकमको ६ अर्ब रुपियाँ, नागरिक लगानी कोषको २ अर्ब रुपियाँ र राष्ट्रिय बीमा संस्थानको २ अर्ब रुपियाँ लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्