हस्तकला मेलामा दुई दिनमै करोडको कारोबार



नेपाल समाचारपत्र, काठमाडौं
वाणिज्य मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्वारा आयोजित भइरहेको १५औं हस्तकला व्यापार मेला तथा १३औं हस्तकला प्रतियोगिताको आज दोस्रो दिन करिब २५ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन्। मेलामा करिब १ करोड बराबरको आर्थिक कारोबार भएको छ।

मेलामा १० वटा पेभिलियनसहित १८० वटा स्टलहरू रहेका छन्। अन्तर्राष्ट्रिय क्षेत्रबाट बंगलादेश, भुटान, पाकिस्तान र चीनका प्रदर्शनकर्ताले भाग लिई रहेका छन् भने मेलाको दोस्रो दिन बीटुबी बैठकमा चीन, जापान, अमेरिका, जर्मन, पाकिस्तान, भुटान, भारतका आयातकर्ताको सहभागिता रहेको छ।

त्यसैगरी गरिबी निवारण कोषको सहयोगमा नेपाल हस्तकला महासंघ र नेपाल सम्पदा संघ, जेभी पार्टनर ‘मेकिङ मार्केट अफ कन्फिलिट इफेक्ट इन नेपाल’ परियोजना अन्तर्गत ७ जिल्लामा १५ दिने हस्तकलाका वस्तु डिजाइन तथा उत्पादन प्रशिक्षणमा दाङको माटोका भाँडा र अल्लो वस्तु सम्बन्धी प्रशिक्षण, दैलेखमा छाला वस्तु बनाउने प्रशिक्षण, गोरखामा फेल्टसम्बन्धी, कपिलबस्तुमा सिक्की र म्यग्दीमा ऊनी वस्तु उत्पादन प्रशिक्षण तथा धनुषामा मिथिला आर्ट सम्बन्धी प्रशिक्षण सञ्चालन भएको थियो।

उक्त प्रशिक्षणमा प्रशिक्षार्थीबाट तयार गरिएको सामग्री तथा उत्पादित वस्तुको व्यावसायिक सम्भावनाका बारेमा क्रेता तथा बिक्रेता निर्यातकर्ता समूहसंँग सम्बन्ध विस्तार तथा बजार प्रवद्र्धनका साथै सम्भाव्य मागसमेत सिर्जना गर्ने उद्देश्यले क्राफ्ट शो आयोजना गरियो।

प्रतिक्रिया दिनुहोस्