निर्यात ७ प्रतिशतले घट्यो, तीन महिना साढे २ खर्ब रुपियाँ व्यापारघाटा



नेपाल समाचारपत्र, काठमाडौं
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। हरेक वर्ष आयात निरन्तर बढे पनि निर्यात भने खुम्चिँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको योगदान ७ दशमलव ७४ प्रतिशतले घटेको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनमा मात्र व्यापारघाटा २ खर्ब ३४ अर्ब ७५ करोड रुपियाँ नाघेको छ। भन्सार विभागको तथ्यांकअनुसार पहिलो त्रैमासिकमा २ खर्ब ८० अर्ब ६६ करोड ४ लाख रुपियाँ बराबरको कुल वैदेशिक व्यापार गरेको मुलुकले २ खर्ब ३४ अर्ब रुपियाँभन्दा बढी व्यापारघाटा व्यहोरेको छ।

उक्त अवधिमा कुल २ खर्ब ६० अर्ब २० करोड ५२ लाख ५७ हजार रुपियाँ बराबरको आयात गर्दा २० अर्ब ४५ करोड ५१ लाख ६३ हजार रुपियाँ बराबरमात्र वस्तु तथा सेवा निर्यात गरेको छ। जुन परिमाण गत वर्षको सोही अवधिसम्म भएकोे आयातको तुलनामा १७ दशमलव ९५ प्रतिशत र निर्यातको तुलनामा ८ दशमलव २० प्रतिशतले बढी हो।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौ असोज मसान्तसम्ममा भएको कुल वैदेशिक व्यापारमा निर्यातभन्दा आयातको अनुपात १२ दशमलव ७२ प्रतिशतले बढी छ। कुल निर्यातको अनुपातका आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढेको देखिन्छ।

तथ्यांकअनुसार तीन महिनामा कुल वैदेशिक व्यापारमा ९२ दशमलव ७ प्रतिशत आयात र ७ दशमलव ३ प्रतिशत मात्र निर्यातको योगदान रहेकोे छ। गत आर्थिक वर्ष सोही अवधिमा उक्त अनुपात क्रमशः ९२ दशमलव १ र ७ दशमलव ९ प्रतिशत रहेको थियो।

भारतसँग मात्रै डेढ खर्ब व्यापारघाटा
नेपालले तीन महिनामा गरेको कुल वैदेशिक व्यापारमा ६३ दशमलव ६७ प्रतिशत व्यापार छिमेकी मुलुक भारतसँग मात्र गरेको छ।
यस अवधिमा मुलुकले व्यहोरेको व्यापारघाटा १ खर्ब ५६ अर्ब ८० करोड रुपियाँभन्दा बढी देखिन्छ। कुल १ खर्ब ७८ अर्ब ७० करोड ७१ लाख रुपियाँ बराबरको व्यापारमा नेपालले १० अर्ब ९५ करोड रुपियाँ बराबरको मात्र निर्यात गरेको छ। सोही अवधिमा कुल आयातमा भारतबाट आयातित वस्तु तथा सेवाको हिस्सा ६४ दशमलव ५ प्रतिशत छ।

निर्याततर्फ भने ५३ दशमलव ६ प्रतिशत रहेको छ।
त्यस्तै नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने मुलुक चीनसँग ३६ अर्ब ३ करोड १० लाख ७८ हजार रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको छ। तीन महिनामा ३६ अर्ब ५२ करोड ४१ लाख ५७ हजार रुपियाँ बराबरको आयात गर्दा ४० करोड ३० लाख ७९ हजार रुपियाँ बराबरको निर्यात गरेको छ। यस अवधिमा अर्जेन्टिना नेपालले गर्ने वैदेशिक व्यापारमा तेस्रो ठूलो मुलुक बनेको छ। अर्जेन्टिनाबाट ३ अर्ब ५८ करोड ४५ लाख १६ हजार रुपियाँ बराबरको आयात भए पनि निर्यात भने शून्य देखिन्छ।

कुल निर्यातभन्दा इन्धनको आयात बढी
मुलुकले २० अर्ब ४५ करोड रुपियाँ बराबरको निर्यात गर्दा इन्धन तथा पेट्रोलियम पदार्थको आयात भने ३२ अर्ब ३० करोड रुपियाँ रहेको छ। तीन महिनामा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरू मुख्य रहेका छन्। त्यस्तै हस्तकलाका सामानहरू, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ।

आयातित वस्तुमा फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ। नेपालको आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ।

यसै गरी नेपालको आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन्। अर्को प्रमख आयातको स्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लास्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्