विन्ध्यवासिनी सम्मान तथा सांगीतिक साँझ दीप श्रेष्ठ ५० हजारसहित सम्मानित



रश्मी थापा

एउटा सांगीतिक साँझ, तर फरक। सांगीतिक अवार्डसँग जोडिएका कारण अवार्ड समारोहजस्तै। प्रसंग हो विन्ध्यवासिनी फाउन्डेसनद्वारा शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा चमकधमकका साथ भव्य रूपमा आयोजित विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ २०७४ तथा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ मनोनयन सार्वजनिक कार्यक्रमको।
आगामी पुष १५ गते फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने आठौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डअन्र्तगतको ३२ विधाको उत्कृष्ट ५÷५ मनोयन सार्वजनिक गरिएको कार्यक्रम अवार्ड समारोहभन्दा कम लाग्दैन थियो। यस्तो लाग्थ्यो अवार्ड वितरण गर्न मात्र बाँकी छ, अन्यथा अवार्ड समारोह नै हो। अवार्डमा यसपटकबाट प्रवासमा बसेर गीतसंगीत गर्नेका लागि विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मानसमेत थपिएको छ।
कार्यक्रममा ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठ विन्ध्यवासिनी संगीत साधना सम्मानबाट सम्मानित भएका छन्। कार्यक्रममा गायक तथा संगीतकार श्रेष्ठलाई फाउन्डेसनका सल्लाहकारहरु किरण खरेल, प्रेमध्वज प्रधान, दिनेश अधिकारी, दीपक जंगम, शक्ति बल्लभ, मुक्तिनाथ विकास बैंकका सीईओ भरत ढकाल र गीतकार रत्नशमशेर थापाले ५० हजार १ रुपियाँसहित सम्मान गरेका थिए। सो अवसरमा नयाँ पुस्ताका गायक अजर जंगमले लाइभ म्युजिकका साथ गायक श्रेष्ठको सम्मानमा उनीद्वारा नै गाइए कालजयी गीतहरु गाएर माहौल तताएका थिए।
सोही अवसरमा ९ गीतसंगीत पत्रकारलाई जनही नगद ५ हजार रुपियाँसहित विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता सम्मानबाट सम्मानित गरियो। उक्त अवसरमा विष्णुप्रसाद गौतम, ध्रुव लम्साल, अमरध्वज लामा, प्रतिमा श्रेष्ठ, अनुपा श्रेष्ठ, रीता लिम्बू, मधु शाही, विजय नेपाल र जीवन पराजुलीलाई यस वर्षको विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो। नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी, पत्रकार सुमन खरेल र फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले पत्रकारहरुलाई सम्मान गरेका थिए।

त्यसै गरी फाउन्डेसनका १३ जना नयाँ आजीवन सदस्यलाई समेत कार्यक्रममा सम्मान गरिएको थियोे। सम्मानित हुनेहरुमा धनबहादुर थापा मगर, कृष्ण थापा मगर, टीमाया राई, कमल सौराग, ध्रुवप्रसाद अमगाईं, सावित्रा सिलवाल, टीएन रेग्मी, सञ्जय फ्राउन फिल्डर, देवेन्द्र क्षत्री, रेखा पौडेल, युवराज मगर, राजेश थापा र सुशिला रेग्मी पोखरेल रहेका छन्। त्यस्तै मृगौलाले काम नगरेका कारण जीवन र मृत्यसँग जुधिरहेका गायक तथा संगीतकार पूर्ण गुरुङलाई फाउन्डेसनका तर्पmबाट उपचार सहयोगस्वरूप ५० हजार रुपियाँ प्रदान गरियो।

कार्यक्रममा रमेशराज भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनार गई बोलको गीत गाएर दर्शक उचाले भने प्रेमप्रकाश वली गायिका ज्योती मगरले पनि उत्तेजक प्रस्तुतिका साथ मञ्च तताइन्। त्यसै गरी प्रेमप्रकाश वली र बादल थापाले पनि गीतसंगीत प्रस्तुत गरी मनोरञ्जन दिलाए।

सञ्चारकर्मी तथा अभिनेता दिनेश डीसीले रमाइलो प्रस्तुतिका साथ सञ्चालन गरेको कार्यक्रममा श्वेतना योञ्जन, शर्मिला कोइराला, रश्मी तामाङ, अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाए भने शिव विक र अपेक्षा वस्यालले युगल नृत्य प्रस्तुत गरी दर्शकको मन जिते। हास्य कलाकार आशिष ठकुरीले विभिन्न क्यारिकेचर गरी दर्शक हसाए।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले फाउन्डेसनले सधैं गीतसंगीतको हितका लागि कार्यक्रम गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्