एपीएफमाथि आर्मीको कठिन जीत



बिर्तामोड, (नेस)
झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा शनिबार त्रिभुवन आर्मी क्लबले एपीएफमाथि कठिन जीत निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

एपीएफमाथि कठिन जीतमा ३–२ गोलको स्कोर निकालेपछि पहिलो सेमिफाइनल खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी रमपम झापा ११ लाई स्पर्धी पाएको छ। आर्मी र झापाको खेल सोमबार हुनेछ। एपीएफसँगको खेलमा आर्मीका लागि जर्ज प्रिन्स कार्की, सुमन अर्याल र दिप लामाले गोल गरे।

एपीएफका अन्जन विष्ट र श्याम नेपालीले आर्मीविरुद्ध गोल गरे पनि जीत निस्कन सकेन। पहिलो हाफ एपीएफको पक्षमा थियो। २–१ को स्थितिलाई उल्टाउँदै आर्मीले बाजी मारेको हो। पहिलो गोल एपीएफका अञ्जन विष्टले खेलको २५औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। अन्जनमाथि आर्मीका विमल पाण्डेले फाउल गरेका थिए।

तर, आर्मीका जर्ज प्रिन्स कार्कीले ३२औँ मिनेटमा पाएको फ्रिकिकमा सुन्दर प्रहार गर्दै एपीएफको जाली चुमाएपछि खेलमा फर्किएको हो। १–१ गोलको बराबरी खेल्दा एपीएफका श्याम नेपालीले खेलको ३९औँ मिनेटमा अग्रता दोब्बर बनाए। नविन लामाले मिलाइदिएको पासलाई दोस्रो बार च्याँप्दै सदुपयोग गर्दा श्यामले अग्रता कायम गरे तर नतिजा आर्मीका पक्षमा गयो।

दोस्रो हाफमा आक्रामक बनेको आर्मीका लागि सुमन अर्यालले ५५औँ मिनेटमा गोल गरे। विवेक बस्नेतले दिएको बललाई जर्ज प्रिन्स कार्कीले सुमनलाई पास मिलाइदिएका थिए। सुमनले डिप्mलेक्ट बललाई ट्यापिङ गर्दै गोलपोस्टको दिशा दिएका हुन्।

त्यस्तै जर्ज प्रिन्सकै पासमा दिप लामाले निर्णायक गोल गरे। कप्तान भरत खवासले जर्ज प्रिन्सलाई दिएको बल प्रिन्सले पाएपछि दिप लामाले चिप गर्दै खेलको ६७औँ मिनेटमा गोल गरे। एक गोलसहित दुई वटा गोलमा पास मिलाइदिएका जर्ज प्रिन्स म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाउन सफल भए।

प्रतिक्रिया दिनुहोस्