कम्युनिस्टलाई भोट दिए विकास अवरुद्ध ः पौडेल



नेपाल समाचारपत्र
बेंसीशहर, लमजुङ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टले आजसम्म समस्या मात्र सिर्जना गरेको र उनीहरूलाई भोट दिए देशको विकास नै अवरुद्ध हुने कुरा बताउनुभएको छ। नेपाली कांग्रेस, लमजुङको आयोजनामा शनिबार बेंसीशहरमा भएको बृहत् आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो।

‘कम्युनिस्टहरू समस्या मात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्’, नेता पौडेलले भन्नुभयो– ‘कांग्रेसले मात्र समस्याको सही समाधान गर्दछ, विकासलाई गति दिन्छ।’ उहाँले नेपाली कांग्रेसकै कारण नेपाली जनताले लोकतन्त्रको उपभोग गर्न पाएको पनि उल्लेख गर्नुभयो। उहाँले निरंकुश जहानियाँ राणाशासन, पञ्चायती तानाशाहीलाई समाप्त पारेर जनतालाई अधिकारसम्पन्न बनाउनेदेखि मुलुकमा देखा परेको हिंसात्मक जनयुद्ध र मधेस आन्दोलनको समाधानसमेत कांग्रेसको अग्रसरतामा भएको यथार्थ बताउनुभयो।

नेता पौडेलले कम्युनिस्टले वीपी कोइरालाको सरकारलाई मात्र होइन, २०४६ सालको जनआन्दोलनपछि बनेको पहिलो निर्वाचित सरकारदेखि हालसम्म पनि झिनामसिना निहुँ खोजेर राजनीतिक अस्थिरता निम्त्याएर विकासको गति रोकेको आरोप लगाउनुभयो। उहाँले नेपाली कांग्रेसको अग्रसरतामा भएको २०६२÷६३ सालको जनआन्दोलनको मर्मअनुरुप बनेको संविधानको मूल मर्ममाथि नै प्रहार हुने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्था ल्याउने कम्युनिस्ट गठबन्धनको बोलीले देशलाई पुनः अस्थिरतामा लैजाने दाबी पनि गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताउनुभयो। उहाँले पक्की र कच्ची सडक निर्माण, सिँचाई सुविधा, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, उद्योग धन्दा र रोजगारी सिर्जनाका क्षेत्रमा नेपाली कांग्रेसको सरकारले ठूलो परिर्वतन ल्याएको पनि उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्