मतपेटिकाको सुरक्षा उम्मेदवार र कार्यकर्ताले गर्ने



काठमाडौं, (नेस)
नेकपा एमालेले आफ्ना उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको आँखाबाट ओझेल पर्ने गरी मतपेटिका राख्न नसकिने बटमलाइन सुनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको उम्मेदवार, उनका प्रतिनिधि र कार्यकर्ताको घेराभन्दा बाहिर मतपेटिका राख्न नदिने बटमलाइन सुनाउनुभएको हो।

निर्वाचन आयोगसँग पर्याप्त सुरक्षा ब्यवस्था मिलाएर मतपेटिकाको सुरक्षा गर्ने सहमति भइसकेको छ। पछिल्लो समय सरकारले सुरक्षा निकायको जिम्मा लगाएर बैधानिक धाँधली गर्ने योजना बनाइरहेको सूचना पाएपछि एमालेले उम्मेदवार र उसका प्रतिनिधिको निगरानी भन्दा बाहिर मतपेटिका राख्न नसकिने प्रस्ट पारेको हो।

‘मतदान सकिएपछि मत रहेको बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुराहरूलाई हामी स्वीकार गर्दैनौं, त्यो कुरा अहिलेदेखि हामी स्पष्ट गर्न चाहन्छौं’ –एमाले अध्यक्ष ओलीले भन्नुभयो। उहाँले मतपेटिकाको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने प्रस्ट अडान राख्नुभयो। ‘सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरिवर्तनीय मान्यता छ, हाम्रो उम्मेदवार, हाम्रो उम्मेदवारको प्रतिनिधिको आँखा ओझेल पर्ने गरी या उसको सहमतिबेगर कसैले उठाउने, कतै राख्छु भन्ने कुरा गर्न मिल्दैन’ –ओलीको भनाइ छ। उहाँले मतपेटिकाको सुरक्षालाई आफूहरूले विशेष ध्यान दिएको पनि बताउनु भयो।

सरकारले मतपेटिकालाई लक्षित गरी केही समयअघि मात्रै ५ सयभन्दा बढी प्रहरी निरीक्षक सरुवा गरेको थियो। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता अघि बढ्नुका साथै अन्य बामपन्थी दलसमेत गठबन्धनमा सामेल भएपछि निर्वाचन हारिन्छ भन्ने निष्कर्षमा पुगी मतपेटिका हेरफेर गरेर चुनाव जित्ने सरकारको योजना रहेको सूचनाका आधारमा एमाले अध्यक्ष ओलीले बाकसको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने बटमलाइन सुनाउनुभएको हो।

एमाले ओलीले सरकारको पछिल्लो काम देश र स्थापित अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै लगाम लगाउन प्रधानमन्त्रीलाई सचेत गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्