कांग्रेस किन आत्तियो ?



रामकृष्ण चापागाईं, काठमाडौं

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात् हरेक निर्वाचनलाई सहजताका साथ सामना गर्दै आएको नेपाली कांग्रेसले नयाँ संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ लाई भने ठूलो संकट र चुनौतीका रूपमा लिएको छ।

नेपालका प्रमुख वामघटक नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने लक्ष्यका साथ चुनावमा तालमेल गरेपछि कांग्रेसले अहिलेसम्मकै ठूलो संकट महसुस गरेको हो। तराईमा मधेसवादी दल र पहाडमा एमाले–माओवादीको चेपुवामा परेको कांग्रेसले खास गरी वाम गठबन्धनको विरोध गर्दै केन्द्रदेखि गाउँ तहसम्म चुनाव प्रचारप्रसारलाई आक्रामक ढंगले अगाडि बढाइरहेको छ।

यसअघिका निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि अहिले तराई क्षेत्रबाहेक अन्यमा दुईपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। दुईपक्षीय प्रतिस्पर्धामा पनि वाम गठबन्धन बलियो भएकाले कांग्रेसलाई यो निर्वाचन जित्नु फलामको चिउरा चपाउनुजस्तै भएको छ। त्रिपक्षीय प्रतिस्पर्धामा कांग्रेसलाई चुनाव जित्न जति सजिलो हुन्थ्यो, अहिले दुई ध्रुवमा बाँडिएपछि चुनाव जित्न त्यति सजिलो छैन। यद्यपि कांग्रेसले आफ्नो एजेन्डा आम मतदाताको घरदैलोमा पुर्याउँदै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएसँगै आफ्नो पक्षमा माहोल सृजना गरिरहेको छ।

कांग्रेसको आन्तरिक आकलनअनुसार माओवादीका उम्मेदवार भएको ठाउँमा कांग्रेस बलियो छ भने एमालेका उम्मेदवार भएको ठाउँमा चुनाव जित्न अझ धेरै मेहनत गर्नुपर्नेछ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १ सय ६५ क्षेत्रमध्ये १ सय ५४ क्षेत्रमा कांग्रेसका उम्मेदवार छन्। बाँकी सिटमा राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलसँग सहकार्य गरिएको छ।

प्रदेशसभातर्फ पनि कांग्रेसले कुल ३ सय ३० मध्ये ३ सय १० क्षेत्रमा एक्लै उम्मेदवारी दिएको छ। यो निर्वाचनलाई अहिलेसम्मकै ठूलो संकट महसुस गरिरहेको कांग्रेसले आफ्नो संयन्त्रमार्फत् गाउँ टोल तहबाटै रिपोर्ट लिएर जितहारको लेखाजोखा पनि गरिरहेको छ। पछिल्लो रिपोर्टअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फ ५५ क्षेत्रमा जित सुनिश्चित भएको र २० क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान गरेको छ। प्रदेशसभातर्फ भने कांग्रेसले प्रतिनिधिसभाको भन्दा राम्रो नतिजा आउने र समानुपातिकतर्फ अझ राम्रो हुने अनुमान गरेको छ।

नजिकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्थानीय तहको मत परिणाम र वाम गठबन्धनको चुनावी तालमेलले नेपाली कांग्रेस संकटमा परेको बारे कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँण भन्नुहुन्छ– ‘कांग्रेस संकटमा परेको छैन, कांग्रेसले यो निर्वाचनमा बहुमत ल्याउँछ।’ एमाले र माओवादीले सबै क्षेत्रमा उम्मेदवार नै उठाउन नसकेको भन्दै नेता खाँणले ६० प्रतिशत मात्र उम्मेदवार हुने एमालेले बहुमतको धाक लगाउनु हाँस्यास्पद भएको बताउनुहुन्छ। एमाले र माओवादीका उम्मेदवार सबै क्षेत्रमा नभएका कारण समानुपातिकतर्फ कांग्रेसको
अझ बढी मत आउने उहाँको दाबी थियो।

वाम गठबन्धन प्रतिस्पर्धी पार्टी हुने भन्दै कांग्रेसले यो चुनावलाई साम्यवादको प्रयोगशाला बनाउने कि लोकतन्त्रलाई बचाउने भन्नेबारेको जनमत संग्रह भएको भन्दै मतदातालाई मनाउने प्रयास गरिरहेको छ। कांग्रेसको बहुमत नआए निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले मुलुकलाई निरंकुशतातर्फ लैजाने भन्दै मतदातालाई सजक हुन पनि आग्रह गरेको छ। ‘पहिला त्रिपक्षीय प्रतिस्पर्धा हुँदा एमाले र माओवादी मिलेर सरकार बनाए पनि त्यो कुनै पनि बेला ढल्न सक्थ्यो र विकल्पमा कांग्रेस छ भन्ने हुन्थ्यो’, कांग्रेसका एक नेता भन्छन्– ‘अब त्यो सम्भावना छैन।’ यो कुरा कांग्रेस कार्यकर्ताले राम्रोसँग बुझे पनि मतदातालाई बुझाउन बाँकी रहेको उहाँको भनाइ थियो।

कांग्रेसले आफ्नो घोषणापत्रमा समेत एमाले र माओवादीको कडा आलोचना गरेको छ। संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती कायमै रहेको भन्दै कांग्रेसले नेकपा एमालेले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीति दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको आरोप लगाएको छ। पार्टीगत र गुटगत राजनीतिक भागबण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखाएको आरोप पनि कांग्रेसले लगाएको छ।

सत्तामा रहुन्जेल नेकपा एमालेले संविधान संशोधनद्वारा संविधानसम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत सहजै समर्थन नगरेको भन्दै एमालेको अतिवादी राजनीतिक अडानले तराई–मधेसको आन्दोलन झनै चर्को बन्दै गएको जनाएको छ। एमालेको राजनीतिक असहिष्णुताले संविधान निर्माणको प्रक्रियालाई आन्दोलनको सीमासम्म धकेले पनि नेपाली कांग्रेसले मध्यस्थता गर्दै एमाले र माओवादी दुवैलाई संविधान निर्माणको काममा एक ठाउँमा राख्न सकेको दाबी गरेको छ।

देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला माओवादी केन्द्रले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको कांग्रेसले आरोप लगाएको छ। माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो माओवादी केन्द्रभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको भन्दै कांग्रेसले माओवादी केन्द्रको यो ढुलमुले प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको जनाएको छ। माओवादीको यो ढुलमुले चरित्रका कारण सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको कांग्रेसको आरोप छ।

आगामी निर्वाचनमा मधेस केन्द्रित दलसमेत चेपुवामा परेको कांग्रेसले मधेसकेन्द्रित दलहरूले मधेसका जनतालाई सधैं निर्मम आन्दोलन र क्षतिमा होमेर राजनीतिक संवाद र सहमतिलाई कहिल्यै परिणाममुखी बन्न नदिएको जनाएको छ। साथै आन्दोलनलाई सामाजिक सद्भाव बिग्रने सीमासम्म फैलिन दिएर मधेसकेन्द्रित दलहरूले मधेसमा अतिवादी सोच र प्रवृत्तिलाई
बल पुर्याएर गम्भीर गल्ती गरिरहेको आरोप पनि कांग्रेसले लगाएको छ।

प्रतिक्रिया दिनुहोस्