सुरक्षा चुनौती बढ्यो, राज्य निरीह बन्दै



मधुसूदन रायमाझी, काठमाडौं ।
निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको छ। दैनिक रूपमा बम विस्फोटका घटना बढेपछि निर्वाचन प्रचारप्रसारको अभियानमा हिँडेका उम्मेदवाहरू सशंकित भएका छन्।

वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको छ। ओखलढुंगा, तनहुँ, रौतहटलगायतका स्थानमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले बम विस्फोट गराएको छ।

ओखलढुंगामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापालाई लक्षित गरेर बम विस्फोट गराइएको थियो। तर गाडीमा मात्र सामान्य क्षति भएको थियो। रौतहटमा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा बम विस्फोट गराउँदा आठ जना घाइते भएका छन्। त्यसै गरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा पनि बम प्रहार भएको छ।

तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका–१० स्थित नेपाल डाँडामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको थियो। बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ। वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार गरिएको थियो। लमजुङको जिल्ला सदरमुकाम बेंसीशहरमा बम फेला परेको छ।

बेंसीशहर नपा–८ प्रशासन चोकस्थित जिल्ला अस्पताल गेट नजिकै किट्ली बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फोहोर राखिएको भाँडामा स्थानीयबासीले शंकास्पद वस्तु फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। सो वस्तु किट्ली बम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले बताउनुभएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार १०ः३० बजे बम डिस्पोज गरेको छ।

पहिलो चरणको निर्वाचनको मिति आउन ७ दिन मात्र बाँकी रहँदा देशका विभिन्न स्थानमा बम विस्फोट गराउने शृंखला बढेको छ। जसको कारणले उम्मेदवार मात्र होइनन्, मतदातासमेत सशंकित भएका छन्।

यसै गरी शनिबारै भोजपुरको षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको छ। षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखिएको टाइम बम हटाउने क्रममा भिडन्त भएको हो। टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो। सो बम पड्किँदा छर्रा लागेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी जवान देवनारायण चौधरी छन्।

साल्पासिलिछो गाउँपालिकाको कुलुङमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ। वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेश (क) का उम्मेदवार राजेन्द्रकुमार राईको चुनावी सभास्थलनजिकै बम पड्किएपछि सभा तितरबितर भएको थियो। विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

वाम गठबन्धनले सरकारले निर्वाचनमा सुरक्षा दिन नसकेको आरोप लगाएको छ। देशभर शृंखलावद्धरूपमा ज्यान नै जाने गरी घटना घटाउँदा समेत सुरक्षा व्यवस्था मजबुत बनाउन नसकेको आरोप वाम गठबन्धनले लगाएको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शृंखलावद्ध रूपमा बम विस्फोट गराउँदा सरकारले निर्वाचनका लागि शान्ति सुरक्षा प्रदान गर्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचनका लागि सरकारले ढुक्क हुने वातावरण सिर्जना गर्नुपर्छ, त्रास फैलाउने, बम विस्फोट गराउने समूहलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नुपर्छ।’

प्रहरीले बम विस्फोटका घटनामा संलग्न विप्लव नेतृत्वको मााओवादीका २ सयभन्दा बढी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। विप्लवका कार्यकर्ता पक्राउ परे पनि शृंखलाबद्ध बम विस्फोटका घटना बढ्दै गएको छ।

नेपाल कम्युनिस्ट पार्टीका नेता प्रकाश शाहीले आफ्नो पार्टीले दल केन्द्रित गरेर बम प्रहार नगरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘हाम्रा कार्यकर्ताहरूलाई बिनाकारण हिरासतमा राख्ने काम गरेको छ, हामीले संसदीय व्यवस्थाको विरोध गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्