पृथ्वीजस्तै आकार र तापक्रम मिल्ने ग्रह भेटियो, एलियन जीवन रहेको विश्वास



काठमाडाैं। तारामण्डलमा एलियन (मानवजस्तै अन्य ग्रहको प्राणी)को जीवन रहेको आशंका गरिँदै आए पनि यसबारे थप रोचक तथ्य पत्ता लगाएको वैज्ञानिकहरुले दाबी गरेका छन् । हाम्रो सौर्यप्रणालीबाट मात्र ११ प्रकाश वर्ष टाढा पृथ्वीकै आकार र तापक्रम मिल्नेखालको नयाँ ग्रह वैज्ञानिकहरुले पत्ता लगाएका छन् । भर्खरै सार्वजनिक नयाँ अध्ययनले सतहको तापक्रम र उस्तै आकारको ग्रह भेटिएकोले त्यहाँ सम्भावित एलियन जीवनको आशंका गरिएको हो । नयाँ पत्ता लागेको संसारलाई रोस१२८बी नाम दिइएको छ । ११ प्रकाश वर्षमात्रै टाढा यो ग्रहले एउटा रेड ड्वार्फ तारालाई परिक्रमा गर्छ । आधुनिक प्रविधिअनुसार यो ग्रहसम्म पुग्न करिब एक लाख ४१ हजार वर्ष लाग्छ । यद्यपि उक्त ग्रह पृथ्वीकै नजिक नजिक आइरहेको बताइएको छ । अबको ७९ हजार वर्षमा  आँखाले देख्न सकिने स्थानमा आइपुग्ने अनुमान गरिएको छ । खगोलविद्हरुले युरोपियन साउदर्न अब्जर्भेटरीको चिलीमा रहेको हाइ एक्युरेसी र्याडिकल भेलोसिटी प्लानेट सर्चर (एचएआरपीएस)मा उक्त ग्रहले हरेक ९.९ दिनमा रातो ड्वार्फ (सानो) तारालाई परिक्रमा गरिरहेको पत्ता लगाएका हुन् । उक्त ग्रहको नाम ग्रह पत्ता लगाउने क्यालिफोर्नियाका खगोलविद्  फ्रान्क एल्मोर रोसको नामबाट जुराइएको हो । पृथ्वीकै समान आकारको उक्त ग्रहको तापक्रम पनि पृथ्वीकै जस्तो सहनशील हुनसक्ने खगोलविद्हरुको भनाइ छ । रोस १२८ ग्रहलाई पृथ्वीको नजिक रहेको हाम्रो सौर्यप्रणाली बाहिरको जीवनअनुकूल ग्रह मानिएको छ । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ जेनेभाका को–अथर डा. निकोला अस्तुडिलोका अनुसार उक्त अन्वेषण एचएआरपीएसको दशकौँ लामो अनुसन्धानपछि सफल भएको हो । उक्त अन्वेषण थालेको १५ वर्षपछि यस्तो उपलब्धि हात परेको मानिएको छ । उक्त रातो सानो तारालाई चिसो, चम्किलो र ब्रह्माण्डकै अनुकूल ग्रह मानिएको छ । खगोलविद्हरु अन्य ग्रहमा प्राणी अस्तित्वको खोजीमा जुटिरहेका छन् । फ्रान्सको युनिभर्सिटी ग्रेनोबलका अथर डा. जाभियर बोनिफिल्सले एचएआरपीए कार्यक्रमलाई द शर्टकट टु ह्यापिनेस  दिएका छन् । यसको काम भनेकै ब्रह्माण्डमा रहेका पृथ्वीजस्तै ग्रहहरु पत्ता लगाउनु हो । उनका अनुसार यस कार्यक्रमले वर्षौँदेखि संकलित डाटा, सिग्नलहरुको विश्लेषण गरी ग्रहहरुको खोजी गर्छ । तर धेरै यस्ता ताराहरु पनि छन् जसले आफ्नो परिक्रमा गर्ने ग्रहहरुलाई अल्ट्राभायलेट किरण र एक्सरे विकीरण प्रवाह गरिदिन्छन् । यस्ता तारा तथा ग्रहहरुको तुलनामा पत्ता लागेको रोस १२८ भने धेरै शान्त र सम्भावित जीवनअनुकूल रहेको डा. बोनफिल्सको भनाइ छ । तर यसका लागि धेरैभन्दा धेरै तथ्यतथ्यांक चाहिने उनले बताए ।
पृथ्वीसँग नजिकिँदै छ
यद्यपि यो ग्रह अहिले ११ प्रकाश वर्ष टाढा छ तर यो पृथ्वीपट्टि नै अगाडि बढिरहेको मानिएको छ । अबको ७९ हजार वर्षमा हाम्रै आँखाले देखिने गरी हाम्रो सौर्यप्रणाली नजिकै आउने खगोलविद्को अनुमान रहेको छ ।  बोनफिल्सले मेल अनलाइनसँगको कुराकानीमा सबै ताराहरु चल्ने बताउँदै उक्त ग्रह पनि पृथ्वीतिर आइरहेको बताए । हाम्रो कुनै एक जीवनकालमा असम्भव भए पनि हजारौँ वर्षमा आकाशीय परिवर्तन हुने उनको बुझाइ छ । एचएआरपीएसबाट प्राप्त डाटाहरुका अनुसार अध्येताको टोलीले उक्त ग्रहले पृथ्वीले सूर्यको परिक्रमा गरेभन्दा २० गुणा छिटो आफ्नो ताराको परिक्रमा गर्ने गर्छ । यसलाई खगोलविद्हरुले गोल्डिलक जोन भनेका छन् । यसको मतलब यो ग्रहसँग पर्याप्त सौर्यताप यो ग्रहले प्राप्त गर्छ जसले न धेरै तातो न धेरै चिसो हुन्छ र यो भनेको जीवनका लागि आवश्यक वातावरण पनि हो । तर यसले पृथ्वीले भन्दा  १.३८ गुणा धेरै विकीरण प्राप्त गर्छ । परिणामतः ग्रहको सन्तुलित तापक्रम माइनस ६० देखि प्लस २० डिग्री सेल्सियस रहन्छ । उक्त सानो ताराको तापक्रम भने सूर्यको भन्दा आधा हुनसक्ने अनुमान गरिएको छ । यस अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले यसलाई टेम्परेट प्लानेट अर्थात् उपयुक्त ग्रह मानेका छन् । तर अझै के अनिश्चितता छ भने यस ग्रहको कुन भागको सतहमा तरल पानीसहितको उपयुक्त वातावरण छ भन्ने पनि कायमै छ । खगोलविद्हरुले अहिले धेरैभन्दा धेरै यस्ता ग्रहहरुको खोजी तीव्र पारेका छन् । यसपछि खगोलविद्हरुको मुख्य अनुसन्धान पत्ता लागेका अनुकूल मानिएका ग्रहहरुको वातावरण, वायुमण्डल, संरचना र रसायनबारे अध्ययनमा केन्द्रित हुनेछ । यदि यस्ता अनुसन्धान जारी रहँदा कुनै ग्रहमा अक्सिजनयुक्त वातावरण पत्ता लागे यो नै ठूलो उपलब्धि हुनेछ । त्यसो त वैज्ञानिकहरुले अबको २० वर्षमा एलियनबारे महत्वपूर्ण जानकारी पत्ता लाग्ने ठोकुवा गरेका छन् ।
डेली मेलबाट भावानुवाद

प्रतिक्रिया दिनुहोस्