फ्याँकिएका प्लास्टिकबाट मालामाल !



हेटौंडा, (नेस) । प्रयोग गरिएको बिस्कुट, चाउचाउ, पोलिथिन ब्याग, बर्सादीजस्ता प्लास्टिकलाई पुनर्प्रयोग गरि मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ की पद्मकुमारी कालीराजले प्लास्टिकको ढक्की, चकटी, पेन स्ट्याण्ड र बिल राख्ने भाँडोलगायत सामग्री बुन्दै आउनुभएको छ ।जथाभावी फ्याँकिएका प्लास्टिकबाट वातावरण प्रदुषण हुने र जलाउँदा वातावरणको हावा दुषित हुने हुँदा प्रयोग भइसकेका प्लास्टिक संकलन गरेर कालीराजले लामो सयमदेखि फुर्सदको समय सदुपयोग गर्दै प्लास्टिकका सामान बनाउन थाल्नुभएको हो ।‘प्लास्टिकलाई सफा पानीले धोएर घाममा सुकाउने र कटिङ गर्दै मिलाएर हातैले बुन्छु,’, उहाँले भित्र बाबियो राखेर बाटेर घर उपयोगी सामग्री बनाउने गरेको बताउनुभयो  ।

‘केही गरिरहन मन लाग्छ, त्यसैले यो काम गरेको हँु,’ उहाँले लगातार काम गरे २ दिनमा एउटा ढक्की तयार हुने बताउनुभयो  ।एउटा ढक्की करिब ४ सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । धेरैले घरबाटै किनेर लैजाने गरेका छन् । उहाँले बजारमा बेच्ने गरी उत्पादन गर्न सक्नुभएको छैन ।उहाँले कतिलाई मायाको चिनोसमेत दिने गर्नुभएको छ । ‘म मरें पनि मायाको चिनो सम्झिऊन् भन्ने लागेर धेरैलाई उपहार दिएकी छु,’ उहाँले भन्नुभयो ।

उहाँले कुनै प्रकारको तालिम लिनुभएको छैन । ‘केको तालिम ? कस्तो हुन्छ तालिम, मलाई थाहा छैन,’ उहाँले थप्नुभयो– विगतदेखि नै मकैको खोस्टाले चकटी बुन्थें । पछि प्लास्टिक हालेर बुन्दा कस्तो होला भनेर हेरेको, सबले मन पराए । उहाँ खुशी हुनुहुन्छ ।तयारी सामग्री देखाउँदै कालीराजले भन्नुभयो– यस्तो वर्षौं नगल्ने प्लाष्टिकको सदुपयोग गर्ने सीप भए बलियोमात्र होइन, सुन्दर सजाउने सामग्री बन्दो रहेछ । वातावरण सफा राख्न पनि मद्धत मिल्यो । त्यसैले यस्तो सीप सबै गाउँकालाई सिकाउनसके वातावरण सफा हुनुका साथै फोहोरबाट सजावटका सामग्री बनाएर घरको शोभा बढाउन सहयोगी हुने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्