नयाँ जिल्लामा पुरानै तरिकाको हस्तलिखित नागकिता बितरण



धनवीर दाहाल, रुकुमकोट । पुथा उत्तरगंगा गाँउपालिका १२ का नरजित पुन नागरिकता लिन भर्खरै नयाँ जिल्ला भएको रुकुम पुर्वको सदरमुकाम रुकुमकोट आए । ३१ बर्षका पुनले रुकुम एउटै हुँदा जिल्ला प्रशासन कार्यालय रुकुमबाट सात बर्ष अघि कम्प्युटरबाट टाइप गरिएको नागरिकता पाएका थिए । तर उनले सो नागरिकता हराएपछि प्रतिलिपि नयाँ जिल्लाबाट लिन आए । तर उनले पुरानै तरिकाको हस्तलिखित नागरिकता बनाएर गए । उनी मात्र होइन यति बेला नयाँ जिल्ला रुकुम पुर्वमा नेपाली नागरिकता लिनेहरुले पुरानै तरिकाको हस्तलिखित नागरिकता लिनुपर्ने अवस्था छ । भर्खरै बनेको नयाँ जिल्ला भएको कारण पनि भनेजतिकै नयाँ र डिजिटल प्रबिधिबाट काम हुन सकेको छैन । यद्दपी पूर्वी रुकुमले औपचारिक जिल्लाको मान्यता पाएसंगै जिल्ला प्रशासन कार्यालय रुकुमकोटबाट चारसय बढि नागरिकता वितरण भइरहेको छ ।
असोज १९ गते नयाँ जिल्लाको रुपमा घोषित रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयबाट दुई महिना नपुग्दै चारसय वढि नागरिकता वितरण गरिएको हो । कार्यालयबाट हाल दैनिक १० देखी २५ जना सेवाग्राहीले नागरिकता लिने गरेका छन् । प्रयाप्त जनशक्ति र भवन अभावका कारण सबै सेवाहग्राहीलाई कार्यालयले हस्तलिखित नागरिकता प्रदान गर्दै आईरहेको छ । नयाँ जिल्ला भएकै कारण सुरुवाती अवस्थामा थुप्रै समस्या आईपरेपनि सेवाग्राहीलाई भने छिटो छरितो ढंगले सेवा दिईएको प्रशासनको रुकुम पुर्वका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण पुनले बताए । नागरिकता प्रदानका लागि पूर्वी रुकुमलाई नयाँ कोड समेत प्रदान भईसकेकोले सोही अनुसार प्रशासनले पनि नागरिकता वितरण गर्दै आईरहेको छ । जिल्लाको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका मिलेर बनेको पूर्वी रुकुमका नागरिकले हाल नयाँ जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयबाट सेवा लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्