वीरगन्ज नाकाबाट व्यापार ओरालो लाग्दै



वीरगन्ज, (नेस)
मुलुककै मुख्य नाकामा रहेको वीरगन्ज भन्सारबाट हुने कुल वैदेशिक व्यापार वर्षेनी ओरालो लागेको छ।

आर्थिक वर्ष २०७२÷७३ मा भएको मधेस आन्दोलन र नाकाबन्दीले घटेको व्यापार त्यसयता सुध्रिने अपेक्षा गरिए पनि तथ्य भने फरक देखियो। बितेको वर्ष आयात निर्यातको अंक बढे पनि समग्र व्यापारमा यो नाकाको कारोबार तुलनात्मक घट्न पुगेको हो। मधेस आन्दोलन र त्यसयता वैदेशिक व्यापारमा देखिएका अनेक अवरोधका कारण मुख्य नाकाको व्यापारमा कमी आएको सरोकारवालाले बताएका छन्। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले विगतमा मधेस अन्दोलनताका अन्य नाकातिर केन्द्रित भएको व्यापार नफर्किएकाले वीरगन्ज भन्सारबाट हुने कारोबारमा कमी देखिएको बताउनुभयो।

गत आर्थिक वर्ष २०७३÷७४ मा यो नाकाबाट ३ खर्ब ३५ अर्ब रुपियाँबराबरको मालसामान भित्रिएको छ। यो परिमाण त्यसअघिका २ वर्षको आयातभन्दा बढी भए पनि कुल आयातमा यसको योगदान प्रतिशत भने न्यून छ। विगत वर्षको आयात आर्थिक वर्ष २०७१÷७२ को भन्दा २३ अर्ब रुपियाँले बढी देखिए पनि कुल आयातको ३४ प्रतिशतमात्रै हो। आर्थिक वर्ष २०७१÷७२ मा वीरगञ्ज भन्सार हुँदै भित्रिएको मालबस्तुको मूल्य कुल आयातमा झण्डै ४० प्रतिशत थियो। निर्यात कारोबारमा पनि वीरगन्ज नाकाको योगदानमा कमी आएको तथ्याङ्कले देखाउँछ। भन्सार विभाग र वीरगन्ज भन्सारको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा पनि यो नाकाबाट आयातनिर्यात स्वात्तै घटेको छ। त्यो वर्ष मधेसवादी दलले संविधानको विरोधमा भदौदेखि माघसम्म गरेको वीरगन्ज केन्द्रित बन्द हड्ताल र नाकाबन्दीका कारण वीरगन्जबाट हुने आयात अन्य नाकातिर गएको थियो।

आर्थिक वर्ष २०७२÷७३ मा १ खर्ब ८२ अर्ब र निर्यात ९ अर्ब रुपियाँको आयात भएको थियो। त्यसवर्ष सबैभन्दा बढी १ खर्ब ८६ अर्ब रुपियाँबराबरको आयात भैरहवा भन्सारबाट भएको थियो। ‘बन्द हड्ताल र नाकाबन्दीका कारण त्यसबेला भैरहवा भन्सारतिर केन्द्रित भएको गाडीको आयात यता नफर्किएकाले वीरगन्जको आयात कम देखिएको हो,’ भन्सार प्रमख पोखरेलले भन्नुभयो। अहिले तेस्रो मुलुकबाट आयातित गाडी वीरगन्जबाट भित्रिए पनि भारतबाट ल्याइने अधिकांश गाडी भैरहवा नाकाबाट आउने गरेको भन्सार अधिकारीहरू बताउँछन्।

वीरगन्जमै रहेको सुक्खा बन्दरगाहबाट पनि आयात कारोबारमा कमी आएको छ। आर्थिक वर्ष २०७२÷७३ मा वीरगन्ज भन्सारसमेतको केही आयात केन्द्रित हुँदा कुल आयात व्यापारमा १२ प्रतिशत पुगेकोमा विगत वर्ष ११ प्रतिशतमा खुम्चिएको विभागको तथ्यांकमा उल्लेख छ। वीरगन्जका उद्यमी व्यवसायी वीरगन्ज नाकाबाट हुने व्यापारमा आएको गिरावटले चिन्तित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्