तीन दिन आन्तरिक र बाह्य उडान प्रभावित हुने



दीपेन्द्र थापा, काठमाडौं ।
भुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा स्थापना भएका दुई वटा नयाँ राडरको परीक्षण शनिबारबाट शुरू हुने भएको छ। हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले उक्त राडार जडान भएको हो।

अमेरिकास्थित फेडरल एभिएसन एडमिट्रेसनबाट ल्याइएको विशेष जहाजले नयाँ राडरको फ्लाइट क्यालिबे्रसन गरेर परीक्षण पूरा भएपछि सञ्चालनमा आउने नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उक्त जहाज अमेरिकाबाट तीन दिन लगाएर शुक्रबार दिउँसो काठमाडौं आएको छ।

राडर परीक्षणका क्रममा तीन दिनसम्म त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य उडान प्रभावित हुने प्रवक्ता श्रेष्ठले जाकारी दिनुभयो। राडरको परीक्षण गर्ने टोलीमा सहभागी हुने जापानी टोली भने सोमबारनै नेपाल आइसकेको छ।

राडर जडान गरेको जापानी टोलीलाई अमेरिकाबाट ल्याइएको विशेष विमानले परीक्षण गर्दै उचित निर्देशन दिएर उपकरणलाई सञ्चालनका निम्ति योग्य बनाउन प्रतिवेदन दिने छ। जापानबाट आएको ४ सदस्य र अमेरिकाबाट आएको ५ जनाको टोलीले राडरको परीक्षण गर्ने प्राधिकरणका उपनिर्देशक तथा आयोजना प्रमुख सञ्जिवसिंह कठायतले बताउनुभयो।

देशका अधिकांश भूभागलाई समेट्ने गरी नयाँ राडर उपकरणको सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने प्राधिकरणले जनाएको छ। भट्टेडाँडामा जडित ‘मोनोपल्स सेकन्डरी सभिर्लियन्स राडार’ ले उडानलाई थप सुरक्षित बनाउन मद्दत गर्ने दाबी गरिएको छ।

जापान सरकारको अन्तर्राष्ट्रिय नियोग (जाईकक) एवम प्राधिकरणको संयुक्त लगानीमा १ अर्ब रुपियाँको लागतमा रडार जडान भएको हो। नयाँ जडित रडारबाट पूर्वको सबै भाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाईलगायतका जानकारी पाउन सकिने प्राधिकरणको भनाइ छ।

राडार सञ्चालनमा आएपछि नेपालको कुल भागको करिब ७५ प्रतिशत क्षेत्र रडार कभरेज अन्तर्गतपर्ने कठायतले बताउनुभयो। नेपाल समाचारपत्रसँग कठायतले भन्नुभयो– ‘ भट्टेडाँडाबाट सञ्चालनमा आउने रडारबाट ४ सय ५० किलोमिटर (२५० नटिकल माइल) सम्मको जहाजको सम्पुर्ण जानकारी थाहा पाउन सकिन्छ। हाल त्रिभुवन विमानस्थलको पुरानो राडरमार्फत् करिब १ सय १० किलोमिटर (६० नटिकल माइल) परको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो।’ नयाँ राडर सञ्चालनमा आएपछि उडिरहेको जहाज बीचको दूरी घट्न जाने हुँदा सुरक्षाको दृष्टिले सुरक्षित र यसबाट हवाई उडान छिटो छरितो हुने कठायतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्