आश्वासनको चाङ



विविध शैलीका साथ दलका नेता चुनावी चटारोमा जुटेका छन्। दलहरू आ–आफ्नै दावीका चुनावी नतिजाको अंक गणित सार्वजनिक गरिरहेका छन्। शहरमा खानेपानीको नारा पुरानै भइसक्यो, मोनो रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाई ओभरजस्ता विकल्पका साथ ट्राफिक समस्या समाधान गर्ने आश्वासन पनि शहरबासीले सुनेको धेरै भयो।

अनि गाउँ–घरमा विद्युतीकरण, सडक निर्माण र स्तरउन्नति, उद्योग कलकारखाना स्थापनासँगै बेरोजगारी समस्या समाधानका कुरा पनि मतदाताका लागि नयाँ होइनन्। पुराना आश्वासन अझै किन, भनेर मतदाताले नेतालाई प्रश्न गर्दासमेत विगतकै आश्वासन दोहोरिन छोड्या छैन। मतदाता टाठो भइसकेका प्रष्ट रूपमा बुझेका नेताले यसपटकदेखि भन्न थाल्या छन्– ‘यो प्रदेशको राजधानी फल्ना ठाउँमा हुनुपर्छ, त्यो म बनाएरै छोड्छु।’

धरहराले मुलुकको पूर्वी भेगतर्फ दुरविन सोझ्याउँदा प्रदेशको राजधानी बनेपछि विकासले फड्को मार्ने आश्वासनको लामो चाङ फेला पार्यो। अलग पार्टीको मात्र होइन, एउटै पार्टीका नेतापिच्छेको फरक दावी सुनिन्छ, धनकुटा, कसैको धरान, इटहरी अनि विराटनगर। झापाका धेरै पुराना नगरमा पनि त्यस्तै दाबी दोहोरिन छोड्या छैन। प्रदेश नं १ मा त यति धेरै दाबीको ‘खहरे’ बग्या छ भने अन्यत्र पनि के कम ?

प्रतिक्रिया दिनुहोस्