मतपरिणाम एक सातामा



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम आउन बढीमा एक साता लाग्ने जनाएको छ।

स्थानीय तहको निर्वाचनमा मतगणना निकै सुस्त भएकामा आयोगको सर्वत्र आलोचना भएपछि एक सातामा मतपरिणाम सार्वजनिक गर्ने तयारी अघि बढाएको हो।

यसपटकको निर्वाचनमा मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न निर्वाचन आयोगले आवश्यक मात्रामा गणकको व्यवस्था मिलाएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। ‘मतगणनाका लागि आवश्यक ठाउँसमेत प्रबन्ध मिलाएका छौं। यसपटक मतपरिणामका लागि जनताले धेरै दिन कुर्नुपर्ने छैन।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ जना रहेका छन्। त्यसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४ सय ९६, महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लि·ी मतदाता १ सय ७० जना रहेका छन्।

स्थानीय तहको निर्वाचनमा काठमाडौं, ललितपुर, विराटनगर, भरतपुर, पोखरालगायत अत्यधिक मतदाता भएको क्षेत्रमा मतपरिणाम सार्वजनिक हुन १० देखि १५ दिन लागेको थियो। मतगणना सुस्त भएकोमा आयोगको आलोचना भएपछि मतगणना डेस्क बढाइएको थियो। मतगणना डेस्क बढाउँदा पनि स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न दुई साता लागेको अनुभवबाट पाठ सिक्दै मतगणक र मतगणना डेस्कको प्रबन्ध गरिएको आयोगले जनाएको छ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालयलाई मतगणना डेस्क थप्न निर्देशन दिइसकेको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो। मतगणना गर्ने काम मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्ने कानुनमा उल्लेख गरिएको छ। ऐनमा निर्वाचनको मतगणना गर्ने स्थान तोक्ने पनि जिम्मा पनि सम्बन्धित निर्वाचन अधिकृतकै हुनेछ।

कानुनतः मतगणनाको कार्य सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको हुनेछ। मतगणनासम्बन्धी कुनै विवाद वा अदालतमा प्रश्न उठेमा पनि त्यसको प्रतिवाद गर्ने जिम्मा पनि कार्यालयको हुनेछ। ‘हामीले स्रोत, साधनको उचित प्रबन्ध गरेका छौं’ –प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो।

यसैबीच पहिलो चरण र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकैपटक शुरू गर्ने आयोगले तयारी गरेको छ। यसबाट पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ।

१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ। २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ। ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको छ।

पहिलो चरणको मतगणना तुरुन्तै गरिए त्यसको परिणामले दोस्रो चरणलाई असर पर्न सक्ने भन्दै आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि मात्र पहिलो चरणको मतगणना गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। यस्तो तयारीमा जनशक्तिको पनि कमी रहेको आयोगले जनाएको छ।

यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना शुरू भएको थियो। त्यति बेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो।

प्रतिक्रिया दिनुहोस्