रोकिएन शृंखलाबद्ध विस्फोट



मधुसूदन रायमाझी, काठमाडौं  ।
तिनिधि तथा प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारमाथि लक्षित गरेर शृंखलाबद्ध बम आक्रमणको घटना बढेको छ। उम्मेदवारमाथि लक्षित गरेर मात्र होइन गाडी नै एम्बुसमा पार्नेसम्मको घटना भएका छन्। निर्वाचनका क्रममा लगातार बम विस्फोटका घटना बढेपछि निर्वाचन अभियानमा हिँडेका उम्मेदवार र मतदाता त्रसित भएका छन्।

रोल्पामा वर्षमान पुनमाथि लक्षित गरेर पटक–पटक बम विस्फोट गराइएको छ। माओवादी केन्द्रका नेता एवम् गोरखाका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र दाङबाट प्रतिनिधिसभा उम्मेवार बन्नुभएका कृष्णबहादुर महरा, रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि निर्वाचन अभियानका क्रममा पटक–पटक विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले बम विस्फोट गराएको माओवादी केन्द्रले बताएको छ।

भोजपुरबाट प्रदेशसभाका लागि उम्मेदवार बनेका एमाले नेता शेरधन राईमाथि पनि बम प्रहार भएको थियो। नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारमाथि लक्षित गरेर बम फिस्फोट गर्दै आएको विप्लव नेतृत्वको पार्टीले शुक्रबार नुवाकोटबाट प्रतिनिसभाका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता डा. रामहरण महतको ज्यानै लिने गरी बम विस्फोट गराएको छ। घटनामा परी पाँच जना घाइते भएका छन्। वाम गठबन्धनले उम्मेदवारमाथि शृंखलाबद्ध रूपमा बम विस्फोटको घटना घटाइँदासमेत सरकार गम्भीर नभएको आरोप लगाएको छ।

निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकार चुकेको बताउँदै वाम गठबन्धनले उम्मेदवारहरूलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ। बम विस्फोटका घटना बढ्दै गएपछि चुनावीसभामा जाने नेता तथा कार्यकर्ता पनि सशंकित भएका छन्।

उपप्रधानमन्त्रीसहित माओवादी केन्द्रका नेता एवं दाङबाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महराले बम विस्फोट गराउने अपराधी भएको बताउनुभयो। उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘राष्ट्रविरोधी, जनता विरोधीहरू निर्वाचन बिथोल्न बम पड्काइरहेका छन्।’ निर्वाचनसभामा भाग लिन दाङको घोराहीबाट लिवाङ जाँदै गरेका नेता महरालगायतका माओवादीका नेताहरूलाई लक्षित गरी शुक्रबार बिहान लिवाङनजिकै बम विस्फोट गराइएको थियो।

राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व निर्वाचन भाँड्न लागिरहेको बताउँदै महराले बम विस्फोटमा लाग्ने तत्व देशमा अशान्ति मच्चाउन उद्धत रहेको बताउनुभयो। ‘बम पड्काउँदैमा निर्वाचन बिथोलिदैैन र निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुन्छ’ –उहाँले भन्नुभयो।

निर्वाचनलाई प्रभावित पार्नका लागि विप्लव समूहले देशका विभिन्न स्थानमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराउने कार्यप्रति जनस्तरबाट विरोध शुरू भएको छ।
निर्वाचनमा स्वतन्त्रतापूर्वक आफ्नो प्रचारप्रसार गर्न पाउने अधिकारलाई कुन्ठित गर्न खोजेको भन्दै राजनीतिक दलहरूले विरोध गरेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उम्मेदवारहरूमाथि शृंखलावद्धरूपमा बम विस्फोट गराउने घटना आपराधिक समूहले गरेको बताउनुभयो। ‘निर्वाचनप्रति सहमति भए आफ्ना मत जनतासमक्ष राखेर माग पूरा गर्न सकिन्छ’, खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जनताका नजरबाट हारेका आपराधिक समूहले गरेको शृंखलावद्ध बम विस्फोटका घटनामा संलग्नलाई पक्राउ गरी सरकारले कानुनी कठघरामा ल्याउनुपर्छ।’ उहाँले उम्मेदवारको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनका लागि शान्ति सुरक्षा दिन सरकार लागिपरेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उम्मेदवार र विशिष्ट व्यक्तिहरूलाई निरन्तर सुरक्षा प्रदान गरिएको छ, शृंखलावद्ध बम विस्फोटका घटना रोक्न गृह प्रशासन लागिपरेको छ।’

स्थानीयस्तरमा जिल्ला सुरक्षा समिति, स्थानीय राजनीतिक दलहरूको सहभागितामा समन्वय समिति गठन गरेर नै उम्मेदवाहरूले माग गरेबमोजिमको सुरक्षा प्रदान भइरहेको बताउँदै दुवाडीले बम विस्फोटमा संलग्नहरूको पहिचान गरी पक्राउ गर्ने कार्यलाई अगाडि बढाइएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘उम्मेदवारहरूलाई सुरक्षा प्रदान गर्न संवेदनशील छौं, दोषीलाई पक्राउ गर्ने खोजतलास गर्ने काममा लागेका छांै।’ दोषीलाई पक्राउ गर्न कडा रूपमा लाग्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको बताउँदै प्रवक्ता दुवाडीले भन्नुभयो– ‘बम विस्फोट गराउने समूहको सूक्ष्म अध्ययन गरिरहेका छौं, निर्वाचन बिथोल्ने गतिविधिमा लाग्नेलाई कठोरतापूर्वक कारबाही गर्ने निर्णय दिएका छौं।’

निर्वाचन अभियान शुरू भएयता विभिन्न स्थानमा गरी डेढ सयभन्दा बढीलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाइएको उहाँको भनाइ थियो।

डा. महतको ज्यान लिने प्रयास

शालिकराम चालिसे, नुवाकोट

नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ। विस्फोटनबाट पाँच जना कांग्रेस कार्यकर्ता घाइते भए पनि उम्मेदवार महतद्वय भने सकुशल हुनुहुन्छ।

चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका–५ काउलेथानामा बिहान १० बजे प्रेसर कुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिनुभयो।

बम विस्फोटनबाट कांग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। घाइतेमध्ये भेषबहादुर तामाङलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लागिएको छ भने सविन लामा, उपेन्द्र मिश्र र रामकुमारलाई नेपाली सेनाको हेलिकप्टरबाट धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ।

उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो। विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो।

यसैबीच शुक्रबार ककनीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले आफूलाई वाम गठबन्धनका उम्मेदवारले नै बम प्रहार गरेको भन्ने अभिव्यक्ति दिएपछि झडप भएको थियो। झडपमा परी बा८८प ५२८० नम्बरको मोटरसाइकल तोडफोड गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्