रुकुम पुर्वलाई पाँच वर्षभित्र समाजवाद उन्मुख नमूना जिल्ला बनाइने



धनवीर दाहाल, रुकुमकोट, रुकुम पुर्व । बाम गठबन्धन रुकुम(पूर्व)ले रुकुम पुर्वलाई आगामी पाँच बर्ष भित्र समाजबाद उन्मुख नमुना जिल्ला बनाउने उद्घोष गरेको छ । आगामि प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा पत्रकार सम्मेलन गरी गठबन्धनले प्रतिनिधि र प्रदेश सभा सदस्य दुवैका लागि घोषणा पत्र सार्वजनिक गरेको हो । बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोका र प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तेजवहादुर ओली तथा क्षेत्रं. २ का उम्मेदवार पुर्ण घर्तिले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरे । घोषणापत्रमा रुकुम(पूर्व)लाई समाजवाद उन्मुख नमूना जिल्ला बनाउने उल्लेख गरिएको छ । समृद्धि र विभेद रहित समाजको निर्माण गरी भौतिक पूर्वाधार, मानव संशाधन, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, बिद्युत, सञ्चार लगाएतमा जिल्लालाई नमूनाको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै वित्तिय क्षेत्र, खानी उत्खनन् तथा उद्योग स्थापना, सिंचाई, संचार प्रविधि, समावेशिता, सामाजिक न्याय र समाजिक सुरक्षा, युवा तथा खेलकुद, शुसासन प्रवद्र्धनका माध्यमबाट जिल्लालाई नमूना बनाउने उद्घोष गरिएको छ ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्व आपुर्ति मन्त्री गणेशमान पुनले आगामि ५ वर्षमा रुकुम(पूर्व)लाई समाजवाद उन्मुख नमूना जिल्लाका रुपमा विकास गरिने बताए । गठबन्धनले तयार पारेको घोषणा पत्र कार्यान्वन भएमा जिल्ला समृद्ध भन्ने भन्दै त्यसका लागि बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनुपर्ने उनको भनाई छ । अहिलेको आवश्यकता भौतिक पूर्वाधार मात्र नभएको भन्दै नेता पुनले आफुहरुले पूर्वाधार विकास संगै उत्पादनलाई जोड दिने नीति लिएको बताए । भौतिक विकासले मात्र जनताको जिवनस्तर उकास्न नसकिने भएकाले भौतिक विकास संगै उत्पादनलाई पनि संगसंगै अगाडि लैजानुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्यकी उम्मेदवार कमला रोकाले अझैपनि सडक सञ्जालमा जोडिन नसकेका जिल्लाका सिस्ने, प्वाङ, हुकाम, रन्मामैकोट र जाङलाई २ वर्ष भित्रमा सडक सञ्चालमा जोड्ने प्रतिबद्धता जनाईन । ‘जिल्लाका ५ ठाउँमा अहिले सम्मपनि सडक पुग्न सकेको छैन् उनले भनिन–उक्त ठाउँमा सडक पुगेपछि जिल्लाका सबै ठाउँमा सडक सञ्जालमा जोडिन्छन् ।’ जिल्ला भौगोलिक रुपमा विकट हुनुका साथै सूचना सञ्चारका हिशावले पनि विकट भएकाले सूचना सञ्चार पनि आफुहरुको मुख्य प्राथमिकतामा रहेको उनको भनाई छ । कृषिमा आधुनिकरणका साथै पकेट क्षेत्रको विकास, सबै घरधुरीमा बिद्युतको पहुँच विस्तार, हाइड्रोपावर तथा विभिन्न ठुला उद्योग मार्फत रोजगारी सृजना, शुसासन प्रबद्र्धन, सामावेशिता, सामाजिक न्याय र सामाजिक सुरक्षाको विकासमा पनि बाम गठबन्धनले ठोस खाका तयार पारेको उम्मेदवार रोकाले बताईन । कार्यक्रमलाई प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तेजवहादुर ओली र क्षेत्र नं. २ का उम्मेदवार पुर्ण घर्तिले पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै समानुपातिक सदस्यका उम्मेदवारहरु नेकपा माओवादी केन्द्रका पुणिराज घर्ति र दिपेन्द्र छन्त्याल तथा एमालेकी आशा स्वर्णकारको पनि उपस्थिति रहेको थियो । यसैबिच नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकता गर्ने उदे्श्यले रुकुम(पूर्व)मा पार्टी एकता संयोजन समिति गठन गरिएको छ । दुई पार्टीको संयुक्त बैठकले ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरेको हो । जसको प्रमुख नेतामा नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्ला इन्चार्ज तेजवहादुर ओली प्रतिक र नेकपा एमालेका तर्फबाट जिल्ला इन्चार्ज खेममान खड्का रहनुभएको छ । त्यस्तै नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य खेममान खड्काको संयोजकत्वमा ७ सय १ सदस्यीय संयुक्त निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्